कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत
####good
२ बैशाख, धरान । सुनसरीको बराहक्षेत्रमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा मंगलबार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजभक्त सर्वसाधारण र धार्मिक गुरुले भव्य स्वागत गरे ।
सोमबारै धरान आएर निर्वाणा कन्ट्री क्लबमा बसेका उनले मंगलबार बिहान चतरा पुगेर ‘शाही स्नान’ गरे । मंगलबार भारतबाट आएका नाङ्गा बाबाहरुले पनि निर्वस्त्र स्नान गरे । तर, उनीहरुले स्नान गर्ने क्षेत्र ज्ञानेन्द्रको भन्दा अलि टाढा थियो ।

ज्ञानेन्द्रसह भागी शाही स्नान विशेष स्नान भएको कुम्भमेला आयोजक समितिका सचिव ओमकुमार शर्माले बताए । कुम्भमेला जोगी र बाबाहरुको महोत्सव भएकाले पहिलोपटक मंगलबार उनीहरु शाही स्नानमा सहभागी भएकाले यो महत्वपूर्ण भएको उनको भनाइ थियो । हात्ती, घोडा र बाजागाजासहित भव्यरुपमा ज्ञानेन्द्र र नाङ्गाबाबाले छुट्टा छुट्टै स्थानमा स्नान गरेका थिए ।
सचिव शर्माले भने ‘नाङ्गा बाबाहरु निर्वस्त्र नुहाउँछन्, त्यसैले उनीहरुले पूर्वराजा र बालसन्त भन्दा टाढाको अलग्गै स्थानमा नुहाएका हुन् । कुम्भमेलाको मर्मअनुसार यो पहिलो शाही स्नान हो ।’
अर्का ‘महाराज’ लाई हतियारधारी बडीगार्ड
कुम्भमेलाका हर्ताकर्ता जगतगुरु बालसन्त मोहनशरण देवाचार्यलाई उनका भक्तहरु ‘महाराज’ भनेर सम्वोधन गर्छन् । सोमबार उनी भारतबाट आएका धर्मगुरुको वीचमा घेरिएर पूजापाठ गर्न व्यस्त थिए । उनका वरिपरि प्रहरीको टोली थियो भने उनीसँगै सादा पोशाकमा कम्मरमा पेस्तोल भिरेका बडीगार्ड समेत थिए ।

बालसन्त वरिपरि वृद्धवृद्धाहरुको भीड थियो । खलखली पसीना निकालेर वृद्धवृद्धा तातोघाममा उभिएका थिए, उनै बडीगार्ड बालसन्त ‘महाराज’ लाई छाता ओढाइरहेका थिए । वरिपरिका वृद्धवृद्धाभन्दा आधा उमेरका बालसन्तलाई घामबाट जोगाउन छाता ओढाउनेहरुले तातो घाममा हिँड्न नसकेका वृद्धवृद्धालाई भने वास्ता गरेनन् ।
ती हतियारधारी बडिगार्डले वृद्धवृद्धालाई पन्छाउँदै बालसन्तलाई जुरुक्कै बोकेर आश्रमतिर लगेका थिए ।
मंगलबार ज्ञानेन्द्र आउने भएपछि कुम्भमेलामा सोमबारदेखि नै ठूलो भीड लागेको थियो । ज्ञानेन्द्रको स्वागत गर्न नाङ्गाबाबाहरु धुनी जगाएर बसेका थिए भने हात्तीहरु स्वागतका लागि अघिल्लै दिन ल्याइएका थिए । मेलास्थलमा प्रहरी र सादा पोशाकका हतियारधारी सुरक्षाकर्मी समेत खटिएका थिए ।

####




,

0 comments

Write Down Your Comment