यस्तो छ चुनावी परिणामको देशी विदेशी पूर्वआँकलन
####good
कोही भन्छन् एमाओवादी दोस्रो, कोही भन्छन् तेस्रो
४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभाको परिणाम कुर्न अब धेरै समय बाँकी छैन । तर, चुनावअघि नै परिणामबारे आँकलन गर्दै हिँडेका केही विदेशी शक्तिहरुले आ-आफ्ना ‘प्रि इलेक्सन एनालाइसिस’ तयार पारेका छन् । नेपालभित्रैबाट सुरक्षा निकायले समेत निर्वाचनसम्बन्धी पूर्वानुमान रिपोर्ट तयार पारेको छ । ०६४ सालको चुनावमा माओवादीले कमजोर नतिजा ल्याउने आँकलन गरेर ‘फ्लप’ खाएका विश्लेषकहरु यसपालि भने अलिकति सतर्क बनेका छन् ।
यूरोपेली युनियन एवं अमेरिकी अन्वेषकहरु विभिन्न जिल्लाको चुनावी आँकलन गरेर राजधानी फर्किएका छन् । स्रोतबाट प्राप्त जानकारी अनुसार उनीहरुले फिल्ड भ्रमणबाट तयार पारेको ‘पि्र इलेक्सन एनालाइसिस’ रिपोर्टमा एकीकृत माओवादीभन्दा ५/७ सीट बढीले नेपाली कांग्रेस पहिलो पार्टी बन्न सक्ने दाबी गरिएको छ ।
पश्चिमी मुलुकको खेस्रा अनुमान : एमाओवादी तेस्रो
अमेरिकी एवं युरोपेली सूत्रहरुले चुनावअघि देशभरिका विभिन्न जिल्लाबाट रिपोर्ट संकलन गरेको छ । पश्चिमाहरुले तयार पारेको चुनावी पूर्वानुमान रिपोर्टमा एमाओवादी तेस्रो स्थानमा सीमित हुने दाबी गरिएको छ । पहिलोमा ५६ सीट सहित कांग्रेस, दोस्रोमा ४८ सीटसहित एमाले र तेस्रोमा ३९ सीटसहित एमाओवादीको विजय हुने उनीहरुको दाबी छ । मधेसमा फोरम, तमलोपा र सद्भावनाले २/२ सीट गरी कूल ६ सीटमात्रै जित्ने पश्चिमाहरुको अनुमान छ ।

अर्को रोचक पक्ष के छ भने ७९ सीटको परिणाम कसको पक्षमा आउँछ भनेर अनुमान लगाउन नसकिने बताइएको छ । यतिधेरै सीट संख्याको अनुमान गर्न नसकी तयार पारिएको भनिएको रिपोर्टका आधारमा कसको बढी सीट आउँछ भन्ने अनुमान लगाउन गाह्रो छ । ठूलो संख्याका सीटहरुलाई अनुमान बाहिरै राखेर कांग्रेस पहिलो, एमाओवादी दोस्रो र एमाले तेस्रो भनिएकोमा अनुमान बाहिरको परिणामलाई जोड्दा पश्चिमी आँकलन उलट-पुलट हुन सक्ने देखिन्छ । ७९ सीटको परिणामले एमाओवादीलाई पहिलो र कांग्रेसलाई दोस्रो या अन्य खालको परिणाममा समेत पुर्‍याउन सक्ने देखिन्छ ।
सुरक्षा निकायको अनुमान : एमाओवादी दोस्रो
नेपाली सेना, प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागको अध्ययनका आधारमा सरकारी अधिकारीहरुले गरेको अनुमानमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने बताइएको छ । सुरक्षा स्रोतको अनुमानमा कांग्रेसले जित्ने सम्भावित सीट संख्या ७५ देखि ८० सम्म रहेको छ । एकीकृत माओवादीले ६८ देखि ७० सीटसम्म जित्ने अनुमान गरिएको छ । एमाओवादी दोस्रो दल बन्ने सुरक्षा स्रोतको दाबी छ । तेस्रो बन्ने दाबी गरिएको एमालेले ५५ देखि ५८ सीटसम्म ल्याउने अनुमान छ ।

एकीकृत नेकपा माओवादी दोस्रो दल बन्ने सरकारी निकायको अनुमान रहेको छ । सुरक्षा स्रोतको आन्तरिक आँकलनअनुसार १०/१५ सीट कम ल्याएर नेकपा एमाले तेस्रो पार्टी बन्ने दाबी गरिएको छ । उसको दाबीअनुसार एमालेले ५५ देखि ५८ सीटसम्म ल्याउन सक्ने भन्ने छ । मधेसी दलको कति सीट आउँछ भन्ने उसको आँकलन छैन । तर, कमल थापाले समानुपातिकतर्फ १५ देखि २० सीटसम्म ल्याउन सक्ने अनुमान गरिएको छ । अन्य ४२ सीटमध्ये मधेसी दल र अन्य दलहरुको कति आउँछ भन्ने यकिन अनुमान सुरक्षा निकायले गर्न नसकेको स्रोतले बतायो ।
दलहरुको दाबी : २४० भन्दा बढी
राजनीतिक दलहरुले आफैंले भने प्रत्यक्षतर्फ सय भन्दा बढी र त्यसको हाराहारीमा जित्ने दाबी गरेका छन् । उनीहरुको दाबीअनुसार पाउने भनिएका सीट जोड्दा ३ सयबन्दा बढी सीट पुग्छ ।

एकीकृत नेकपा माओवादीले १ सय ५५ सीट जित्ने दाबी गरेको छ । प्रत्यक्षमा १ सय ५५ सीट जित्ने र समानुपातिकको जोड्दा सरकार गठनाका लागि बहुमत पुग्ने एमाओवादीको आन्तरिक अनुमान छ ।
त्यसैगरी नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १ सय सीट जित्ने दाबी गरेको छ । एमालेले ९३ सीटमा जीत निश्चित भएको दाबी गरेको छ । प्रतिस्पर्धामा रहेका अन्य धेरै सीटमा जित्न सकिने आँकलनसहित एमालेले १ सय सीट कटाउने दाबी गरेको छ ।
फुटेर धेरैवटा बनेका मधेसवादी दलहरुले विगतमा मधेसबाट ४३ सीट जितेकोमा यसपालि ३५ सीट हात पार्ने दाबी गरेका छन् । प्रत्यक्षतर्फ १/२ सीट पनि जित्ने सम्भावना नरहेको बताइँदै आएका बेला राप्रपा नेपालका नेताहरुले पदाधिकारीहरु सहित आफ्ना १८ जना नेताले जीत हात पार्ने दाबी गरेका छन् ।


####




,

0 comments

Write Down Your Comment