नयाँ शक्ति बन्यो नेपाल
####good
चटगाउँ (बंगलादेश), चैत्र ८ - नेपाली क्रिकेटले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपअघि धेरै ठूलो सपना पालेको थिएन । पहिलो पटक विश्वकपमा सहभागी नेपालको मुख्य लक्ष्य नेपाली क्रिकेटलाई विश्वसामु चिनाउनु थियो ।प्रतियोगिताअघि ढाकाको पान प्यासेफिक सोनारगाउँ होटलमा सञ्चारकर्मीसामु राष्ट्रिय टिमका कप्तान पारस खड्का आत्मविश्वासी ढंगले प्रस्तुत हुँदै यही लक्ष्यमाथि प्रकाश पार्दै थिए । प्रतियोगिताको पहिलो चरणमा दुई खेल जित्दासमेत नेटरनरेटको आधारमा पछि पर्दै नेपाल सुपरटेनमा उक्लन सकेन । त्यसो हुँदा पनि नेपाली क्रिकेटले विश्वलाई आफ्नो परिचय मात्र दिएन, एसोसिएट्समध्ये अब्बल भएको प्रमाणित गर्यो ।
न्युजिल्यान्डमा आईसीसी वान-डे विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको महिना दिन बित्दैछ । ट्वान्टी-ट्वान्टी यात्राबाट त्यसको पीडा स्वात्तै हराएको छ ।
यूएईमा साता लामो अन्तिम अभ्यासमा नेदरल्यान्ड्स र यूएईसँग अभ्यास खेल खेलेको नेपाल सीधै बंगलादेश हानिएको थियो । बंगलादेशको फतुल्लाहमा यूएई र आयरल्यान्डसँग थप दुई अभ्यास खेलमा पराजित हुँदाको नमज्जा विश्वकपमा पटक्कै दोहोरिएन ।
ती पराजयबाट कमजोरी पत्ता लागेको, आत्मविश्वासमा कुनै कमी नआएको कप्तान खड्काले बताएका थिए । नभन्दै चटगाउँको
जोहर अहमद चौधरी स्टेडियमका तीनै खेलमा नेपाली टोली आत्मविश्वासी देखियो । अनि
दुईमा सफलता ।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको नेपाली क्रिकेट सन् २००७ को एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटदेखि यो छोटकरी विधामा सहभागी हुन थालेको हो । सन् २०१२ को आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हासिल गरेपछि विश्वकप खेल्ने सपना दुई वर्ष पछि सारेको नेपालले यसपटक एसीसी ट्वान्टी-ट्वान्टी र आईसीसी ट्वान्टी-ट्वान्टी छनोट दुवैमा अब्बल प्रदर्शन गरेको थियो । त्यसबाटै विश्वकप योग्यता सावित भएको थियो ।
कप्तान खड्का हङकङविरुद्धको पहिलो खेलमा प्राप्त जितलाई ऐतिहासिक भन्छन् । देशमा होलीको धुमधाम चलिरहँदा उनको टोलीले उक्त जितको उपहार दिएको थियो ।
'क्रिकेटले नेपाललाई एकसूत्रमा बाँधेको छ भने यो विजयले त्यसलाई अझ मजबुत बनाउनेछ,' खेलपछि उनले भनेका थिए ।
पहिलो खेलमा शक्ति गौचन र वसन्त रेग्मीको महत्त्वपूर्ण भूमिका रह्यो । शक्ति नौ रनमा तीन विकेटका लागि 'म्यान अफ द म्याच' पनि रहे । प्रतियोगिता भर वसन्त र शक्तिले समान पाँच विकेट लिए । त्यस्तै बलरद्वय सोमपाल कामी र जितेन्द्र मुखियाले चार-चार विकेट लिए । हङकङविरुद्ध ज्ञानेन्द्र मल्ल अर्धशतक बनाउन दुई रनले चुके ।
यस पटक सुवास खकुरेल र सागर पुनको प्रारम्भिक जोडी खुबै जम्यो । उनीहरूले नेपाली ब्याटिङमाथिको भरोसालाई
दरिलो पारे ।
दोस्रो खेल विशेष थियो । हङकङलाई फराकिलो अन्तरले जितेर आत्मविश्वासी बनेको नेपाल पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको सामना गर्दै थियो । नेपालले गुमाउनु केही थिएन । बिनादबाब खेल्दै बंगलादेशसँग साहसिक र बहादुरीपूर्ण प्रदर्शन गर्दा सुपरटेनको सम्भावना जीवित रह्यो । तर टसले साथ दिएन । बंगलादेशले पहिले ब्याटिङ गर्नुको फाइदा उठायो, आठ विकेटको जित हासिल गर्यो । नेपालले खराब ब्याटिङ गरेन, पूरै ओभर खेल्दै १ सय २६ रन बनायो ।
नेपाली प्रशिक्षक पुबुदु दसानायके निराश भएनन् । बरु नेपाली खेलाडीलाई त्यो अनुभवबाट सिक्न प्रेरित गरे । 'नेपाली खेलाडी युवा छन् र उनीहरूले सिक्ने यस्तै खेलबाट हो,' उनले भने । बंगलादेशी खेलाडीले नेपाली प्रदर्शनको प्रशंसा गरे । म्यान अफ द म्याच अमिन हुसेनले एसोसिएट्सका रूपमा नेपाल आदर्श बनेको टिप्पणी गरे ।
तेस्रो खेल साँच्चै ऐतिहासिक थियो । अफगानिस्तानसँगको भेट नेपालका लागि सधैं महत्त्वपूर्ण हुने गर्छ । किनभने ट्वान्टी-ट्वान्टीमा नेपालले एसोसिएट्समध्ये एसियामा नहराएको एउटै राष्ट्र हो अफगानिस्तान । अझ विश्वकपको भेट र त्यसको नतिजा महत्त्वपूर्ण हुने गर्छ ।
एकआपसमा सातौं पटक भिड्न लागेका दुई देशको स्पर्धा पृष्ठभूमिमा अफगानिस्तान लगातार हावी थियो । यो पटक नेपालले क्रमभंग गर्दै नौ रनको सनसनीपूर्ण जित हात लगायो ।
प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल ५६ रन बनाउँदै विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बने । उनले तीन खेलमा ८६ रन बनाएका थिए । शरद भेषवाकरले तीन खेलमा सर्वाधिक ९१ रन बनाए भने पारस र ज्ञानेन्द्रले समान ८३ रन जोडे ।
ट्वान्टी-ट्वान्टी विश्वकपको यस्तो प्रेरणादायी अनुभवपछि कप्तान खड्काले एउटा सार्थक अभिव्यक्ति दिएका छन् । 'नेपाली क्रिकेटले एउटा चक्र पूरा गरेको छ, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ,' उनले भने, 'यो जित सम्पूर्ण नेपालीमा समर्पित छ । हामी नेपाल र नेपालीका लागि खेल्छौं र जितका लागि प्रयास गर्छौं ।'
####
.jpg)



0 comments
Write Down Your Comment