२ दिन ५ सय नेपाली पक्राउ, दूताबास बेखबर
####good
काठमाडौं– मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन थालेको धरपकडमा सोमबार बेलुकीसम्म पाँच सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। मलेसिया सरकारले आइतबार बिहानैदेखि धरपकड सुरु गरेको हो । अध्यागमन विभागको नेतृत्वमा बिहान १२ बजेदेखि विभिन्न क्षेत्रमा छापा मारेर दुई हजारभन्दा बढी विदेशी कामदार पक्राउ गरिसकेको मलेसियाका विभिन्न अनलाइन सञ्चार माध्यमहरूले जनाएका छन्।
नेपाली दूतावास कर्मचारी कृष्ण विष्टले धरपकडमा ठूलो संख्यामा विदेशी कामदार पक्राउ परे पनि नेपालीको संख्या थाहा नभएको बताए ।

त्यहाँका नेपालीले भने दूतावासले बेवास्ता गरेको आरोप लगाएका छन् । आइतबार पक्राउ परेका पर्वत धाइरिङका कृष्ण विकलाई उद्धृत गर्दै क्वालालम्पुरबाट सुवास दर्नालले टेलिफोनमा नागरिकसँग भने, 'पक्राउ गरी राखिएको सेन्टरमा अरू देशका कामदारलाई भेट्न दूतावासका कर्मचारी पुगेका छन्, नेपाली दूतावासबाट भने कोही गएको छैन ।'

मलेसियमा रहेका नेपाली कामदार पक्राउ पर्ने क्रम बढिरहँदा पनि दूतावास मौन रहनुले आफू अचम्मित भएको नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले बताए । 'अहिलेसम्म कति नेपाली पक्राउ परे भन्ने पनि दूतावासलाई थाहा नहुनु अनौठो कुरा हो,' उनले सोमबार नागरिकसँग टेलिफोनमा भने ।

पेनाङ बस्ने म्याग्दी खबराका महेन्द्र थापाका अनुसार ठूलो संख्यामा आएका प्रहरी र अध्यागमन कर्मचारीले घरको छतदेखि बाथरुमसम्म जाँच्ने गरेको जानकारी दिए । 'धेरै कामदार डरले घरैबाट निक्लेका छैनन्,' उनले भने ।

गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्षित गरी मलेसिया सरकारले यो अभियान थालेको हो । यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजारभन्दा बढी प्रभावित हुनेछन् । पक्राउ पर्नेमा नेपाली कामदारसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी र भियतनामी छन् ।


####




0 comments

Write Down Your Comment