थवाङमा सुन्य मतको बास्तविकता
####good
के कुरा साँचो हो भने थबाङका जनता खास-खास निर्णय गर्ने बेला एकमतमा निर्णय गर्ने गर्छन् । यो थबाङको संस्कार हो । यहाँ सहमति र सहकार्यको संस्कार छ । ब्यापक छलफल र निष्कर्षपछि कार्यान्वयनमा एकरुपता थबाङको परम्परा र संस्कार नै हो । यसलाई मुखियाली (राजा) प्रथा भन्नु पनि गलत हुन्छ । यसो गर्नु सत्यलाई बंग्याउनु हुन्छ, थबाङको सहकार्य र एकताको भावनामा ठेस लाग्छ । यो थबाङको एकताको भावनाको विरुद्धमा छ । बरु थबाङबाट सबैले एकता, सहकार्य, शान्ति र सहमतिको पाठ सिक्न सक्नुपर्छ । बहुलवाद एकता र सहमतिको विरोधी छ । थबाङमा बहुलवाद वा संसदवाद जबर्जस्त पस्न खोज्दैछ, थबाङलाई टुक्र्याउन खोज्दैछ । थबाङ्गीहरूको एकताको भावनालाई छिया-छिया पार्ने कोसिस गर्दैछ । तर अहिले पनि थबाङले आफ्नो परम्परा र ऐतिहासिक विरासतलाई कायमै राख्यो । सायद अहिलेको दुनियाँमा यो असम्भव कुरा हो । त्यसलाई भड्काउन संसदवाद याने बहुलवादले पात्र खोजिरहेको छ । यो हिजो कुनै नामबाट घुस्न खोज्दै थियो, तर त्यो सफल भएन, आज त्यही प्रवृत्ति एकीकृतको नामबाट घुस्दैछ । यो प्रवृत्ति सिर्फ थबाङमा मात्र होइन, सिङ्गो कम्युनिष्ट विचार र आन्दोलनमै घातक छ । यसले कम्युनिष्ट एकतालाई नै टुक्र्याउने प्रयास गरिरहेको छ । इतिहास बंग्याउन खेजिँदैछ र थबाङमा भाँडभैलो मच्चाउने कोसिस गरिँदैछ । यसबाट थबाङ्गी जनतामात्र होइन, सबै न्यायका पक्षधरहरू सचेत रहन आवश्यक छ । जसले जे भनोस्, तर थबाङ निर्णायक मोडहरूमा एकमत र एकगठ हुँदै आएको इतिहास छ ।
थबाङ एउटा कम्युनिष्ट गाउँ हो । २०१३ सालमा थबाङमा मोहनविक्रम र खगुलाल गुरुङहरू गएर संस्थागत रूपमा कम्युनिष्टको जग बसाले । ०१५ सालमा एकमुस्ट भोट कम्युनिष्टलाई दिए । ०३७ सालको जनमत संग्रहमा एकमुस्ट भोट बहुदलमा, ०३८ को आमचुनावमा शून्य मत, ०४२ सालमा एकमुस्ट भोट बमकुमारीलाई, ०४८ सालमा एकमुस्ट मत तत्कालीन जनमोर्चाका उम्मेदवार कृष्ण महरालाई, ०५१ को मध्यावधि निर्वाचनमा ४ मतबाहेक सबै बहिस्कार, ०५४ को स्थानीय निर्वाचनमा शून्य मत (गाविस नै खाली), ०५६ मा हेलिकप्टरबाट लगेर सदरमुकामबाट दुई जनालाई भोट हाल्न लगाए, ०६४ को संविधानसभाको चुनावमा प्रचण्डलाई एकमुस्ट मत र २०७० को कथित संविधानसभाको चुनावमा शून्य मत दिएर थबाङले आफ्नो एकताको इतिहासलाई कायमै राखेको छ । २०३२ सालदेखि कमरेड किरणको अनवरत उपस्थिति र प्रयास, २०३६ देखि विद्यार्थी नेता क. कृष्णसेन 'इच्छुक'को परिश्रम र २०३८ सालदेखि क. बादल यसै राप्ती क्षेत्रको इञ्चार्ज भएपछि निरन्तर कम्युनिष्ट राजनीति र दर्शनबाट दीक्षित थबाङ गाउँमा जन्मदा नै कम्युनिष्ट भई जन्मने संस्कार छ । क. प्रचण्ड त मोहनविक्रमसँग फुटेपछि पहिलोपटक २०४२ सालमा थबाङ आउनुभएको थियो । मोहनविक्रम २०१२ सालमा आएदेखि उप्रान्त कहिल्यै फर्केनन् । त्यसै बेलादेखि थबाङ कम्युनिष्ट विचार, दर्शन र संस्कारमा हुर्कंदै आएको छ । यसपालीको चुनाव संविधानसभाको चुनावबाट जनअपेक्षा अनरुपको संविधान पनि नबन्ने, दिगो शान्ति र अग्रगामी राजनीतिक निकास वा परिवर्तन पनि नहुने, उल्टो यसबाट देश अनन्त गृहयुद्ध र द्वन्द्वतिर धकेलिने खतरा देखेर नै बहिस्कारको निर्णय लिए थबाङ्गीहरूले । यसले थबाङको एकताको भावनालाई नराम्रोसँंग खलबल्याउने देखेपछि थबाङका जनता एक भएर यो निर्णय लिन बाध्य भए ।
यसै पृष्ठभूमिमा गएको असोज २९ गते एउटा बैठक बसी 'यसपालीको चुनावमा कसैलाई भोट नदिने' निर्णय लिए र घोषणा गरे- 'निर्वाचन प्रचार-प्रसार निषेधित क्षेत्र,' ताकि 'कोही पनि दल यो क्षेत्रमा पसी अनाहक गलत प्रचारबाजीहरू नगरुन्,' किनकि 'जुनसुकै दल आए पनि यो चुनाव गलत उद्देश्यका लागि रचिएको षड्यन्त्र भएकोले यसले जनतालाई भ्रमबाहेक केही दिने छैन' । बरु त्यसको सट्टा पार्टीले किन यो निर्वाचनमा बहिस्कार गर्ने ? भन्ने विषयमा घर-घर पसेर यसको मर्म बुझाउने भन्नेमा एकमत भए । त्यसै अनुरुप नै मंसिर ४ गतेको चुनावमा भोट नहालेका हुन् । नकि कसैलाई जबर्जस्त अपहरण गरेर वा थुनछेक गरेर । बाहिर प्रचार मिडियाहरूले थबाङको बारेमा जे प्रचारहरू गरे, ती सबै थबाङको एकता भाँड्ने उद्देश्यका साथ गरिएको थियो भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले पुष्टि गरे । षड्यन्त्र र धम्की यतिसम्म भयो कि 'थबाङमा शून्य मत भयो भने पुनःनिर्वाचन हुन्छ', यो एकीकृत माओवादीले प्रशासनको र प्रशासनले एकीकृत माओवादीको हवाला दिँदै 'मलाई निकै प्रेसर गरिरहे, आन्तरिक सूचनाहरूमा पनि यही कुरा आइरहे,' पछि मैले बुझेँ कि यो डिजाइनमै रहेछ । अनि मैले जवाफमा 'हामी जे पनि जोखिम मोल्न तयार छौं, तर शान्तिपूर्ण रूपमा शून्य मत खसाल्छौं, यदि जबर्जस्त पुनःनिर्वाचन गरियो भने हामी १० पटक पनि स्थगन गर्छौं वा जबर्जस्त भयो भने मत उल्टिन पनि सक्छ,' भनेपछि मात्र सम्भव भएको हो । मलाई के कुरा थाहा थियो भने ३०३८ सालमा पञ्चायतका विरुद्ध शून्य हुँदा त पुनःनिर्वाचन गरिएन भने यो लोकतान्त्रिक भनिनेहरूले पुनःनिर्वाचन गरे भने अझ उनीहरूको अनुहार उदाङ्गिनेछ ।
अन्त्यमा शून्य मत थबाङको सन्देश हो । रोल्पाका फगाम, जेलबाङ, जैमाकसला, उवा, सेरम, सिउरी गजुल पाछाबाङ, भाबाङ, जिनाबाङ, कुरेली, जंकोट, कोटगाउँ मिरुल लगयतका निश्चित वडाहरूले पनि शून्य गरेका छन् । यो न्यायको आवाज नसुन्नेहरूलाई जबर्जस्त सुनाउने प्रतिनिधिमूलक सन्देश हो । जनअपेक्षा अनुरुपको संविधानको त आशै नगरौं, किनकि यसभन्दा अगाडिको संविधान बन्न नदिनेमा पहिलो हात कांग्रेस, एमालेकै थियो र तिनीहरूको डिजाइनमा प्रचण्ड-बाबुरामहरूले एउटा बृहत डिजाइनमा संविधानसभाको विघटन गरेका हुन् । त्यसैको जगमा यो चुनाव भएको छ । यसबाट यथास्थितिवादी संविधानबाहेक कल्पनै गर्न सकिन्न ।
####
.jpg)



0 comments
Write Down Your Comment