जाडो बिदामा लुम्बिनी
####good
बुद्धको अर्थ ब्युँझेको मानिस। तिलौराकोट दरबारको सुख त्यागेर उनी ब्युँझिए। लोभ, ईर्ष्या, घमण्ड, मोह र रिस त्यागेमात्र शान्ति मिल्ने ज्ञान बाँडे।बुद्ध जन्मथलोमा मायादेवी मन्दिर छ। मन्दिर वरपर विहारका भग्नावशेष छन्। दक्षिणपट्टि पिपल चौतारीमा बौद्धमन्त्र जपिरहेका भिक्षु देखिन्छन्। मन्दिरसँगै पुष्करिणी पोखरी छ। सँगै अशोक स्तम्भ। मौर्य सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ बुद्ध जन्मस्थलको प्रमाण हो। स्तम्भको शिलालेखमा भनिएको छ– यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको हो।
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले सन् १९७८ मा लुम्बिनीको गुरुयोजना बनाएका थिए। गुरुयोजनाअनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरेर त्यसलाई तीन खण्डमा बाँडिएको छ। उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचको विहार क्षेत्र र दक्षिणमा पवित्र उद्यान। तीन वर्ग माइलमा लुम्बिनी उत्तर–दक्षिण फैलेको छ।
पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिस्ट फाउन्डेसन मिलेर सन् १९९२–१९९६ सम्म लुम्बिनी उत्खनन गर्दा स्तम्भ र बुद्ध जन्मस्मारक शिला भेटिएको थियो। मन्दिरभित्र बुद्ध जन्मस्मारक शिला छ। शिला भेटिएपछि सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो। त्यसैले लुम्बिनीमा बुद्ध जन्मेका हुन् भन्नेमा शंका छैन।
स्मारक भएकै ठाउँ मास्तिरको मूर्तिले सिद्धार्थ गौतमको जन्मदृश्य झल्काउँछ। आमा मायादेवीले सहाराका लागि दाहिने हातले रूखको हाँगा समातेकी छन्। देब्रेपट्टि उनकी बहिनी प्रजापती उभिएकी छन् भने दुईतिर देवगणले स्वागत गरिरहेका र शिशु सिद्धार्थको मूर्ति बीचमा छ।
लुम्बिनीको बोधीवृक्षमुनि कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रूपमा सिद्धार्थ जन्मेका थिए। कपिलवस्तुको तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउ आइपुगेपछि सिद्धार्थ जन्माएकी थिइन्।
मायादेवी मन्दिरबाट बाहिर विहार क्षेत्रमा देश–देशका विहार छन्। त्यहाँ चिनियाँ, कोरियन, थाई, भियतनामी, जर्मन, म्यानमार, श्रीलंकालगायत देशका विहार छन्।
विहार क्षेत्रमै अखण्ड शान्तिदीप र लुम्बिनी संग्रहालय छ। मायादेवी मन्दिरलाई केन्द्रविन्दु मानेर बुद्धिस्ट सर्किट (लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह) घुम्न सकिन्छ। सबैतिर घुम्न सके राम्रो। होइन भने मायादेवी मन्दिर क्षेत्रमात्रै घुम्न पनि दुई रात छुट्टयाउनुपर्छ।
कसरी पुग्ने
काठमाडौं–लुम्बिनी ३२० किमि। काठमाडौंको नयाँ बसपार्कबाट सलिना ट्राभल्सको डिलक्स बस बिहान ८ बजे छुट्छ। भाडा ९८० रुपैयाँ। त्यसले साँझ ५ बजे लुम्बिनी पुर्याउँछ। साकुरा ट्राभल्सको एक्सप्रेस बस बिहान ७ बजे छुट्छ। भाडा ७०० रुपैयाँ। साँझ ४ बजे गन्तव्य पुर्याउँछ।
काठमाडौं–भैरहवा हवाई यात्रा ४० मिनेट। हवाई भाडा ५७ सय रुपैयाँ। भैरहवा–लुम्बिनी ट्याक्सीमा आधा घन्टा। भाडा ८०० रुपैयाँ। भैरहवा–लुम्बिनी २० किमि। भैरहवाबाट लुम्बिनी जाने गाडी आधा–आधा घन्टामा छुट्छन्।
होटलै होटल
लिलामणि शर्मा
सचिव, लुम्बिनी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ
लुम्बिनीमा बजेट, इकोनोमिक, स्टार सबैखाले होटल छन्। यहाँका २७ वटा होटलमा एकैरात १६ सयजना बास बस्न सक्छन्। कोठाको मूल्य ५ सयदेखि १२ हजार रुपैयाँसम्म पर्छ।
####
.jpg)





0 comments
Write Down Your Comment