भर्‍याङ भाँच्चिदा पुर्‍यो हिमपहिरोले, १४ को मृत्य ४ घाइते
####good
काठमाडौं : सगरमाथा आधार शिविरबाट दोस्रो शिविरतर्फ जान ७० जनाभन्दा बढीको समूह शुक्रबार बिहान पौने चार बजे उकालो लागिसकेको थियो। सबेरै खुम्बु आइसफलको अप्ठ्यारो भाग पार गरेर पाखामा पुग्ने उनीहरूको योजना भर्‍याङ भाँचिएपछि चकनाचुर भयो।


खुम्बु आइसफलको भर्‍याङ भाँच्चिँदा दोस्रो शिविरतर्फ हिँडेको समूह त्यहीं रोकियो। भर्‍याङ भाँचिनुअघि पारी तरेको टोली माथि उक्लिसकेको थियो। अर्को टोली निकै पछाडि थियो। अचानक लोला साइटबाट हिउँका ढिक्का झर्न थालेपछि भर्‍याङ कुरिरहेको समूह एकै ठाउँमा पुरियो र १४ जनाको ज्यान गयो। घटनामा चारजना घाइते भएका छन्। केहीलाई हिमपहिरोले बगाएको थियो।

हिमाल आरोहण गर्ने समयमा भएको यो दुर्घटना सगरमाथा क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो हो। सिम्रिक एअरको माउन्टेन फ्लाइटमा गएका क्याप्टेन सुरेन्द्र पौडेलले लाम लागेर हिँडेका आरोही एकैछिनमा अस्तव्यस्त भएको देखेपछि नागरिक उड्डयन प्राधिकरणलाई खबर गरेका थिए।

पाँच हजार नौ सय मिटर उचाइको खुम्बु आइसफलमा करिब ३० वटा भर्‍याङ ल

गाइएको छ। 'भाँच्चिएको भर्‍याङ मर्मत गर्न निक्कै समय लाग्यो। त्यतिबेलासम्म हिउँका ढिक्का झर्न थालिसकेका थिए', दोस्रो शिविरतर्फ जाँदै गरेका नाम्ग्या शेर्पाले सगरमाथा आधार शिविरबाट अन्नपूर्णसँग भने। उनका अनुसार भाँच्चिएको भर्‍याङ पार गर्नासाथ हिउँको ढिस्को झर्न थालिसकेको थियो।

'मभन्दा पछाडिका साथीलाई बगायो, म मुस्किलले बाँचें', शेर्पाले भने। ठूलो हिमपहिरो आएपछि उनीहरू सबै एकैठाउँमा जम्मा भएका थिए। 'हेर्दाहेर्दै यति ठूलो पहिरो आयो, केही सोच्नै सकिएन', हिमपहिरोमा परी उद्धार गरिएका दावा टासी शेर्पाले भने, 'मैले थाहा पाउँदा शरीर हिउँले पुरेको थियो, अरू कता पुगे थाहा पाइनँ।'

शेर्पाहरूको यो समूह दोस्रो शिविर खडा गर्न त्यसतर्फ जाँदै थियो। आरोहणसम्बन्धी विभिन्न कम्पनीका लागि काम गर्ने उनीहरू शुक्रबार दोस्रो शिविर दुई पुगेर आधार शिविर झर्ने योजनामा थिए। आधार शिविरबाट सबै एकसाथ निस्किएका उनीहरूमध्ये केही दोस्रो शिविरमै बसेका छन्। दुर्घटनास्थलभन्दा तल रहेका सबै व्यक्ति आधार शिविर झरिसकेको जानकारी अल्पाइन एभरेस्ट गाइडका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले दिए।

हिमपहिरोमा परी हिमालयन गाइडका लाक्पा तेन्जिङ शेर्पा, छिरिङ वाङ्छु शेर्पा, फुर्वा वाङ्दल शेर्पा, अल्पाइन एभरेस्ट गाइडका दोर्जे खत्री, थेन दोर्जी शेर्पा र फुरतेम्बा शेर्पाको मृत्यु भएको छ। त्यसैगरी सांग्रिला नेपालका मिङ्मा नुरु शेर्पा, दोर्जी शेर्पा, आङछिरिङ शेर्पा, निमा शेर्पाको मृत्यु भएको छ।



सेभेन समिट ट्रेक्सका पासाङ कर्मा शेर्पा र हिमायलय स्टे ट्रेक्सका आशान तामाङको मृत्यु भएको पुष्टि पर्यटन मन्त्रालयले गरेको छ। सेभेन समिटका आङकाजी शेर्पा, प्रेमतेन्जी शेर्पा, आशबहादुर गुरुङ र सांग्रिला नेपालका तेन्जिङ चोक्तार शेर्पा हराइरहेका छन्। १२ जनाको शव लुक्ला ल्याइएको छ भने अरूको उद्धार गर्न बाँकी छ।

शव लिन गएको नेपाली एमआई १७ हेलिकोप्टर बिग्रिएर लुक्लामै थन्किएको छ। मृत्यु भएका मध्ये पाँच जनाको शव शनिबार बिहान काठमाडौं ल्याइपुर्‍याइको छ।*

सिम्रिक एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले सगरमाथा आरोही र शेर्पाको उद्धारमा सिम्रिक एअरले विज्ञतासहितको योगदान पुर्‍याउँदै आएको बताए। उनले सिम्रिकका पाइलट र उद्धार विज्ञले स्विट्जरल्यान्डमा तालिम लिएर प्राप्त गरेको सीप नेपालका हिमाली क्षेत्रमा भएका दुर्घटनाको उद्धारमा प्रयोग गरिरहेको बताए। उनले भने, 'यसैको परिणाम हामीले यो उद्धार पनि सफलताका साथ गर्न सक्यौं।'

दोस्रो शिविरमा रेस्टुराँ, हिटिङ सिस्टम तथा शिविरका लागि चाहिने विभिन्न सामग्री र औजार बोकेर शेर्पा टोली उकालो लागेको थियो। शिविर बनाएपछि आरोहीहरू त्यहीं बसेर आरोहण अभ्यास गर्छन्। सगरमाथामा आएको यो विपत्तिपछि आरोहणको तयारीमा हिँडेको टोली त्रसित भएको छ।

यसैबीच सरकारले हिमपहिरोमा परी मृत्यु भएका परिवारलाई किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

सगरमाथा क्षेत्रमा आएको हिमपहिरो अहिलेसम्मकै ठूलो हो। यसअघि सन् १९९६ मे ११ मा झरेको हिमपहिरोमा आठजना आरोहीको मृत्यु भएको थियो। सन् १९७० मा आएको पहिरोमा परी ६ जना नेपालीको ज्यान गएको थियो। सन् १९५३ यता पाँच हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। यस अवधिमा दुई सय ५० भन्दा बढीको आरोहणका क्रममा मृत्यु भएको छ।
किन जान्छ हिमपहिरो

जमेर बसेको हिउँ तापक्रम बढ्न थालेपछि पग्लिएर झर्छ र पहिरोको रूप लिन्छ। हिउँको सानो ढिस्को झरे पनि त्यसले अरू हिउँका ढिक्का लडाउँदै ठूलो आकार लिन्छ। विज्ञहरूले जलवायु परिवर्तनकै कारण हिमपहिरो झर्ने बताएका छन्।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिउँ पग्लिने क्रम बढेको छ। हिमाली क्षेत्रमा विश्वमै सबैभन्दा छिटो तापक्रम वृद्धि भइरहेको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीसीसी) को प्रतिवेदनमा उल्लेख छ। सगरमाथा क्षेत्रमा हिउँ पग्लिएर हिमनदी बन्ने क्रमसमेत बढेको छ। २१ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले पछिल्ला वर्षमा सगरमाथामा हिउँ पग्निले क्रम बढेको बताए।

####




,

0 comments

Write Down Your Comment