बैद्य माओवादीले मतपेटिका खोलामा बगाए (अपडेट)
####good
पर्सामा कार्यकर्तालाई पैसा बाँडेको विषयलाई लिएर कांग्रेस र फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत कौवावनवटैया बुथमा दुई पक्षबीच झडप भएको हो । झडपमा परी एक जना घाइते भएका छन् ।
वैद्य माओवादी कार्यकर्ताले मतपेटिका नदीमा फाले
नेकपा-माओवादीका कार्यकर्ताद्वारा जुम्लाको झारज्वाला मतदान केन्द्रको मतपेटिका खोसेर तिला नदीमा बगाइदिएका छन् । मतदान प्रकृया जारी रहेका बेला आएका वैद्य माओवादीका कार्यकर्ताहरुले मप पेटिका खोसेर तिला नदीमा बगाइदिएपछि सो केन्द्रको मतदान कार्यक्रम स्थगित भएको छ ।
दार्चुलामा १ सय १० वर्षकी वृद्धाको मतदान
दार्चुलाको एयरकोट गाविस ४ बस्ने १ सय १० वर्षकी वृद्धा मैनादेवी महतोले मतदान गर्नुभएको छ । निर्वाचन शान्तिपूर्ण रुपमा जारी रहेको र अहिलेसम्म करिब ७५ प्रतिशत मत खसिसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
भक्तपुरमा ५० प्रतिशत मत खस्यो
भक्तपुरमा मध्यान्ह १२ बजेसम्म ५० प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७५ वटा मतदान केन्द्रमा मतदाताहरूको सहभागिता उत्साहजनक रहेको बताइएको छ ।
हुम्लाको एक मतदान केन्द्रमा मतदाता आएनन्
कर्णालीको हुम्लामा एउटा मतदान केन्द्रमा बाहेक अन्य सबैमा मतदान प्रकृया जारी रहेको छ । श्रीनगर गाविसको कल्चे मतदान केन्द्रमा अहिलेसम्म मतदान प्रकृया सुरू भएको छैन् । नेकपा माओवादी कार्यकरताले बहिष्कार अभियान सफल बनाउन कडिकडाउ गरेपछि दलहरुका एजेण्ट समेत नबस्दा मतदाताहरु पनि मतदान गर्न नआएका हुन् ।
सर्लाहीमा पनि भोट हालेर फर्केका वृद्धको मृत्यु
मतदान गरेर फर्केका एक वद्धको सर्लाहीमा मृत्यु भएको छ । सर्लाहीको भक्तिपुर मतदान केन्द्रमा मतदान गरी फर्केका स्थानीय ८० वर्षका सिताराम शाहको मृत्यु भएको हो ।
मध्यान्हसम्ममा करिव ४० प्रतिशत मतदान
अहिलेसम्म देशभरि ४० प्रतिशत मत खसेको सरकारले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले दिएको जानकारी अनुसार सबैभन्दा बढी इलाममा ५५ प्रतिशत मत खसेको छ । त्यस्तै धनकुटामा मध्यान्हसम्म करिव ५० प्रतिशत मतदान भएको छ । त्यसैगरी रामेछापमा पनि सोही हाराहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । झापा जिल्लामा पनि मध्यान्हसम्ममा करिव ४५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाकारी दिएको छ ।
मतदान रोकिएको छैनः गृह मन्त्रालय
मतदान प्रकृया शुरु भएको ५ घण्टा हुन लाग्दा देशभर शान्तिपूर्ण वातावरणमा मतदान प्रकृया जारी रहेको गृहमन्त्रालयले जनाएको छ । कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको मन्त्रालयले जानकारी दिएको छ ।
गृहमन्त्री माधव घिमिरेले तीनवटै सुरक्षानिकायका प्रमुखहरूसँग निर्वाचनको सुरक्षाव्यवस्थाबारे जानकारी लिएपछि मतदान प्रकृया शान्तिपूर्ण भइरहेको जानकारी दिनुभएको हो ।
प्रचण्डले चितवनमा मतदान गर्नुभयो
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विहान ११ बजे चितवनको भरतपुर नपाको लंकस्थित लक्ष्मी उच्च मावि केन्द्रमा बिहान ११ बजे मतदात गर्नुभएको छ । अध्यक्ष दाहालले चितवन क्षेत्र नं. ३ अन्तरगतको यो मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । दाहाल काठमाडौं क्षेत्र नं. १० र सिरहा क्षेत्र नं. ५ बाट उम्मेदवार हुनुहन्छ ।
खुकुरी प्रहारबाट एमाले पूर्व सभासद घाइते
दोलखाको ठूलोपातल मतदान केन्द्रमा मतदानका विषयमा झडपका क्रममा खुकुरी प्रहार गरिंदा एमालेकी पूर्व सभासद शान्ति पाख्रिन गम्भीर घाइते भएकी छन् । एमाओवादी र कांग्रेस कार्यकर्ताहरूले आक्रमण गरेको पाख्रिनले बताउनुभयो । खुकुरी प्रहार गर्ने ५ जनालार्इ नेपाली सेनाको सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ । घटनापछि अवरूद्द मतदान प्रकृया २ घण्टापछि सुचारु भएको थियो ।
मतदान गरेर फर्केका दुई बृद्धको मृत्यु
मतदान गरेर फर्कने क्रममा दैलेखको नारायण नगरपालिका-६ का ७२ वर्षीय राजाराम न्यौपाने र पर्साको वीरगञ्ज-१५ का ७३ वर्षीय गौरीशकंर मानन्धरको मृत्यु भएको छ ।
रौतहटमा फोरम नेपाल र एमाओवादी कार्यकर्ताबीच झडप
रौतहट क्षेत्र नम्बर ३ स्थित कोठीयाही मतदान केन्द्रमा बुथ कव्जा गर्ने क्रममा मधेसी जनाधिकार फोरम नेपाल र एकीकृत माओवादीका कार्यकर्ताबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।
प्रचण्डको चुनाव क्षेत्रमा अन्य दलका मतदातालाई भोट हाल्न अवरोध
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उठ्नुभएको सिराहा जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का तीनवटा मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताहरूले अन्य दलका कार्यकर्तालाई भोट हाल्न अवरोध गरेका छन् । एकीकृत माओवादीका कार्यकर्ताहरूले अन्य पार्टीका कार्यकर्ताहरूलाई प्रवेश गर्न नदिएर एमाओवादीका कार्यकर्ताईमात्र भोट हाल्न दिएको विपक्षीको आरोप छ ।
समाचार संकलन गर्न नपाएपछि पत्रकार धर्नामा
समाचार संकलन गर्न नदिएको भन्दै दाङका सञ्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय दाङ अगाडि धर्ना दिएका छन् । मतदान केन्द्रमा पुगेर समाचार संकलन गर्न प्रहरीले रोक लगाएपछि सञ्चारकर्मीहरु धर्नामा बसेका हुन् ।
ओली मतदानका लागि झापाबाट भक्तपुरमा
एमाले नेता केपी शर्मा ओली मतदानका लागि झापाबाट काठमाडौं आउनुभएको छ । झापा क्षेत्र नं. ७ बाट उम्मेदवार हुनुभएका नेता ओलीको मतदाता नामावली भक्तपुरको बालकोटमा रहेको छ । मत हाल्नैका लागि आफ्नो चुनावक्षेत्र छोडेर मतदान गर्नैका लागि वहाँ काठमाडौं आउनुभएको हो ।
वैद्य माओवादीले मतपत्र खोस्ने क्रममा १४ जना घाइते
दैलखको चामुण्डाको हाडाकोतस्थित मतदान केन्द्रमा वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुट्ने क्रममा भएको भागदौडमा १४ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेर मतदान केन्द्रमा खटेका एकजना कर्मचारी घाइते भएका छन् ।
भोजपुरमा बम राखेर अवरोध प्रयास
भोजपुर विभिन्न गाविसका मतदान केन्द्रहरूमा विस्फोटक पदार्थ राखेर निर्वाचनमा अवरोधप्रयास भएको छ । जिल्लाको उतरी मूलपानी गाउँ विकास समितिस्थित कृषि भवन मतदान केन्द्र नजिकै सकेट फेला परेको छ । मतदाता त्रसित पार्न राखिएको सकेटबम प्रहरीले हटाएको छ । भोजपुरकै उतरी कुदाककाउले र चौकीडाँडा गाविसका मतदान केन्द्र जाने बाटोमा राखिएका शंकास्पद वस्तु चुनावी सुरक्षामा खटिएका सुरक्षाकर्मीले हटाएक छन् । भोजपुर प्रहरी प्रमुख नान्तीराज गुरूङले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण वातावरणमा मतदानप्रकृया चलिरहेको बतउनुभएको छ ।
जनमोर्चा अध्यक्ष केसीद्वारा मतदान
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङ जिल्लाको मल्म-२ स्थित लक्ष्मीनारायण प्राथमिक विद्यालयको मतदान केन्द्रबाट केहीबेर अघि मतदान गर्नुभएको छ ।
बझाङको पाटादेवलमा मतदान सुरू
बझाङ जिल्लाको क्षेत्र नम्बर १ स्थित पाटादेवल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा केहीबेरअघिबाट मतदान प्रकृया शुरू भएको छ । सो मतदान केन्द्रमा सेना र प्रहरीको थप टोली हेलिकोप्टरबाट पठाएर सुरक्षाव्यवस्था कडा बनाइएपछि मतदान सुरु भएको हो । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूबीत गयरातिबाट भएको झडपले स्थिति तनाबग्रस्त भएपछि सो केन्द्रमा निर्धारित समयमा मतदान सुरू हुन सकेको थिएन । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपमा एमालेको तीनजना कार्यकर्ता घाइते भएका थिए ।
बोगटीले गरे मतदान
एकीकृत माओवादीका नेता एवम् नुवाकोट क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार पोष्टबहादुर बोगटीले पनि मतदान गर्नु भएको छ । बोगटीले आफ्नो जन्मथलो तुप्चे २ स्थित चण्डेश्वरी उमाविको मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको हो ।
####
.jpg)




0 comments
Write Down Your Comment