काठमाडौं-हेटौंडा द्रुतमार्ग निर्माण सुरु
####good
काठमाडौं, कार्तिक २५ । बहुप्रतिक्षित काठमाडौं–हेटौडा द्रुतमार्गको प्रारम्भिक निर्माण कार्य सुरु भएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले सार्वजनिक–निजी–जनता साझेदारी (फोर पी) मोडलमा सुरुङमार्ग निर्माण थालेको हो ।

कम्पनीले सोमबार कुनै औपचारिक कार्यक्रम नगरी भीमफेदीबाट सुरुङमार्गको निर्माण सुरु गरेको हो । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङमार्गको निर्माण थालिएको जानकारी दिए ।

मकवानपुरको भीमफेदीमा एक्साभेटर लगाएर निर्माण सुरु गरिएको हो । गत आश्विन ७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सुरुङमार्ग निर्माणकार्य प्रारम्भ गर्ने मिति तय गरिसकेकाले निर्माण सुरु गरिएको जोशीले उल्लेख गरे ।

आसन्न संविधानसभाको निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यक्रम लगायतका अन्य विषयहरुलाई कुनै असर नपुग्ने गरी यो प्रारम्भिक निर्माण कार्य मात्र प्रारम्भ गर्न लागिएको कम्पनीले जनाएको छ ।

सुरुङमार्ग निर्माणको अवधारणाप्रति सबै राजनीतिक दलको सहयोग र समर्थन पाएर नै आफूहरु मूर्तरुप दिने अवस्थामा आइपुगेको बताइएको छ ।

आसन्न निर्वाचनपछि निर्माण कार्यलाई दु्रतगतिमा अगाडि बढाइने कम्पनीले जनाएको छ । ३५ अर्बको लागतमा निर्माण हुन लागेको परियोजना सन् २०१६ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

परियोजनामा गैरआवासीय नेपाली, रेमिटेन्स कम्पनी, निर्माण व्यवसायी लगायतका व्यवसायिक संस्था र अरु थुप्रैले लगानी गर्ने प्रतिवद्धता गरिसकेका छन् ।

५८ किलोमिटरको यो द्रुतमार्गले काठमाडौं–हेटौंडा यात्रालाई एक घण्टामा झार्ने जनाइएको छ ।
####




0 comments

Write Down Your Comment