बावुद्वारा छोराको चौरासी पूजा, १०४ वर्षीय बावु र ८४ वर्षीय छोरा
####good
बाग्लुङ , पुस २ - आफ्ना मातापिता ८४ बर्ष पुगेपछि धुमधामका साथ पूजा गर्ने र भाग्यमानी हुने आशले आर्शिवाद लिने चलन नौलो होइन् । तर यहाँका एक वृद्धले छोराको चौरासी पूजा गराएका छन् । तंग्राम ९ फापरखेतका एकसय चार वर्षीय देवीप्रसाद पुनले ८४ वर्षीय छोरा लालबहादुरको चौरासी पूजा गराएका हुन् ।
अहिलेसम्म नदेखेको दृश्य र महत्वपूर्ण अवसर भएकोले तंग्राम, विहुँ र धम्जा लगायतका सयौं मानिस सोमवार पुनको घरमा आर्शिवाद लिन पुगेका थिए ।

'सामान्यतया ८४ बर्ष पुग्नेसँग आर्शिवाद लिने हो, तर बाबुछोराकै हातको आर्शिवाद लिनेको भीड छ' स्थानीय तेजेन्द्र थापाले भने,'सबैलाई यो अनौठो लागेको छ ।' आर्शिवाद लिन आउनेले तपाईँहरु जस्तै स्वस्थ्य रहन पाउँ भन्ने कामना गरेको थापाले बताए ।
विसं १९६७ सालमा जन्मिएका बाबु देवीप्रसादले एकसय चार र १९८७ मा जन्मेका लालबहादुरले ८४ बर्ष टेकेका हुन् । देवीप्रसादका चार भाइमध्ये एकको सानैमा मृत्यु भएकोमा लालबहादुरसहित तीन छोरा अझै छन् ।
खेतीकिसानी गरेरै जीवन विताएका एक सय चार वर्षीय बावु देवीप्रसाद अझै पनि घाँसपातमा निस्कन, गाइभैसीको स्याहार गर्न सक्छन् । लालबहादुर भारतीय सेनाका निवृत्त हुन् । एक साता अघिदेखि सदरमुकाममा संचालित पेन्सन क्याम्पमा उनले आफै गएर पेन्सन थापेका थिए ।
नाती पनातीहरु पढ्न र रोजगारीका लागि सहर पसेपनि बृद्ध बाबुछोराले भने गाउँमै खेतीकिसानी गरेरै जीवन विताइरहेका छन् । 'बाबुछोराले घर छाडेर सहर जानुभन्दा गाइभैसी पालेर गाउँघरमै ताजा खाना खानुपर्छ भन्नुहुन्छ' विहुँका महेन्द्र पुनले भने,'खानामा ध्यान दिएकै कारण स्वस्थ्य रहनुभएको हो ।'
पुनका बाबुछोरा अहिले पनि बिहुँको गौस्वारामा रहेको खेतमा खेतीलगाउन पुग्ने, घरमा पालेका गाइभैसीको स्याहार गर्ने गर्दै आएका छन् । 'खानपान र बसाइमा ख्याल गरेकोले रोगले छोएको छैन्', लालबहादुरले भने,'स्वस्थ्य रहनका लागि बाबुको प्रेरणाले सहयोग गरेको हो ।' विरामी परेर औषधि खाने नगरेको उनीहरुले बताए । बरु सामान्य अस्वस्थ्य भएको समयमा घरायसी जडीवुटीको प्रयोग गर्ने गरेको उनी सुनाउँछन् ।
गाउँका सामाजिक काममा पनि बाबुछोरा अझै सक्रिय छन् । विद्यालय, बाटो लगायतका काम गर्न पनि सहयोग गर्न अगाडी सर्ने पुनका बाबुछोरालाइ गाउँवासीले सम्मानीत रुपमा हेर्ने गरेका छन् ।


####




,

0 comments

Write Down Your Comment