विराटनगरका धारामा लेदो पानी
####good
विराटनगर : विराटनगरका उपभोक्ताले खानेपानी संस्थानले वितरण गरेको धाराबाट आएको लेदो मिसिएको फोहोर पानी बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई बुझाएका छन्। धाराको पानी मिनलरवाटरको बोतलमा थापेर गएका उपभोक्ताले लेदोसहितको पानी प्रजिअ कार्कीलाई बुझाउँदै समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरेका छन्। शुद्ध र पर्याप्त पिउने पानीको व्यवस्था गर्नुपर्ने माग गर्दै विराटनगर १० का घरघरबाट नाराजुलुस गरेर निस्किएका उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअलाई फोहोर पानीले भरिएको बोतल बुझाएका हुन्।

खानेपानी संस्थान विराटनगर शाखाका प्रमुख सन्तोषकुमार रौनियार केही दिनदेखि बिदामा छन्। खानेपानीका विषयमा धेरै समस्या आइरहेका बेला रौनियार कार्यालय छाडेर बिदामा गएपछि प्रशासनले उनलाई बुधबार नै स्पष्टीकरण सोधेको छ। प्रजिअ कार्कीले रौनियारलाई बिनाजानकारी बिदामा गएको भन्दै फोनबाटै झपारे। उनलाई बिहीबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रजिअ कार्कीले बताए।

उपभोक्ताले फोहोर पानीले भरिएको बोतल प्रजिअलाई बुझाइरहँदा नेपाल खानेपानी संस्थान विराटनगर शाखाका निमित्त प्रमुख रत्नप्रसाद राजवंशी पनि उपस्थित थिए। प्रजिअ कार्कीले तत्काल समस्या समाधान गर्न निमित्त प्रमुख राजवंशीलाई निर्देशन दिंदै आइन्दा उपभोक्ता यस्तो समस्या लिएर आए कारबाही गर्नेसम्मको चेतावनी दिए।

खानेपानी संस्थानको चरम लापरबाहीका कारण विराटनगरमा वितरण गरिएको खानेपानी व्यवस्थित र प्रभावकारी रूपमा वितरण हुन सकिरहेको छैन। व्यवस्थित रूपमा पानी वितरण हुन नसक्दा उपभोक्ता फोहोर र लेदोसहितको पानी पिउन बाध्य छन्। फोहोर पानीका कारण उपभोक्तामा जन्डिस, झापाडापखाला, रुघाखोकीलगायतका समस्या देखिएको चिकित्सकले बताएका छन्।

'धारामा आएको पानी हेर्दा खानेपानी संस्थानको चरम लापरबाहीको पुष्टि हुन्छ', उपभोक्तावादी संस्था पब्लिक फोरमका सहसचिव कुसकुमार ताम्राकारले भने, 'पर्याप्त पानी आउँदैन, आए पनि लेदो मात्र आउँछ। त्यस्तो पानी पिउन उपभोक्ता बाध्य छन्।' 'खानेपानी संस्थानले वितरण गरेको पानी नै यति दूषित भएपछि कहाँबाट शुद्ध पानीको आस गर्ने', उनले भने।

यसैबीच शुद्ध पिउने पानी उपलब्ध गराउनुपर्ने माग गर्दै विराटनगर स्थित नेपाल खानेपानी संस्थान शाखा कार्यालयमा पुगेका विराटनगर १० का उपभोक्ताले बुधबार कार्यालयमा तोडफोड गरेका छन्। तोडफोडबाट कार्यालयको हेल्प डेस्क, झ्याल र ढोकाका सिसा फुटेका छन्। खानेपानी संस्थान पुगेको उपभोक्ताको भीडले कार्यालयप्रमुख सन्तोषकुमार रौनियारको नेम प्लेट उक्काएर फ्यालिदिएका छन्।

खानेपानी संस्थानमा पुगेका उपभोक्ता कार्यालयप्रमुख र अन्य कर्मचारी कार्यालयमा नभेटेपछि उत्तेजित बनेका थिए। तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल र विराटनगर १० का मधु तिवारीलाई नियन्त्रणमा लिई तीन घन्टापछि छाडेको छ।

खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका निमित्त प्रमुख रत्नप्रसाद राजवंशीले खानेपानी वितरणमा देखिएको समस्या समाधान गर्न पहल थालिएको बताए। खानेपानी संस्थानले विराटनगरमा ४० वर्षअघि वितरण गरेको खानेपानीको पाइपलाइन अझैसम्म मर्मतसम्भार हुन सकेको छैन। 'पानीको उत्पादन शुद्ध पानी भइरहेको छ', निमित्त प्रमुख राजवंशीले भने, 'पुराना पाइप भएका कारण वितरणमा केही समस्या देखिएको छ।'

पुराना पाइप फुटेर त्यसमा ढल मिसिएको कारण पनि पानी दूषित भएको हुन सक्ने उनले बताए। विराटनगरमा दैनिक एक करोड ५० लाख लिटर पानीको माग भए पनि दैनिक ९० लाख लिटर मात्र आपूर्ति भइरहेको छ।

####




0 comments

Write Down Your Comment