पारसका हजुरबा भन्छन्- यो जीत सबै नेपालीको (भिडियोसहित)
####good
 २ चैत, काठमाडौं । ट्वान्टी २० विश्वकपमा नेपाली क्रिकेट टोलीले बंगालादेशमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदा काठमाडौंमा एकजना हजुरबा कम्ता खुसी थिएनन् ।  काठमाडौंको बुद्दनगरस्थित घरैमा बसेर नातिले गरेको बलिङ र ब्याटिङमा नजर डुलाइरहेका ६४ वषर्ीय प्रेमबहादुर खड्का नेपाली टिम विजयी भएपछि हर्षविभोर थिए । नेपाली टिमका कप्तान पारशले हजुरबा प्रेमबहादुरलाई आजको खेलमा पनि निराश पारेनन् । उनले कप्तानी पारी खेल्दै ३९ रन बनाउन सफल भए । नेपाली टिमका कप्तान खड्काको कप्तानीमा हङकङविरुद्ध जितको झण्डा गाडेपछि हजुरबाले यो जितको जश नेपाली टिमका सबै सदस्यलाई दिए । टस हारेर पहिले ब्याटिङमा नेपाल उत्रेदेखि हजुरबाको नजर टेलिभिनजको स्क्रिनबाट हटेको थिएन । नेपालले ब्याटिङ गरिरहँदा यति फराकिलो जीत नआएपनि नेपाली बहादुर युवाले जित्ने कुरामा भने प्रेमबहादुर विश्वस्त थिए । नाति पारसको सुख दुःखमा हरदम साथ दिने हजुरबाले प्रेमबहादुरले नेपाली क्रिकेट टोलीका कम्जोरी र सबल दुबै पक्षको केस्राकेस्रा केलाएका छन् । हङकङविरुद्धको आजको खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुबैमा सुधारिएको र सामूहिक प्रदर्शन गर्न सकेकाले जीत सम्भब भएको हजुरबाको तर्क छ । नेपालले जितेपछि अनलाइनखबरसँग कुरा गर्दै हजुरबाले पारससहित नेपाली टिमका १५ जना नाति सदस्यहरुका उत्तिकै मेहनेतले जित सम्भब भएको बताए ।

‘नेपाली टिमका १५ जना सदस्य मेरा नातिहरु हुन्’, हजुरबाले भने, ‘यो जितको श्रेय, खेलाडी, प्रशिक्षक पुबुदु दासानायके, पूर्व प्रशिक्षक रोय लुक डायस र जस्तोसुकै संकटमा पनि साथ दिने नेपाली क्रिकेट प्रेमीलाई जान्छ ।’ नाति पारसको कप्तानीमा भएको यो जितले गोरखालीको बहादुरी झल्किएको बतउँदै हजुरबाले आजकै जस्तो उत्साह कायम राखेर जानसके अफगानिस्तान र बंगलादेशलाई हराउन कठिन नपर्ने बताए । ‘आजकै लयमा खेल्न सके बंगलादेश र अफगानिस्तानमाथि नातिहरुले बाजी मार्न सक्छन’, हजुरबाले भने, ‘यो जीतले नातिहरुमा आत्मबल बढेको छ, त्यसलाई जोगाएर सामूहिक खेल देखाउन सके समूह विजेता बनेर सुपर टेनमा प्रवेश गर्न गाह्रो छैन ।

’ नाति पारसको कप्तानीमा नेपाली क्रिकेट टिमले विभिन्न आरोह अबरोह पार गर्दै विश्कपमा विजयी यात्रा थालेको छ । भौतिक पूर्वाधार तथा एउटा व्यवस्थित क्रिकेट मैदान समेत नभएको अवस्थामा नेपाली क्रिकेट टिमको सफलता चानचुने लागेको छैन हजुरबालाई । ‘नेपाली क्रिकेट टिमका सबै नातिहरुले भविष्यको प्रवाह नगरी रातदिन मेहनेत गरिरहे’, हजुरबाले भने, ‘पछिल्लो समय सरकारले पनि नातिहरुको मेहनेतको कदर गर्न थालेकाले नेपाली क्रिकेटले इतिहास रच्न सफल भएको हो ।’ मुलुकमा जारी राजनीतिक अस्थिरताबाट वाक्क नेपाली दाजुभाइलाई हँसाउने गतिलो माध्यम क्रिकेट बनेको बताउँदै हजुरबाले क्रिकेटले विश्वमै गोरखालीको शान बढाएको बताए । ‘नेपालीलाई एकसूत्रमा बाँध्ने माध्यम क्रिकेट बनेको छ, सबै दाजुभाइ जीतको खुसीमा रमाएका छन्’, हजरबाले सुनाए, ‘यो खुसीलाई दीगो बनाइराख्न सरकारले अब खेलक्षेत्रमा विशेष ध्यान दिनु जरुरी छ ।
####




0 comments

Write Down Your Comment