विश्वकप फुटबलको ट्रफी पहिलो पटक नेपालमा (भिडियोसहित)
####good
काठमाडौं, पौष ६ । नेपालमा पहिलो पटक विश्वकप फुटबलको ट्रफी ल्याइएको छ । तीन महिनाअघि ब्राजिलको रियो दि जेनेरियोबाट सुरु भएको विश्वकप फुटबलको ‘ट्रफी टुर’ आज भुटानबाट नेपाल ल्याइएको हो । विश्वकपको ट्रफी फुटबलको सर्वोच्च निकाय फिफाको विशेष विमानमार्फत काठमाडौँमा ल्याइएको हो । राष्ट्रपति डा. रामवरण यादवले दशरथ रंगशालामा आायोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गरेका थिए ।


 नेपालमा पहिलो पटक विश्वकप फुटबलको ट्रफी आएपछि विश्व फुटबलको नक्सामा नेपालको उपस्थिति अझ बलियो भएको आयोजकको दावी छ । कडा सुरक्षाबीच प्रदर्शनीमा राखिएको ट्रफी आयोजकबाट विशेष पास पाउने लब्धप्रतिष्ठित र व्यवसायिक घरानाका व्यक्तिहरुका साथै कोकाकोलाले उपभोक्ताहरुमाझ गरेको लक्की ‘ड्र’का विजेता र खेलकर्मीहरुले मात्रै प्रत्यक्षरुपले हेर्न पाएका थिए ।

 ब्राजिलमा आउँदो असारमा सुरु हुने विश्वकप फुटबलको ट्रफी विश्वका विभिन्न सहर घुमाउने क्रममा कतार, युएइ, बंगलादेश, भुटान हुँदै नेपाल ल्याइएको हो । ट्रफी भोलि भारत लगिने छ । विश्वकपअघि ट्रफी विश्वका ९० देशमा पुर्‍याउन फिफाले कोकाकोलासँग सम्झौता गरेको छ । जसमध्ये ५१ वटा देशमा पहिलो पटक विश्वकप ट्रफी भित्र्याइँदै छ । सन् २००६ देखि सुरु भएको ट्रफी टुरको यो तेस्रो संस्करण हो ।
####




,

0 comments

Write Down Your Comment