टी पार्टी गर्दै राष्ट्रपतिले भने- स्थानीय निकायको चुनाव गर्नुस्
####good
२३ पुस, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले दलहरुले गरेको प्रतिवद्धता अनुसार एक वर्षभित्र संविधान जारी गर्न र स्थानीय निकायको चुनाव गर्न दलहरुलाई आग्रह गरेका छन् ।
शीतल निवासमा मंगलबार भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भने-आगामी एक वर्ष भित्रमा नयाँ संविधान जारी गर्ने तथा स्थानीय निकायको निर्वाचन गर्ने भनी चुनावका बेला आम मतदाता सामु गरेको वचनबद्धतालाई विशेष रुपमा सम्झन नयाँ संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग मेरो आग्रह छ ।’ दलहरुले आफ्ना चुनावी वाचा पालना गरेकोमा मात्र जनताले ठूलो उत्साहका साथ प्रदान गरेको अभिमतको कदर हुने उनले बताए ।
अन्तरिम संविधानको मर्मअनुरुप सहमतिको सरकार गठन गरी मुलुकलाई सुशासन र स्थिर सरकार दिन नयाँ संविधानसभामा चुनिएका दलहरुलाई सफलता मिलोस् भनी कामना गर्दछु
चुनाव सफलतापूर्वक सम्पन्न भएका खुशीयालीमा भन्दै गरिएको टी पार्टीमा उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, राजनीतिक दलका शीर्ष नेताहरू, संवैधानिक अंगका प्रमुखहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूलार्इ बोलाइएको थियो ।
लिखत सम्बोधनका क्रममा राष्ट्रपतिले विषम र चुनौतिपूर्ण परिस्थितिमा पनि चुनाव सफल तुल्याउन योगदान गर्ने आम नेपाली मतदाता बधाईका पात्र भएका बताए । ‘लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रति नेपाली जनताले दर्शाएको उत्साह, विश्वास र प्रतिबद्धता प्रशंसनीय छ । त्यसनिम्ति म सम्पूर्ण देशवासीप्रति विनम्रतापूर्वक आभार व्यक्त गर्दछु’- उनले भनेका छन् । सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीशको अध्यक्षतामा गठित मन्त्रिपरिषद्ले आफूलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै उनले मन्त्रिपरिषद् अध्यक्ष, मन्त्रीहरु, निर्वाचन आयोग, नेपाली सेना र प्रहरी लगायतलार्ए धन्यवाद दिए ।
निर्वाचनमा देशैभरि मतदाताहरुले दर्शाएको उत्साह र सहभागिता सबैका निम्ति सुखद आश्चर्य भएको भन्दै उनले भनेका छन्-’आम मतदातालाई त्यसरी जागृत गराउने शक्ति भनेका राजनीतिक दलहरु नै हुन् । राजनीतिक दलहरुले चुनावमा प्रदर्शन गरेको संयम, शालिन र मर्यादित आचरणले हाम्रो लोकतन्त्र मजबूत र परिपक्व हुँदै गएको संकेत गरेको छ । यो खुशीको कुरा हो ।’
राष्ट्रपतिले अन्तरिम सरकारले आफूलाई तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी मुलुकको राजनीतिलाई मूलमार्गमा पुनर्स्थापित गरिदिएको भन्दै अब राजनीतिलाई अगाडि बढाउने तथा विगतको संविधानसभाबाट भएका राम्रा कार्यहरुको जगेर्ना गर्दै निर्धारित समयमा मुलुकलाई नयाँ संविधान दिने जिम्मेवारी अब पुनस् दलहरुको काँधमा आएको बताए । उनले संविधान सभामा प्रतिनिधित्व नभएका दल, समुदाय र वर्गको भावना समेत नयाँ बन्ने संविधानमा सुनिश्चित ढंगबाट समेटिने व्यवस्था गर्नेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
राष्ट्रपतिले जनमतको कदर गर्दै सबै देशवासीका आशा-आकांक्षा, मत-अभिमत र सहमति-विमतिहरुलाई सार्वभौम संविधान सभामा उचित स्थान प्रदान गर्न, अन्तरिम संविधानको मर्मअनुरुप सहमतिको सरकार गठन गरी मुलुकलाई सुशासन र स्थिर सरकार दिन नयाँ संविधान सभामा चुनिएका दलहरुलाई सफलता मिलोस् भनी कामना गरेका छन् । उनले भने-’यो संविधानसभा आफ्नो उद्देश्य पूरा गर्न सफल होस भन्ने कामना गर्दछु ।’
पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसक्नु सबैका निम्ति खेद्को विषय भएको तर, सो सभा व्यर्थ भएको उनले बताए । ‘मुलुकमा गणतन्त्रात्मक शासन पद्धतिको जग बसाउने ऐतिहासिक महत्वको कार्य त्यही संविधानबाट सम्भव भएको हो । त्यसका अतिरिक्त माओवादीका लडाकू र तिनका हतियारको व्यवस्थापन गरी शान्ति प्रक्रियाको एउटा अत्यन्त जटील पक्षलाई सफलतापूर्वक टुंगोमा पुर्याउने कार्य पनि यही अवधिमा भएको तथ्यलाई विर्सन मिल्दैन’-उनेले भनेका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment