चुनावै नजित्दै ५ करोडको माला !
####good
ठूला नेता गाउँमा आउँदा फूलमालाले स्वागत गर्नु स्वभाविक पनि हो । तर कति उम्मेदवारलाई भने गाउँमा नपुग्दै कार्यकर्ताले बाटोमै फूलमाला लगाइदिने गर्छन् । यसपटक संविधानभा चुनावमा ६ हजार ३ सय जना उम्मेदवार छन् । एउटा उम्मेदवारले चुनाव प्रचारका क्रममा एकदिनमा कम्तिमा पाँचवटासम्म माला लगाउने गरेको देखिन्छ । अहिले एउटा मालाको बजारमा ५० रुपैयाँ भन्दा धेरै नै पर्छ । यसैलाई हिसाब गर्दा पनि चुनाव प्रचारको एक महिनाको अवधिमा उम्मेदवारले करिब पाँच करोडको त माला मात्रै लगाउनेछन् । यो माला अधिकांश भारतबाटै ल्याइएको फूलबाट बनाइने भएकोले चुनावका लागि आउने मालाका लागि मात्रै यति धेरै पैसा भारत जाने भएको हो ।
तिहारको समय सबैभन्दा धेरै फूल र मालाको कारोबार हुने समय हो । तर यसपटक चुनाव समेत परेको र उम्मेदवारहरुमा प्रचारकै क्रममा विजयी भैसके जसरी अबिर र माला लगाउने होड चलेपछि यतिबेला फूल व्यापारीलाई भ्याईनभ्याई छ । तिहारको लागि भनेर तयार गरेको माला उम्मेदवारका लागि पनि नपुगेपछि अहिले व्यापारीले धमाधम भारतबाट फूल आयात गरिरहेका छन् । अघिल्ला वर्षहरुमा तिहारको बेला सयपत्री र गोदावरीका ५ करोडको माला विक्रि हुन्थ्यो । तर यसपटक यतिले त उम्मेदवारलाई पनि नपुग्ने व्यवसायीहरुको भनाइ छ । ‘यसपटक तिहारमा स्वदेशी फूलले तिहारको माग करिब करिब धान्ने ठानिएको थियो, तर उमेदवारले सबै माला भ्याईसके’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष कुमारकसजु श्रेष्ठले भन्नुभयो, ‘ भारतबाट ल्याएर भएपनि माग पूरा गरिरहेका छौं ।
’ चुनाव प्रचारका क्रममा उमेदवारहरुले खादा लगाएर जनतालाई हात जोड्दै हिडेको दृष्य यसअघिका चुनावमा देखिन्थ्यो । तर अहिले बिल्कुलै फरक देखिएको छ । चुनाव जित्ने सम्भावना ठानिएका उम्मेदवारदेखि ससाना पार्टी र स्वतन्त्र उम्मेदवारहरु समेत रातै अबीर र गलाभरी माला लगाएर प्रचारमा हिँडिरहेका छन् । यसले चुनाव प्रचारमा फेरिएको शैलीलाई मात्रै देखाएको छैन, पुष्प ब्यापारीहरु पनि उत्साहित छन् । ‘औपचारिक कार्यक्रमदेखि यस्ता चुनाव प्रचारसम्ममा कपडाकै खादा प्रयोग गर्ने चलन थियो’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिले त जहाँ पनि मालाकै प्रयोग बढेको छ, यो हाम्रो लागि खुसीको कुरा हो ।’
####
.jpg)




0 comments
Write Down Your Comment