बाजुराको कोल्टी विमानस्थलमा कालोपत्रे
####good
१३ जेठ, बाजुरा । बाजुराको कोल्टी विमानस्थलको निर्माण कार्य धमाधम भइरहेको छ । मंसिरभित्र काम सक्ने गरी निर्माण कम्पनीले निर्माण कार्यमा तीब्रता दिएको हो । गत वर्षको असोज सात गतेबाट निर्माण सुरु भएको कोल्टी विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम मंसिर अन्तिम साताभित्र सक्ने गरी काम भइरहेको ठेकेदार पदम गिरीले बताए । प्रतिकुल मौसमले काम गर्न समस्या भएको बताउँदै गिरीले मौसमले साथ दिएन भने केही ढिला निर्माण सकिने जानकारी दिए

८ करोड ११ लाख ६५ हजार रुपैयाँको लागतमा एक वर्षभित्र निर्माण सक्नेगरी जिम्मा लिएको कालिका ग्वाल्बो जेवी प्रालिले गत वर्ष असोज सात गते सम्झौता गरेको थियो । ६ सय मिटर लामो विमानस्थलको धावनमार्गको ५ सय ४० मिटर लम्बाई र २० मिटर चौडाई कालोपत्र गरिने भएको छ ।

हालसम्म ट्वीनअट्टर जहाज बस्दै आएकोमा कालोपत्रेपछि डोर्नियर जहाजसमेत बस्ने नागरिक उड्यन कार्यालय बाजुराका प्रमुख बालकुमार सिंहले बताए छ ।हिलो, कुहिरो र धुलोका कारण बेलाबेला अवरुद्ध हुँदै आएको कोल्टी विमानस्थल अब धावनमार्ग कालोपत्रे गरिएसँगै प्रतिकुल मौसमबाहेक अन्य समयमा नियमित उडान हुने प्रमुख सिंहले बताए ।

कालोपत्रे भइरहँदा पनि हाल मौसम सफा हुँदा हप्ताको दुई उडान नियमित भइरहेको छ । कोल्टीमा हाल तारा, मकालु, नेपाल वायु सेवा निगम र गोमाका ट्वीनेटर जहाजले उडान भर्छन् । कालोपत्र भएपछि सीता र यति यरलायन्सका डोर्नियर जहाज आउने भएका छन् ।

कालोपत्रे पूरा भएपछि बाजुरा, हुम्ला, मुगु र कालीकोटबासीले सुरक्षित र सहज यात्रा गर्न पाउने भएका छन् । हालसम्म ६० प्रतिशत धावनमार्ग कालोपत्रे गर्ने काम ६० प्रतिशत पूरा भइसकेको छ ।निर्माणमा प्रयोग गरिने सबै सामाग्री जहाजबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ । प्रतिकुल मौसममा जहाज नियमित नआउनाले काममा ढिलाई भइरहेको कामदारहरुले बताएका छन् ।
####




0 comments

Write Down Your Comment