अमेरिकी पिसकोर सुचारु मुख्य काम : राजदूत शर्मा
####good
वाशिंगटन डिसी - अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले आफ्नो कार्यकालमा पिस्कोर सुचारु सहित तीनवटा महत्वपूर्ण काम भएको बताएका छन्।
चार वर्षे कार्यकाल सकेर नेपाल फर्कनुअघि आज एक कार्यक्रममा राजदूत डा. शर्माले नेपालका लागि स्वयंसेवक कार्यक्रम 'पिसकोर' पुनःस्थापन, अमेरिकी संसदमा नेपाल सरोकार समूह 'ककस' गठन र दुई देशबीच व्यापार प्रवर्द्धन गर्न ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट जस्ता महत्वपूर्ण काम भएको जानकारी दिएका हुन्।
नेपाली दूतावासले वाशिंटन डिसी मेट्रो क्षेत्रमा आयोजना गरेको बिदाइ समारोहमा डा. शर्माले आफ्नो कार्यकालमा उल्लेख गर्न मिल्ने यिनै तीनवटा काम भएको बताए। सन् १९६२ मा सुरु भएको स्वयंसेवक कार्यक्रम 'पिसकोर' माओवादी द्वन्द्वका कारण सन् २००४ मा बन्द भएको थियो। यसको पुनःसञ्चालन राजदूत शर्माको पालामा सन् २०१२ देखि भएको हो। अहिले ४५ जना भन्दा बढि अमेरिकी नागरिक मध्यपश्चिम नेपालका विभिन्न स्थानमा सामाजिक काममा सक्रिय छन्।
यसैगरी १२ जना कंग्रेसम्यान रहेको नेपाल सरोकार समूह ककस पनि यही बीचमा गठन भएको हो। नेपाल र नेपालीसँग सम्बन्धी कुनै मुद्दा अमेरिकी संसदमा लैजानुपरे यही लविङ ग्रुपसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
नेपाल–अमेरिकाबीच कुनै पनि ट्रेड सम्झौता नभएको अवस्थामा व्यापार प्रवर्द्धन गर्न एउटा सम्झौता भएको छ। तत्कालीन उपप्रधानमन्त्री भरतमोहन अधिकारीले त्यस सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। त्यस्तै, मिलिनियम च्यालेन्ज कर्पोरेशनले विकास निर्माण तथा क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्न सुरु गरेको छ। सन् २०१२ देखि काम थालेको यो कार्यक्रम नेपाल लान पनि राजदूत शर्माले पहल गरेका हुन्।
सन् २००९ मा नेपाली दूतको रूपमा अमेरिका आएका शर्माले पूरा ४ वर्षे कार्यकाल काम गरे। २५ वर्ष यता पूर्ण कार्यकाल काम गर्ने शर्मा नै पहिलो नेपाली दूत हुन्। अमेरिकाकै हवाई युनिभर्सिटीमा अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष हुन्। शर्माको ठाउँमा कार्यबाहक राजदूतको रूपमा नेपाल सरकारले ऋषिराज घिमिरेलाई पठाइसकेको छ। कालिप्रसाद पोख्रेल सरुवा भएर गएपछि उपनियोग पद खाली थियो। सोही पदमा घिमिरेको नियुक्ति भएको हो।
विदाइ कार्यक्रममा निकै भावुक देखिएका शर्माले अमेरिकावासी नेपाली समाज छोडेर जानुपर्दा आफूलाई दुःख लागेको बताए। उनले यस बसाइका क्रममा धेरै कुरा सिक्ने मौक पाएको अनुभव सुनाए। कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजका अगुवाहरूलाई 'सोसल लिडर एक्सिलेन्स अर्वाड' प्रदान गरिएको थियो।


####




0 comments

Write Down Your Comment