मर्न तयार छु, तर दक्षिणपन्थी हुन्न : वैद्य
####good
संविधानसभातिर फर्केर पनि नहेर्ने निर्णय
२९ मंसिर, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले बरु आफू मर्न तयार हुने तर दक्षिणपन्थी, संशोधनवादी नुहने बताउनुभएको छ । ललितपुरको कुपन्डोलमा एक साता लामो केन्द्रीय समितिको बैठकमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुबाट उठाइएका प्रश्नको जवाफ दिने क्रममा शनिबार अध्यक्ष वैद्यले डेढघण्टा लामो मन्तव्य दिँदै भन्नुभयो- ‘म बरु मर्न तयार छु, तर दक्षिणपन्थी संशोधनवादी बन्दिँन, तपाईहरु ढुक्क हुनुहोस् ।
माओवादीको एक साता लामो केन्द्रीय समिति बैठक शनिबार सकिएको छ । बैठकले अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
स्रोतका अनुसार अध्यक्ष वैद्यको प्रतिवेदनमा संविधानसभाको विघटन गरी सर्वपक्षीय गोलमेच सभामार्फत् राष्ट्रिय संयुक्त सरकार बनाउनुपर्ने माग रिएको छ । यसका लागि सशक्त प्रतिरोध आन्दोलन गर्ने कार्यनीति अघि सारिएको छ ।
‘संविधानसभा भवनतिर पार्टीले अब फर्किएर पनि हेर्दैन, दलहरु सहमतिमा आएर गोलमेचमार्फत् नयाँ निकास दिन मानेनन् भने अब सडकबाटै संविधान जारी गरिन्छ ।’ बैठकबाट पारित लाइनबारे जानकारी दिँदै माओवादीका एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।
बैठकले क्रान्तिको कार्यदिशा सम्वृद्ध पार्दै लागे निर्णय गरेको नेताले बताएका छन् । आगामी संघर्षको ठोस कार्यक्रम तय गर्ने जिम्मा पोलिटब्यूरोलाई दिइएको छ ।
‘बैठक औपचारिकरुपमा सकिएको छ, वैठकले अध्यक्षका राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ,’ माओवादीका सचिव देव गुरुङले अनलाइनखबरसँग भन्नुभयो, ‘बैठकका निर्णयहरुबारे अहिल्यै टिप्पणी नगरौं, पुस १ गते दिउँसो १ बजे कुपन्डोलमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइने छ ।’


####




0 comments

Write Down Your Comment