आगलागीमा बाबु-छोराको मृत्यु
####good
राजविराज, पुस १३ - सिलिन्डरको ग्याँस चुहिएर सप्तरीमा शुक्रवार राति किराना पसलमा आगलागी हुँदा बाबुछोराको मुत्यु भएको छ । सप्तरीको धरमपुर गाविस ४ स्थित बलुवा चोकमा किराना पसल गर्दै आएका ६० वर्षीय नागेश्वर साह र निजका १६ वषर्ीय छोरा खेलानन्द साहको मृत्यु भएको हो ।
विद्युत आपूर्ति बन्द भएको बेला खेलानन्दले किराना पसलमा टुकी बाल्ने क्रममा पसलभित्रै रहेको सिलिन्डरको ग्याँस भएर आगलागी भएको हो । खेलानन्दको पसलभित्रै जलेर मृत्यु भएको र घर बाहिर रहेका बुवा नागेश्वरलाई पनि आगोको लप्काले समात्दा घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी दिनेश अमात्यले जानकारी दिए । उनका अनुसार पसलभित्र पेट्रोलियम पदार्थहरुसमेत बिक्री गर्न राखिएकाले केही मिनेटमै आगोले उग्ररुप लिएको थियो ।
घटनास्थल सदरमुकाम राजविराजबाट ४० किलोमिटर उत्तरमा पर्छ । आगलागीमा किराना पसल र पसलभित्र रहेको सर-समान पूर्णरुपले जलेर नष्ट भएको छ । आगलागीबाट नगदसहित करिब ३० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई स्थानीयबासिन्दा, बारुण यन्त्र र प्रहरीको संयुक्त प्रयासमा निभाइएको थियो ।
आगलागीमा परेर श्रीमान र एक मात्र छोराको मृत्यु भएपछि तुलियादेवी साह बिचल्लीमा परेकी छन् । उनको एक छोरी र एक मात्र छोरा थिए ।
####




0 comments

Write Down Your Comment