ढलमतीलाई वाग्मती बनाउने यस्तो अभियान
####good
अनि फेरि सबैले नारा लगाए
‘हामी वाग्मती सफा गर्न —सक्छौं सक्छौं
हामी वाग्मती सफा — गर्छौं गर्छौं ।
हामीले नगरे — कसले गर्ने ?
अहिले नगरे — कहिले गर्ने ?’
नाराबाटै वाग्मतीको सफा गर्न प्रतिबद्धता जनाएपछि उनीहरु सफाइका लागि आवश्यकीय साधन (डोको, बोरा, बुट, डण्डी, कोर्ने, रड) लगायतका सामग्रीहरु लिएर फोहोर टिप्न जान्छन् । फोहोर संकलन गर्न जानुअघि व्यक्तिगत सुरक्षाका लागि मास्क, पञ्जा जस्ता सामग्री पनि प्रदान गरिन्छ ।
सबैले संकलन गरेको फोहोरलाई विसर्जन गर्नका लागि काठमाडौ महानगरपालिकाको गाडीहरु तयारी अवस्थामा राखिएको हुन्छ । सफाइका क्रममा कोही कसैलाई केही भइहालेमा तत्काल उद्धारका लागि एम्बुलेन्सलाई तयारी अवस्थामा राखिन्छ ।
सरसफाइ गर्नेलाई प्यास लागेमा जीवन विज्ञान नामक संस्थाले पानीको व्यवस्था गरेको छ । सफाइकर्तालाई उक्साउन नदी किनाराबाट संगीतको साथमा माइकिङ समेत गरिरहेको हुन्छ ।
अरु दिन सुनसान जस्तै हुने वाग्मतीमा शनिबार भने मेला जस्तै हुने सरसफाइ अभियानकी स्वयंसेवक मेनुका नेपालले बताउनुभयो । ३४ हप्तादेखि निरन्तर रुपमा वाग्मती सफाई गर्दै आएकी नेपाललाई अरु दिन भन्दा शनिबारको दिन अलि बढी नै जोशजाँगर चल्छ । उहाँ भन्नुहुन्छ ‘हामीलाई शनिबार त रमाइलो लाग्छ, नदीभित्र पसेर फोहोर उठाएजस्तो पनि लाग्दैन, विहानको १ घण्टा क्षणभरमै वितेजस्तै लाग्छ ।’
गएको जेठ ५ गते देखि शुरु भएको वाग्मती सरसफाइ महाअभियानमा मेनुकासँगै ४० जना स्वयंसेवकहरु नदीभित्र पसेर वाग्मती सफाई गर्दै आएका छन् । उनीहरु हरेक दिन विहान ७ बजेदेखि १२ बजेसम्म नदीभित्रै हुन्छन् ।
सरसफाइका क्रममा उनीहरुले गणेशको मूर्ति, मान्छेको मासु तथा हड्डी, तामाको भाँडाकुँडा, चम्चा, प्लेट जस्ता सामग्रीहरु भेटेका छन् । शुरुमा पानी नै नबग्ने नदीभित्र पस्न डरलागेपनि अब बानी परिसकेकाले केही वास्ता नलाग्ने उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ ‘अब त सरसफाइ गरेको ठाउँमा सललल पानी बग्न थालेको छ, नदीभित्र पस्न पनि अब त डर लाग्दैन ।’ बैशाख सम्ममा आर्यघाटमा वाग्मतीको पानीले नुहाउन सकिने अवस्था हुने उहाँको दाबी छ ।
उहिलेको वाग्मती र अबको चाहना
७६ बर्षअघि काठमाडौको तीनकुनेमा जन्मिएका नगिन्द्रराज केसीलाई पशुपतिनाथ मुन्तिरको पानीमा भक्तजनले चढाएको भेटी टल्केको अहिले झैं लाग्छ । उहाँका अनुसार निर्मल वाग्मतीको पानीमा वालुवा समेत देखिन्थ्यो, भेटी तैरिन्थ्यो र त्यो भेटी समेत निकाल्नुभएको थियो ।
२०१८ सालमा ठूलो बर्षात हुँदा किनारामा पछारिएको माछा टोपीभरि टिपेको पनि उहाँको स्मरणमा ताजै छ । ‘त्यो बेला १८÷२० वटा गाई गौशाला तिरै चराउन लैजान्थ्यौं, अनि गाई छाडा छोडेर वाग्मतीकै पानीमा हेलिन्थ्यो तर हेर्दा हेर्दै बाग्मतीलाई हामीले नै नर्क बनायौ ।’
बृद्ध नगिन्द्रराजको गुनासो छ ‘त्यो बेला खोलातिर दिसापिसाव गर्दा वाग्मती रिसाउँछिन् भन्ने धारणा थियो, हामी वाग्मतीमा मात्र होइन, खोलानाला कतै पनि दिसापिसाब गर्न डराउँथ्यौं तर हाम्रै पालामा यस्तो भयो ।’
उहाँको भनाईमा बसाइसराई, घनाबस्ती, अव्यवस्थित शहरीकरण र सुकुम्बासीद्वारा नदी अतिक्रमण र नीतिनियमको पालना नहुँदा वाग्मतीले यो दुर्दशा व्यहोर्नु परेको हो । सरसफाई अभियानमा समेत निरन्तर सहभागी हुदै आएका केसीलाई वाग्मतीको स्वरुप फेरिएको हेर्ने ठूलो धोको छ । उहाँ भन्नुहुन्छ ‘अब त कतिन्जेलसम्म बाँचौला र ? हामीले देखेको वाग्मती जस्तो थियो उस्तै देखेर मर्न पाए आनन्द हुन्थ्यो ।’
वाग्मती सरसफाइ महाअभियानको सफलता
२०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियानले ३५ औं हप्तासम्म आइपुग्दा धेरै सफलता पाइसकेको छ । नेपाल विज्ञापन संघ, कलाकार संघ, एपेक्स कलेज, जीवन विज्ञान, गायत्री परिवार र एस ट्राभल्स सहित ६ वटा संघ संस्थाबाट शुरु भएको यो अभियानमा अहिले ५०/६० वटा संघसंस्था र सयौं स्थानीयले सहभागीता जनाउँछन् ।
सरसफाइ भइसकेको क्षेत्रमा फोहोर फाल्ने क्रम रोकिएको छ भने धेरै लामो समयदेखि कुरा भइरहेको र गर्न नसकेको वाग्मतीको दुवै किनारामा ५/५ किलोमिटर ढल विछ्याउने काम सकिएको छ ।
शुरुको दुर्गन्धित बस्ती अहिले सुन्दर बस्ती
सरसफाई अभियानको टोलीलाई बस्ती हटाउन आएको आशंकामा प्रवेश गर्न समेत आनाकानी गरेको सुकुम्बासीबस्ती (जागृती टोल) अहिले सुन्दर बस्तीमा परिणत भएको छ ।
सफाई अभियानको उद्देश्य बताई उनीहरुलाई समेत सरसफाईमा समाहित गरेपछि अहिले त्यस बस्ती सरसफाइको नमुना वस्ती भएको मुख्य सचिव लिलामणि पौडेलले बताउनुभयो । उहाँका अनुसार यो वस्तीबाट अहिले हरेक हप्ता १ सय ५० देखि २ सय जनासम्म सफाइमा सहभागी हुन्छन् ।
वाग्मती किनारमा बगैंचा
सरसफाइसँगै वाग्मती किनारामा बगैंचा निर्माण हुने क्रम शुरु भएको छ । बगैंचा बनाउनेमा एसडीआई नेपाल पहिलो भएको छ । एसडीआईले तिलगंगा आँखा अस्पताल भन्दा तलतिरको किनारामा बगैंचा निर्माण गरिसकेको छ ।
वाग्मती किनारामा आर्ट अफ लिभिङ, नेपाल टेलिकम, बाणिज्य बैंक, गायत्री परिवार लगायत १२ वटा संस्थाले १२ वटा स्थानमा बगैंचा बनाउने प्रतिबद्धता जनाइसकेका छन् ।
वार्षिक उत्सव मनाउन वाग्मतीमा
वाग्मती सरसफाइ महाअभियानको ३६ औं श्रृंखलामा आर्ट अफ लिभिङका संस्थापक, एवं चर्चित आध्यात्मिक गुरु रविशंकर आउनु हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४९ औं बार्षिकोत्सव पनि त्यसै दिन परेकाले कार्यक्रम वाग्मती किनारमै मनाइने भएको छ । सफाइ महाअभियानका अनुसार वाग्मती सफाइको ३७ औं हप्तामा भने नेपाली टेलिकमको बार्षिकोत्सव पनि वाग्मतीमै मनाउने निधो भइसकेको छ ।
३६ औं हप्ताको कार्यक्रम भने तिलगंगामा भेला भएपछि शुरु हुने जनाएको छ ।
सफाइ अभियानमा बालबालिका निषेध
वाग्मती सरसफाई अभियानमा बालबालिकाहरुलाई भने फोहोर संकलन गर्न निषेध गरिएको छ । केही हप्ता अघिसम्म बालबालिका पनि फोहोर टिप्नेमा सहभागी भइरहेकोमा बालअधिकार विरुद्ध भएको भन्दै केही अधिकारकर्मीले मुख्य सचिवको ध्यानआकर्षण गराएपछि उनीहरुलाई निषेध गरिएको हो ।
‘सरसफाइका लागि बालबालिकाहरुले देखाएको जोश नयाँ पुस्ताका लागि समेत प्रेरणादायी भएपनि फोहोर ओसार्ने काममा सरिक नहुनुस्’ मुख्य सचिव लिलामणि पौडेलले भन्नुभयो ।
उद्योग सञ्चालन गर्न प्रतिबन्ध
सफाइ अभियानले वाग्मती नदी किनारामा उद्योग राखी प्रदुषित फोहोर सिधै मिसाउने २ सय जनालाई दण्डित गरिसकेको भने करिब २ दर्जन फोहोर फाल्ने उद्योगहरुको ढल र उद्योग नै बन्द गरिसकेको छ । सञ्चालित उद्योगहरुले मापदण्ड विपरीत फोहोर सीधै नदीमा मिसाएकाले प्रतिबन्ध लगाएको सफाई अभियानका अभियन्ता एवं मुख्य सचिव पौडेलले बताउनुभयो ।
सफाइ अभियानको चुनौती
वाग्मती सरसफाइ महाअभियान चुनौती नै चुनौतीको बीचबाट शुरु भएको अभियान हो । सबैभन्दा बढी शाखा नदी भएको काठमाडौ उपत्यकाका सबै नदी सफा नभइकन वाग्मती नदीसफा हुदैन । बाग्मती मनोहराको दोभानमा पुगेपछि झनै ठूलो चुनौती छ । दुवैतिर ढल सँगसँगै विछ्याउदै सरसफाई गर्दै आएको सफाइ अभियानसँग मनोहरामा ढल हाल्ने कुनै परियोजना पनि छैन ।
मुख्य सचिव पौडेल भन्नुहुन्छ ‘मनोहरामा ढलसहितको पानी आईरहेको छ त्यो पानी त्यही वाग्मतीमा मिसिन्छ, मनोहरा किनारा दर्जनौं किलोमिटर छ, त्यसपछि धोबीखोला त झनै ढलैढलले पुरिएको छ, त्यसपछि आउने टुकुचामा पानी होइन ढल मात्र बग्छ, त्यो भन्दा पनि तल बिष्णुमती छ, त्यहाँ पनि ढलको व्यवस्था छैन । यो सबै छैन भनेर सफा नगरेर बस्ने कुरा त भएन ।
स्वयंसेवी अभियानबाट दुवैतिर ढल हाल्ने काम त पूरा हुदैन । म सरकारमा भएकाले सरकारी निकायलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गरेर बाग्मतीमा जस्तै अरु नदी किनारामा पनि ढल हाल्नको लागि प्रयास थाल्नेछु ।’
सरसफाइको चुनौतीको रुपमा लिएको नदी अतिक्रमणको समस्यालाई भने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हल गर्ने मुख्य सचिव पौडेलले बताउनुभयो । समितिले नदी किनारामा मिचिएका जग्गाहरु सकारेर दुवैतिर सडक बनाउने त्यसैमा बगैंचा बनाउने र सँगसँगै ढल निर्माणको काम पनि गरिरहेको उहाँले बताउनुभयो ।
अझ उच्चस्तरीय छानबिन समिति जस्तो बनाएर क–कसले गलत ढंगले दर्ता गरे तिनीहरुको दर्ता खारेज गर्ने, गलत काम गर्नेहरुलाई दण्डित गर्ने लगायतको काम गर्नुपर्ने उहाँको सुझाव छ ।
के छ आगामी योजना ?
पहिलो चरणमा धोबीखोलाको दुवैतिर ढल विछ्याउने योजना सरसफाई महाअभियानको छ । ढल हाल्न सकेमा सरसफाइमा सहज हुने अपेक्षा गरेको अभियानले हाल धोबीखोलाको दुवै किनाराको सडकमा कालोपत्रे भईरहेको कार्यलाई समेत रोकेर दुवैतिर ढल निर्माण गर्न आग्रह गरेको छ ।
ढलका लागि बजेट छैन भन्ने जवाफ पाएको अभियानले सडक कालोपत्रेको रकमान्तर गरेर पनि ढल बनाउन आग्रह गरेको मुख्य सचिव पौडेलले बताउनुभयो । ‘पैसा छैन भनेपछि पिचको पैसा ढलमा खर्च गरौं भनेको छु, यही बर्ष ढल हाल्ने योजना छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार बिष्णुमति र मनोहरा दुवै नदीको दुवै किनारामा पनि ढल विछ्याउने योजनाहरु समावेश गरिदिन सरकारी निकायहरुलाई घच्घच्याईरहेको छ । ‘उपत्यकाका सबै नदी किनारामा ढल विछ्याउनका लागि कार्यक्रम राखिदिन सरकारी निकायसँग पहल गरिरहेको छु’ उहाँले भन्नुभयो । उहाँका अनुसार हालका यी सबै योजना सफल भएमा आगामी चार/पाँच बर्षको दौरानमा सबै नदी किनारामा ढल हुनेछन् र त्यसो भएमा नदीमा ढल मिसिने छैन । त्यसपछि नदीबाट ठोस फोहोर निकाल्यौं भने नदी सफा हुनेछ ।
सफाई अभियान किन विफल हुन्छ ?
नदीको नाममा विगतमा सञ्चालित सफाई अभियानहरु सफल नुहुनुको कारण अभियन्ताको अहंता ठान्नुहुन्छ मुख्य सचिव लिलामणि पौडेल । अभियन्ता भएर लागेकाहरु नदीमा नपस्ने, अरुलाई अह्राउने, ठूलो मान्छेले फोहोर छुनलाई घिन मान्ने जस्ता कारणले अभियान सफल हुन नसकेको उहाँको तर्क छ ।
‘यो नगरपालिकाको कर्मचारीको काम हो भन्ने सम्झने, फोटो खिचाएर फेसबुकमा राखेर प्रचार गर्ने जस्ता कारणले विगतको अभियान विफल भएको हो’ उहाँले भन्नुभयो । यो अभियान चाहिं विगतमा जस्तो वीचैमा नतुहिने र यसलाई परियोजना वा कुनै कार्यक्रमको रुप नदिई शुद्ध अभियानकै रुपमा अगाडि बढाउने उहाँको योजना छ ।
‘कतिपयले त यसैको नाममा पैसा लिएर आउने र दुईचार वटा फोटो खिचाएको भरमा पचाए भन्ने पनि सुनेको हुँ, तर यो अभियानकै रुपमा अगाडि बढ्छ’ उहाँको प्रतिबद्धता थियो ।
वाग्मती सफाइ अभियानका केही तस्बिर हेर्नुहोस्
####
.jpg)








0 comments
Write Down Your Comment