चुनाव लगतै बैद्यले भन्यो-सबै शक्तिबीच सहमति कायम गर
####good
४ मंसिर, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न माग गरेको छ ।
३३ दलको बहिस्कारका बीच संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको केहीबेरमै ३३ दलीय मोर्चाले विज्ञप्ति जारी गरेर पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प नभएको बताएको छ । ‘राज्यको सम्पूर्ण शक्तिको दुरुपयोग गरेर निर्वाचन गरिएको भए तापनि त्यसबाट जनताको संविधान नबन्ने मात्र होइन, वर्तमान सङ्कटको राजनीतिक निकास दिन नसक्ने यथार्थता स्पष्ट छ । राजनीतिक निकासको लागिजुनसुकै परिस्थितिमा पनि राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय राजनीतिक सहमतिको विकल्प छैन’ माओवादी सचिव देव गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’फेरि पनि सबै राजनीतिक शक्तिहरुको बीचमा सम्वाद र राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दलहरु र नागरिक समाजसँग आग्रह गर्दछौं ।’
४ दलीय सिण्डिकेटको निषेधात्मक राजनीति र राज्यशक्तिको दुरुपयोग गर्दै निरङ्कुश ढङ्गलेे दमन गरिएको भन्दै ३३ दलीय मोर्चाले त्यसका बावजुद पनि चक्काजाम र बहिष्कार आन्दोलन सफल भएको दावी गरेको छ । आन्दोलनको विरुद्धमा राज्यद्वारा निरङ्कुश ढङ्गले बल प्रयोग गरेको र त्यसका करण कतिपय स्थानहरुमा अनपेक्षित दुःखद घटना भएको भन्दै विज्ञप्तिमा भनिएको छ-’त्यसबाट भएको क्षति र जनसमुदायमा पर्न गएको पीडाका सन्दर्भमा हामी दुःख व्यक्त गर्न चाहन्छौं ।’ ३३ दलीय आन्दोलनका क्रममा ५ सयभन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरी झुटा मुद्दा लगाएको भन्दै बिनासर्त रिहा गर्न माग गरेको छ ।


####




0 comments

Write Down Your Comment