नबिल बैंकको रकम लुट अनुसन्धानमा प्रहरी विफल
####good
धनगढी- नबिल बैंकको महेन्द्रनगर शाखाबाट पैसा बोकेर धनगढीतर्फ आइरहेको जिपलाई नियन्त्रणमा लिएर २ करोड ३० लाख रुपैयाँ लुट्ने लुटेरा पत्ता लगाउन प्रहरी असफल भएको छ। एक महिने अनुसन्धानबाट लुटेरा पत्ता लगाउन नसकेपछि प्रहरीले नयाँ छानबिन समिति गठन गरेर नयाँ शिराबाट घटनाको अनुसन्धान गर्ने तयारी गरेको बुझिएको छ। एक महिनाको अनुसन्धानले बैंकका चार कर्मचारीलाई भने सास्ती भएको छ। उनीहरु एक महिनादेखि घर फर्कन सकेका छैनन्।

बैंककै कर्मचारीको संलग्नतामा रकम लुटिएको अनुमान गरेर अनुसन्धान थालेको प्रहरीले एक महिना बितिसक्दा पनि लुटेराबारे भेउसम्म पाउन सकेको छैन। छानबिन समितिका संयोजक तथा कैलालीका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले अहिलेसम्मको अनुसन्धानले कुनै टुंगो लाग्न नसकेको बताए। 'विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं तर कुनै टंुंगोमा पुग्न सकिएको छैन,' उनले भने, ‘एउटा कोणबाट अनुसन्धान गरेर पत्ता नलागेपछि अर्को कोणबाट अनुसन्धान थाल्दैछौं।'
एक महिनाको अनुसन्धान असफल भएकाले प्रहरीले नयाँ ढंगले अनुसन्धान गर्ने तयारी गरेको बुझिएको छ। 'एक महिनाको अनुसन्धान असफल भयो। अब प्रहरीले नयाँ शिरावाट अनुसन्धान गर्ने तयारी गरिरहेको छ,' एक उच्च प्रहरी अधिकारीले बताए।
डिएसपी पण्डितको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समिति र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट आएको प्रहरी निरीक्षक नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरेको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको टोली १८ दिन अनुसन्धान गरेर काठमाडौं फर्केको कैलालीका प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए।
लुटेराको बारेमा अहिलेसम्म कुनै टुंगो नलागेकाले नयाँ ढंगले अनुसन्धान गरिने जोशीले बताए। 'घटना कैलालीमा घटे पनि यसको योजना कञ्चनपुरमा बनेको खुलेको छ। यसैले दुवै जिल्लाका प्रहरी मिलेरमात्र अनुसन्धान गर्न सकिन्छ,' उनले भने, ‘दुवै जिल्लाका प्रहरी रहेको छानबिन समिति गठन गरेर नयाँ ढंगले अनुसन्धान गर्नुपर्ने भएको छ। उक्त रकम लुट्ने मुख्य योजना काठमाडौं वा भारतमा बनेको हुनसक्ने उनले बताए।
सुरुमा गाडीमै रहेका कर्मचारीको संलग्नता रहेको अनुमान गरेर अनुसन्धान केन्द्रित गरेको प्रहरीले अहिले गाडीमा नभएका बैंकको माथिल्लो पदमा कार्यरत कर्मचारीको संलग्नतामा पेसेवर लुटेराले रकम लुटेको अनुमान गरेको छ।
महेन्द्रनगर नबिल बैंकको शाखा कार्यालयबाट धनगढीस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा जम्मा गर्नका लागि ल्याएको २ करोड ३० लाख ६० हजार गत मंसिर २५ गते ट्राफिकको पोसाकमा रहेका लुटेराले फिल्मी शैलीमा कैलालीको मालाखेती– ३, चौकीडाँडामा जिप नियन्त्रणमा लिएर लुटेका थिए। गाडीमा काठमाडौंबाट केही दिनका लागि आएका अडिटर शुक्रराज भट्टराई क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक दिलबहादुर चन्द थिए। प्रहरीले अनुसन्धानका लागि सम्पर्कमा बसिराख्न भनेकाले भट्टराईलगायत चार कर्मचारी एक महिनादेखि धनगढीमै बसेका छन्।
####




0 comments

Write Down Your Comment