एमालेबाट को को भए समानुपातिक सभासद (सूचिसहित)
####good
काठमाडौंको उत्तरी गोकर्ण रिर्सोट बसेको स्थायी समितिको आवासीय बैठकले समानुपातिक सभासदको टुंगो लगाएको हो । एमाले स्रोतले दिएको जानकारी अनुसार एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, तुलराज विष्ट र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाउने निर्णय भएको छ ।
एमाले केन्द्रीय सदस्य घनश्याम भुसालले समानुपातिकका सबै सभासदको टुंगो लागिसकेकाले शनिबारसम्ममा पूर्ण विवरण आउने जानकारी अनलाइनखबरलाई दिनुभयो । ‘समानुपातिकका सबै सभासदको टुंगो स्थायी कमिटिले शुक्रबार साँझ लगाएको छ’, भुसालले भन्नुभयो, ‘सभासदका लागि पार्टीभित्र अनावाश्यक किचलो हुने भएकाले आवासीयरुपमा स्थायी समितिको बैठक बसेर सभासदको चयन गरिएको हो ।’
बैठकले आदिवासी जनजातिहरुलाई पनि प्राथमिकतामा राख्दै समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । आदिवासी जनजातिबाट समानुपातिकमा सभासद हुनेहरुमा स्याङजाका गणेशमान गुरुङ, ललितपुरका सिद्दिलाल सिंह, धादिङका गंगाधर तुलाधर, काठमाडौंका विनोद श्रेष्ठ, तुलबहादुर गुरुङ, इच्छाराज तामाङ, राजधानी दैनिकका मालिक महेन्द्र शेरचन, बाग्लुङका नरबहादुर थापा मगर, रोल्पाका गोकुल घर्तीसहित रहनुभएको छ ।
दलित समुदायको प्रतिनिधित्व गर्दै चुडामणि जंगली, टेकु नेपाली, जीतु गौतम, ज्ञानु गैरे, अफिलाफ उखेडा, शारदा सुवर्णकार, शिवकुमारी गोतामे र भागवत विश्वासीलाई पनि सभासद बनाउने निर्णय एमालेले गरेको छ ।
त्यसैगरी मधेसीबाट रामचन्द्र साह, सत्यनारायण मण्डल, धर्मनाथ साह र कृपाराम रानासहितलाई पनि एमालेले सभासद बनाउने निर्णय गरेको छ ।
स्थायी समितिको बैठकले एमाले केन्द्रीय सदस्य रहनुभएका सबै महिलाहरुलाई समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । सभासद हुनुभएका महिलाहरुमा उपाध्यक्ष विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य, जयन्ती राई, कल्पना चापागाई, गरिमा साह, कमला सुवेदी, गौरी ओली, ममता गिरी, श्रीमाया थकाली, कमला महतो, रञ्जना सरकार र टुका हमाल रहनुभएको एमाले स्रोतको दावी छ । महिलाबाट सभासद बन्नुभएका अन्यमा शान्ता मानवी पनि रहनुभएको छ ।
सबै महिला केन्द्रीय सदस्य र अन्य जिम्मेवारीमा रहेका महिलालाई सभासद बनाउँदा पनि एमालेबाट सभासद हुने महिलाहरुको संख्या भने ३३ प्रतिशत नपुग्ने भएको छ ।
बैठकले सबैको नामलाई अन्तिम रुप दिएपछि शनिबार निर्वाचन आयोगलाई सूची बुझाइने छ । शनिबार आयोगमा सो नामावली बुझाइएपछि मात्रै त्यसलाई सार्वजनिक गरिने एमाले स्रोतको दावी छ । स्थायी कमिटीले यसअघि सम्पन्न केन्द्रीय कमिटीले तय गरेको मापदण्डअनुसार समानुपातिक सदस्यका नामावली तय गरेको जनाइएको छ।
एमालेको समानुपातिक सभासदमा पार्टीका प्रभावशाली नेताहरु प्रदीप नेपाल, केशव बडाल, मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, खगराज अधिकारी, किरण गुरुङ, परशुराम मेघी गुरुङ, माधव पौडेल, बेदुराम भुसाल, भानुभक्त जैसी, ठाकुर गैरे र महिला नेतृ रामकुमार झाँकी पर्न सक्नुभएन ।

####
.jpg)



0 comments
Write Down Your Comment