११ महिनामा साढे चार लाख बिदेशिए
####good
काठमाडौं : गत वर्षको ११ महिना अवधिमा चार लाख ४६ हजार युवा वैदेशिक रोजगारीमा गएका छन्। यो व्यक्तिगत, संस्थागत, वैधानिकीकरण गरी काम गर्न विदेश जानेको तथ्यांक हो। पहिला श्रम स्वीकृति नलिईकन गएका कामदार बिदामा आएर पुन: सरकारी अनुमति लिएर जान पाउने व्यवस्था छ। यसलाई सरकारले वैधानिकीकरण भन्ने गरेको छ।



२०७० चैत महिनाको तथ्यांक भने सार्वजनिक हुन बाँकी छ। बिदेसिनेमा पुरुषको संख्या अत्यधिक छ। समीक्षा अवधिमा बिदेसिएकामध्ये पुरुषको संख्यामात्रै झन्डै चार लाख छ। महिलाको संख्या भने करिब २५ हजार छ।

सबैभन्दा बढी युवा असार महिनामा विदेश गएका छन्। सरकारी तथ्यांकअनुसार असारमा मात्रै ५० हजार चार सय ५३ जना युवा काम गर्न बिदेसिएका हुन्, जसमा पुरुषको संख्या ४७ हजार आठ सय ६२ र महिलाको दुई हजार पाँच सय ९१ छ। त्यसपछि दोस्रोमा पुस परेको छ। सो महिनामा ५० हजार ३२ जना काम गर्न बिदेसिएका छन्।

गत वर्ष सबैभन्दा कम कामदार भदौमा बिदेसिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार भदौमा जम्मा २४ हजार एक सय ६४ जना मात्र बिदेसिएका हुन्। तथ्यांक सार्वजनिक भएका महिनाका आधारमा यो २०७० सालकै सबैभन्दा कम संख्या हो। भदौमा पुरुष कामदार २२ हजार आठ सय २३ जना र महिला एक हजार तीन सय ४१ जना बिदेसिएका थिए। यसैगरी कात्तिकमा ३१ हजार नौ सय ४९ जना युवा विदेश गएको विभागले जानकारी दिएको छ।

बिदेसिनेको तथ्यांकले आन्तरिक बजारमा रोजगारीका अवसर वृद्धि हुन नसकेको संकेत गरेको छ। बर्सेनि कामको खोजीमा विदेशी मुलुकमा जाने क्रम बढ्दो छ। आर्थिक वर्ष २०६९/७० मा कुल चार लाख ५३ हजार पाँच सय ४३ जना युवा कामको खोजीमा विदेश गएका थिए। चालू आर्थिक वर्ष २०७०/७१ को आठ महिनामा मात्रै तीन लाखभन्दा बढी विदेश गइसकेका छन्। आर्थिक वर्षका आधारमा हिसाब गर्दा अझै चार महिनाको विवरणआउन बाँकी रहेकाले बिदेसिने संख्या गत आवको भन्दा निकै बढ्न सक्ने तथ्यांकले देखाएको छ।

बिदेसिनेमध्ये अधिकांशको गन्तव्य मलेसिया र खाडी मुलुक नै हो। मलेसियामा बहुराष्ट्रिय कम्पनी स्थापना हुने क्रम बढेकाले त्यहाँ सजिलै काम पाइन्छ। पूर्वाधार विस्तार, उद्योग, पर्यटनलगायतका क्षेत्रमा धेरै कामदार माग भइरहेको छ। यसैगरी कतारमा आगामी सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता हुने भएकाले त्यसको पूर्वाधार विस्तारका लागि विदेशी कामदारको माग बढ्दो छ।

बिदेसिनेमध्ये करिब ७९ प्रतिशत नेपाली कामदार अदक्ष छन्। बिदेसिएका कामदारले पठाएको रेमिट्यान्सले आन्तरिक अर्थतन्त्रमा तत्काल सकारात्मक प्रभाव पारे पनि दीर्घकालमा मुलुकका लागि हानि हुने अर्थविद्ले बताउँदै आएका छन्। हाल ३२ लाख युवा विदेशमा काम गरिरहेका छन्। कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २२ प्रतिशत छ।

####




0 comments

Write Down Your Comment