चिनी नेपालीको तितो जीवन यात्रा
####good
जेठी छोरी जन्मिदासम्म राम्रै ब्यबहार गरेका पतिले पुनः छोरी नै जन्माएपछि छोडेर हिँडे । जम्मै ७ दिनकी सुत्केरी हुँदा पति नरेन्द्रले चिनी नवजात छोरी छोडेर हिँडेका थिए । गुलियो नाम भएकी चिनीमाथि छोरो नजन्माएको भन्दै उनका पति ३५ वर्षीय नरेन्द्र नेपालीले पनि छाडेर हिँडेपछि कसैले नभोगेको तितो कष्ट भोग्नुपर्यो । कान्छी छोरीको न्वारानै नगरी पति नरेन्द्र विदेशीए । चल अचल सम्पत्ति केही नभएकी चिनी मालिकले दिएको खलिया वापतको अन्नले छोरीको पेट पालिरहेकी थिइन् । अपाङ्ग छोरी जन्माएको तथा छोरा नजन्माएको भन्दै सुत्केरीअवस्थामै छोडेर हिँडेका पति अहिलेसम्म घर फर्केर नआएपछि उनी मागेर गुजारा चलाउन बाध्य छिन् । दुई वर्षदेखि पति घर नफर्केपछि चिनीले दुईजना छोरीको पालनपोषण गर आफ्नो पेट भर्न कम्ता भुक्तमान गर्नुपरेको छैन ।
आफ्नो हैरानीबारे उनले आँसु खसाल्दै जिल्ला बाल कल्याण समितिका अधिकृत सर्पलाल गिरीलाई आफ्नो समस्या सुनाइन् । बालअधिकार अधिकृत गिरीले जिल्ला स्वास्थ्य कार्यालयमा आँखा जाँच गर्न लगाएर चिकित्सकको सल्लाह लिएर आएमा सहयोग गर्ने बताएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीसँग समन्वय गरेर दुबै छोरीको उपचार गर्न पठाइएको थियो । स्वास्थ्य जाँच गरेपछि जन्मजात आँखा नदेख्ने आठ वर्षकी जेठी छोरी जालिमा र २ वर्षकी सुजाता नेपालीमा मोतीविन्दु भएको पत्ता लाग्यो । आँखा जाँच गराउन र अपाङ्ग परिचयपत्रका लागि सिफारिस लिन जिल्ला स्वास्थ्यमा आएपछि जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जन्मजात मोती विन्दु भएको बताएका थिए । आँखा जाँचका क्रममा दवाडीले मार्तडीमा आखाँ शिविर बसेका बेला उपचार हुने जानकारी दिएका थिए । जिल्ला सदरमुकाम मार्तडीमा पुस १० र ११ गते बसेको आँखा शिविरमा डा. दिपक खड्कासमेतको टिमले दुई बालिकाको आँखा जाँच गरेको थियो ।उपचारमा संलग्न चिकित्सकले आँखा अस्पताल गेटा धनगढीमा रिफर गरी उपचार हुने बताएपछि चिनीले सन्तोषको श्वास फेर्न पाइन् । मोतियाबिन्दुको उपचार हुने भएपछि जिल्ला बाल कल्याण समिति, बाजुराले दुबै बालिकाकोे उपचार गर्न १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गर्यो । सो कार्यालयले अन्य निकायलाई पनि सहयोगका लागि सिफारिस गरेपछि जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत तथा निमित्त कार्यालय प्रमुख ज्ञानेन्द्र दवाडीले सहयोग अभियान चलाएका थिए । उक्त उपचार सहयोग कोषमा कार्यालय, संघसंस्था, कर्मचारी र व्यापारीले सहयोग गरे । दुवै बालिकालाई आँखाको उपचार गर्न पुस २० गते पठाइएको थियो । गेटा आँखा अस्पताल, धनगढीमा डा दिपक खड्काको टिमले उपचार गरी दुवै बालिकाको एक-एकवटा आँखाको अपरेशन गरेर संसार देख्ने बनाइदिएका छन् । दवै आँखाको अपरेशन एकैपटक नहुने भएकोले एक-एक आँखाको मात्र अपरेशन गरिएको डा. दिपक खड्काले बताए । डेढ महिनापछि दुवै बालिकाको अर्को आँखाको अपरेशन हुने छ ।
यसका लागि थप सहयोग रकम आवश्यक छ । दुई वर्ष अघि कोल्टीमा बसेको शिविरमा आखा जाँच गराउँदा दुईवटा नानी भएकाले उपचारका लागि राम्रो ठाउँमा लानुपर्ने भनेपछि खर्च अभावमा चिनीले छोरीहरुलाई संसार देखाउन पाएकी थिइनन् । छोरो नजन्माएको झोंकमा घर छोडेका पतिले खर्च नपठाई सम्पर्कविहीन भएपछि चिनी दुबै छोरीलाई स्याहारेर अर्काको गोठमा बस्दैै आएकी थिइन् । छोरीहरुले आँखा देख्न थालेपछि भने उनका नयाँ खुसी आएको छ । दुवै छोरीले एक एक आँखाले संसार चिहाउन थालेपछि आमा छोरीले खुसीका आँसुको भेल बगाए । आठ बर्षकी जालिमा जन्म दिने आमाको अनुहार र संसार देख्न नपाएकोमा चिन्तित थिइन् । उपचारपछि आमाको अनुहार र संसार देखेपछि खुशी र पिडाले आँसु झार्दै सहयोगीहरु र डाक्टरलाई चिकित्सकलाई धन्यवाद दिँदै आफ्ना लागि उनीहरु भगवान भएको बताइन् । चन्दा उठाइएको रकम सकिएपछि छोरीहरुका थप एक एक आँखाले संसार देखाउन डेढ महिनापछि अपरेशन गर्नका लागि आवश्यक रकम पाउने आशमा छिन् चिनी । यी नानीहरुलाई सहयोग गर्ने हातहरुका लागि जिल्ला बाल कल्याण समितिको चल्ती खाता नम्बर ४९३/५ मा रकम जम्मा गरिदिन जिल्ला चिनीले आग्रह गरेकी छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment