डाक्टरको क्षमता जाँचिने
####good
काठमाडौं— नेपाल मेडिकल काउन्सिलले गुणस्तरीय स्वास्थ्य सेवा प्रत्याभूत गराउन तीन–तीन वर्षमा चिकित्सकको दक्खल जाँच्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । यस्तो जाँचमा उत्तीर्ण चिकित्सकले मात्र बिरामीको उपचार गर्न पाउनेछन्।
काउन्सिलले आगामी वैशाख १ गते कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट (सिपिडी) लागू गरेर चिकित्सकको जाँच लिन लागेको हो । जाँचमा न्यूनतम १ सय अंक ल्याउने चिकित्सकलाई काउन्सिलले प्रमाणित गर्नेछ ।

सिपिडीले क्षमतावान चिकित्सक तयार पार्ने र अन्तर्राष्ट्रिय रूपमा दक्षता प्रमाणीकरण गर्ने काउन्सिलले जनाएको छ । यो व्यवस्था अहिले दक्षिण एसियामा थाइल्यान्डमा मात्र लागू भएको छ । नेपालमा सिपिडीअनुसार पाइलट र चार्टड एकाउन्टेन्टको मात्रै प्रमाणीकरण हुने व्यवस्था छ ।

प्रचलित व्यवस्थाअनुसार एमबिबिएस पास गरेपछि काउन्सिलले एकपटक लिने लाइसेन्सिङ परीक्षा पास गरेपछि चिकित्सकले निरन्तर बिरामी जाँच्न पाउँछन् । काउन्सिलमा १३ हजारभन्दा बढी चिकित्सक दर्ता छन् । एकपटक दर्ता भएपछि नवीकरण गर्नु नपर्ने भएकाले कति चिकित्सक अन्य पेसा र विदेशमा छन् भन्ने यकिन छैन ।

काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले चिकित्सा पेसालाई मर्यादित र गुणस्तरीय बनाउन काउन्सिलले यस्तो व्यवस्था लागू गर्न लागेको बताए । 'ऐनले काउन्सिललाई चिकित्सकीय अभ्यासको नियमन र गुणस्तर कायम राख्न यस्तो नियम बनाएर लागू गर्न सक्ने अधिकार दिएको छ,' उनले भने । यो सिपिडीले नेपालको चिकित्सा पेसाले अन्तर्राष्ट्रियस्तरमा फड्को मार्ने उनको दाबी छ ।

गजुरेलले विभिन्न विशेषज्ञ समिति, नामी चिकित्सकसँग एक वर्षयता १२ वटा बैठक गरेर काउन्सिलले परीक्षासम्बन्धी विधि र प्रक्रिया टुंग्याएको जानकारी दिए । सिपिडी प्रक्रिया विकास गर्न गठित विज्ञ समितिका संयोजक डा. रमेशकान्त अधिकारीले काउन्सिलले कुन सीप र प्रज्ञिक तालिममा कति नम्बर दिने भनेर पहिल्यै तोक्ने बताए । 'मान्यताप्राप्त संस्थाबाट लिएको तालिम, कार्यपत्र प्रस्तुति, सेमिनारमा सहभागितावापत पनि निश्चित नम्बर तोकिन्छ,' डा. अधिकारीले भने, 'सुरुमा एकपटकका लागि पाँच वर्षभित्र र त्यसपछि प्रत्येक तीन–तीन वर्षमा जाँच हुन्छ । कम्तीमा सय अंक ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुन्छ ।'

चिकित्सकले ल्याउनुपर्ने सय अंकमध्येमध्ये तीस अंक बराबरको सीप सबैलाई अनिवार्य हुन्छ । ७० अंक सम्बन्धित विषयमा अद्यावधिक भएको आधारमा ल्याउनुपर्छ ।

अनिवार्य सीपअन्तर्गत कार्डियाक पल्मोनरी रिसाइटेसन (सिपिआर), बिरामीसँग संवाद गर्ने सीप, संक्रमणबाट बिरामीलाई बचाउने आधारभूत तरिका र चिकित्सकको आचारसंहितासम्बन्धी तालिम पर्छन् । काउन्सिलबाट मान्यताप्राप्त जुनसुकै संस्था वा मेडिकल कलेजमा चिकित्सकले उक्त तालिम लिन पाउनेछन् ।

सिपिआर भनिने विशेष तालिम लिएकाले बिरामीको मुटु चल्न बन्द भए तत्काल तरिका मिलाएर छातीमा थिच्दा काम गर्न छाडेका महŒवपूर्ण अंग फेरि चल्न सक्छन् । अभ्यास गरेर मात्रै जानिने यो सीप धेरै चिकित्सकले बिर्सिसकेको विभिन्न अध्ययनले देखाएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानको एक अध्ययनले त ८० प्रतिशत चिकित्सकमा त्यस्तो सीप नै नभएको देखाएको छ ।

समितिका अर्का सदस्य डा. सुशील कोइरालाका अनुसार धेरै अध्ययनले अस्पताल एवं शल्यकक्षमा हुने संक्रमणका कारण हजारांै बिरामीको ज्यान गइरहेको देखाएका छन् । त्यसैले संक्रमणबाट जोगाउने तालिमसमेत अनिवार्य गरिएको छ । '१९९८ को एक अध्ययनले अमेरिकामा ४४ हजारदेखि ९८ हजार मानिस मेडिकल्ली हुने त्रुटिका कारण मर्ने अनुमान गरेको थियो,' उनले भने, 'अमेरिकामा यस्तो छ भने नेपालमा के होला !'

डा. अधिकारीले बिरामीलाई गरिने व्यवहारका कारण उपचारमा नकारात्मक प्रभाव परेको र चिकित्सकको धारणाले पनि चिकित्सा पेसाको मर्यादा खस्काइरहेकाले यस्तो तालिम बाध्यात्मक गरिएको बताए । 'औषधि कम्पनीसँगको सम्बन्धदेखि बिरामीलाई कति समय दिनुपर्छ भन्ने इथिक्सको प्रश्न हो, धेरै चिकित्सकलाई थाहा नभएकाले पनि तालिम लिनैपर्ने बनाइएको हो,' अधिकारीले भने ।

चिकित्सक आफूले बिरामी जाँचेको आधारमा गरेको अनुभव, त्यसको व्यवस्थापन गर्न अपनाएका विधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता, प्रस्तुतीकरण, अध्ययनको निश्चित नम्बर हुन्छ ।

पूर्वाधार पुगेका मेडिकल कलेज, अस्पतालहरूलाई काउन्सिलले तालिमका लागि मान्यता दिएर सूचीकृत गर्नेछ । विभिन्न ठाउँमा स्किल ल्याब र मास्टर टे«नर (प्रशिक्षक) तयार हुनेछन् । दुर्गममा रहेका चिकित्सक अनलाइनमार्फत यो प्रक्रियामा सहभागी हुन सक्नेछन् र तिनीहरूले केन्द्रमा बस्नको भन्दा अतिरिक्त नम्बर पाउनेछन् । विदेशमा रहेका चिकित्सक पनि अनलाइनमार्फत नै सिपिडीमा सहभागी हुन सक्ने डा. कोइरालाले बताए ।

तालिम वा प्राज्ञिक कोर्सको प्रमाणपत्र काउन्सिलको वेबसाइटमा दर्ता गरेपछि 'सफ्टवेयर'मार्फत नम्बर थपिँदै जानेछ । 'दर्ता भएपछि चिकित्सकले पासवर्ड पाउनेछन् र उनीहरूले तालिम तथा सीप दर्ता गराउँदै नम्बर बढाउन सक्नेछन्,' डा. गजुरेलले भने ।

काउन्सिलका पूर्व उपाध्यक्ष डा. शशि शर्माका अनुसार प्रत्येक चिकित्सकले आफूलाई अब्बल सावित गर्न सक्ने यो स्वस्थ प्रतिस्प्रधात्मक अवसर हो ।

काउन्सिलका अनुसार यो व्यवस्था लागू भएपछि पेसामा निष्क्रिय चिकित्सकको दर्ता रद्द हुनेछ । त्यस्ता चिकित्सकले पुनः अभ्यास गर्नका लागि नयाँ दर्ता प्रक्रियामा जानुपर्नेछ । 'डाक्टर राष्ट्रपति, सभासद मन्त्री भइरहेका छन्, तर अब ती ठाउँमा जाने हो या बिरामी जाँच्ने बाटो स्पष्ट हुनुपर्छ,' गजुरेलले भने ।

अन्य देशमा ननप्राक्टिसिङ लाइसेन्सको व्यवस्था भए पनि नेपालमा तत्काललाई यो अवधारणा लागू नगरिने काउन्सिलले जनाएको छ ।

अध्यक्ष डा. गजुरेलले गुणस्तरीय चिकित्सक उत्पादनका लागि यसअघि पनि विज्ञानमा कम्तीमा ५० प्रतिशत अंक ल्याएर प्लस टु पास गर्नुपर्ने, विश्वविद्यालयको प्रवेश परीक्षा पास गर्नुपर्ने र काउन्सिलको लाइसेन्स परीक्षा पास गर्नुपर्ने नियम राखेको बताए । 'अब सिपिडी अर्को खुड्किलो हो, जसले हामीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा पुर्‍याउँछ,' उनले भने ।

वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाले धेरै चिकित्सकमा पढ्ने–लेख्ने बानी हराएको जनाउँदै नयाँ नियमले नेपालको चिकित्सा पेसालाई उचाइ दिने बताए । 'विद्यार्थी त कक्षामा बस्दैनन्, वरिष्ठलाई कक्षामा लगेर पढ्न बाध्य पार्ने चुनौती छ,' उनले भने, 'तर यो प्रक्रिया पूरा नगरे चिकित्सक नै फेजआउट हुन्छ र हुनुपर्छ ।'
####




0 comments

Write Down Your Comment