५६ सिटको चिनियाँ जहाज आइतबार काठमाडौं आइपुग्ने
####good
१३ बैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको जहाज आइतबार काठमाडौं आइपुग्ने भएको छ । चीनमा निर्मित जहाज शनिबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने भनिए पनि विभिन्न कारणवश आइपुग्न नसकेको हो । निगमका प्रवक्ता रामहरि शर्माले भनेका छन्-’केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण आज जहाज अवतरण हुन सकेन, सबै प्रक्रिया मिलिसकेको छ, आइतबार जहाज आइपुग्छ ।’ चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको जहाजमा ५६ सिट रहेको छ ।

चिनियाँ एभिएसन इन्ड्रस्टी कर्पोरेसन (एभिक)ले निगमलाई औपचारिकरुपमै गत चैत २० गते जहाज उपलब्ध गराइसकेको छ । चीन सरकारले आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध सहमति जनाइसकेको छ । अनुदानमा प्राप्त हुने अर्को जहाज भने दुई महिनापछि आइपुग्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण आशंका बढे पनि शुक्रबार निगमले पत्र प्राप्त गरेको थियो ।

तर प्राधिकरणले जहाजलाई उडान अनुमति भने दिएको छैन । प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भनेका छन्-’जहाजको आवश्यक परीक्षण जरुरत पर्छ, बिमा गरिएको छ वा छैन, जहाज कसले उडाउनेलगायत विषयमा आवश्यक जाँचपड्ताल नगरिकन त अनुमति दिन सकिँदैन ।’ निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याउन लागेको हो । गत फागुन ४ मा निगमसँग रहेको टि्वनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । -

####




0 comments

Write Down Your Comment