मृतकलाई जिउँदो भन्दै रकम असुल्दै
####good
विराटनगर: यहाँका निजी अस्पतालका आईसीयू कक्ष बिरामीलाई सुविधासहित उपचार गर्नुभन्दा पनि मोटो रकम असुल्ने र कमाई खाने भाँडो बन्दै गएका छन्। कतिपय अस्पतालले बिरामीको मृत्यु भइसके पनि जिउँदै रहेको भन्दै आईसीयूमा राखेर रकम असुल्ने गरेको पाइएको छ।

पुष्पलालचोकका कुमार पोखरेलले गत सोमबार २० वर्षीया साली अस्मिता खतिवडालाई मस्तिष्कघात भएपछि विराटनगरकै न्युरो अस्पताल पुर्याए। ‘केही परीक्षण गरेपछि टाउकोमा रगत जमेको छ भन्दै डाक्टरले अप्रेसन गरे’, पोखरेलले भने, ‘सालीको मृत्यु भइसकेको रहेछ तैपनि जिउँदै छिन् भनेर तीन दिन भेन्टिलेटर लगाई आईसीयूमै राखेर उपचार गर्नुपर्छ भन्दै थिए।

हामीले पैसा तिर्न सक्दैनौं, शव देऊ भनेपछि मात्र दिए।’ अस्मितालाई दुई दिन भेन्टिलेटरमा राखेको खर्चसमेत गरी करिब एक लाख रुपैयाँ अस्पताललाई तिरेको उनले बताए। उनले भने, ‘आईसीयूका लागि पहिले नै २० हजार डिपोजिट गराएका थिए। फेरि निकाल्ने बेलामा थप ४३ हजार तिर्नुपर्छ भने तर पैसा नभएर १८ हजारमात्र तिरेर शव बुझ्यौं।’ बिरामीलाई भेन्टिलेटरमा राख्ने बहानामा अस्पतालले मोटो रकम असुल्ने प्रपञ्च गरेको पोखरेलको आरोप छ।

‘हामीले जबर्जस्ती नगरेको भए अस्पतालले शव नदिएर आईसीयूमै राखेर पैसा असुल्ने योजना बनाएको रहेछ’, उनले भने, ‘त्यही बुझेपछि ७२ घन्टा राख्नुपर्छ भन्दाभन्दै शव लिएर गयौं।’ मोरङ झोराहाट १ की अञ्जु लुइँटेललाई न्युरो अस्पतालमै १९ दिनसम्म भेन्टिलेटरमा राखियो। सडक दुर्घटनामा घाइते भएकी उनको उपचारकै क्रममा मृत्यु भयो।



परिवारले दैनिक १४ हजार रुपैयाँका दरले आईसीयू शुल्क बुझाएको उनका देवर भरत लुइँटेलले बताए। ‘भेट्न जानेलाई चिन्न थाल्नुभएको थियो तर आईसीयूमै राख्दा चिसोका कारण निमोनियाले उहाँ बित्नुभयो’, भरतले भने, ‘यसबारे चिकित्सकले केही भनेनन्।

अन्तिम अवस्थामा पुगेपछि मात्र जानकारी गराएर अन्तै लैजान भने। ज्यान पनि बचेन। अस्पतालले लाखौं रुपैयाँ असुल्यो।’ अञ्जुका आफन्तले अस्पतालले गर्ने बदमासीका विषयमा सरकारी निकायबाट छानबिन र कारबाही हुनुपर्ने माग गरेका छन्।

अस्पतालका आईसीयू कक्षभित्र बिरामी राखेपछि त्यहाँ कसरी उपचार हुँदैछ? बिरामीको अवस्था के छ? कति समय राख्नु पर्ने हो? निको हुन्छ कि हुन्न? भन्ने जस्ता विषयमा चिकित्सक र अस्पतालले आफन्तलाई जानकारी दिँदैनन्। भरत भन्छन्, ‘उपचारमा संलग्न चिकित्सकलाई समेत भेट्न पाइँदैन।

आईसीयूमा बिरामी लगेपछि कुहिरोको कागजस्तै बनाउँछन्।’ विराटनगरकै नोबेल अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी झापा धरमपुरकी ५० वर्षीया सावित्रा चौलागाईंको मृत्युबारे दुई दिनसम्म अस्पतालले केही जानकारी गराएन। आईसीयूमा राखिएकी उनलाई भेट्न त के हेर्न पनि दिइएन। आफन्तले मृत्युबारे थाहा पाउन र शव लिन प्रहरीकै सहयोग माग्नुपर्यो।

अस्पतालले दुई दिनपछि मंगलबारमात्र उनको मृत्यु भएको जानकारी दियो। आफन्तले विरोध गरेपछि अस्पतालले क्षतिपूर्तिबापत एक लाख रुपैयाँ दियो। उनका आफन्त थीरबहादुर थापाले भने, ‘निजी अस्पताल कमाउ धन्दामा मात्रै लागेका रहेछन्।

अप्रेसन गरेका बिरामी सोझै आईसीयूतिरै लगेर अस्पतालले कमाई खाने भाँडो बनाएका रहेछन्।’ निजी अस्पतालका सञ्चालक भने आईसीयू कक्षलाई कमाउ रूपमा प्रयोग नगरेको दाबी गर्छन्।

न्युरो अस्पतालका प्रशासकीय अधिकृत विपुल श्रेष्ठले अस्पतालले अनावश्यक रकम असुल्ने गरेको आरोप निराधार भएको बताए। पुष्पलालचोककी खतिवडाको उपचारबारे उनले भने, ‘आफन्तले आईसीयूबाट निकालिदिनू, लैजान्छौं भनेर लगेका हुन्।’

नोबेल अस्पतालका सूचना अधिकृत नारायण दाहाल भन्छन्, ‘चिकित्सक अस्पतालमा उपचार गर्न आउने बिरामीलाई बचाउने ध्याउन्नमै हुन्छन् तर अस्पताललाई आरोप लगाउने कामचाहिँ भई नै रहन्छ।’ उनले अस्पतालले सस्तो शुल्कमा आईसीयूमा उपचार सुविधा दिएको दाबी गरे।

विराटनगरकै लाइफगार्ड अस्पतालका प्रशासन प्रमुख विपुलेन्द्र झा पूर्वका अस्पतालमा मागभन्दा थोरै आईसीयू कक्ष भएका कारण अझै पनि बिरामी काठमाडौं र भारततर्फ रेफर गर्नुपरेको बताउँछन्।

पूर्वमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०, कोसी अञ्चल अस्पतालमा १०, न्युरोमा सात, लाइफगार्डमा ६ र श्री हस्पिटलमा दुईवटा आईसीयू शय्या छन्। विराट नर्सिङहोमले पनि आईसीयू सेवा दिएको छ।
####




0 comments

Write Down Your Comment