प्रचण्डले भने-जनताले हामीलाई दनक दिएकै हो
####good
१२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा चुनावमा जनताले एमाओवादीलाई दनक दिएको बताउनु भएको छ ।
केन्द्रीय समिति बैठकको तयारी स्वरुप बसेको पूर्व पोलिटब्यूरो सदस्यहरुको बैठकमा प्रचण्डले जनताले दनक दिएको बताउनुभयो । ‘हामीलाई दनक दिएकै हो । प्रतिक्रियावादीले पनि दिएको हो । जनताको पनि दनकै हो’ चुनावी परिणमको समिक्षा गर्दै प्रचण्डले भन्नुभयो ।
एक नेताका अनुसार प्रचण्डले अहिलेको अवस्था पार्टी निर्माणको ऐतिहासिक अवसर हुन सक्ने बताउनु भएको छ । कमजोरी भएको स्वीकार गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले निर्मम आत्मालोचना गर्दै आफ्नो गल्तीका निम्ति प्रायश्चित गर्न प्रस्ताव गर्नु भएको छ । ‘ठोसमा जान नचाहन्न तर केही कुरामा चुकिएकै हो । सरकारको कुरा उदारतापूर्वक छोड्नु गल्ती भयो भन्ने उहाँले भन्नुभयो’ एक नेताले अनलाइनखबरसँग भने-’अध्यक्षले निर्मम ढंगले आत्मालोचना गर्दै आफ्नो गल्तीका निम्ति प्रायश्चित गरौं भनेर प्रस्ताव गर्नु भएको छ ।’
एमाओवादीको जनतासँग दुरी बढेको स्वीकार गर्दै प्रचण्डले संगठनलाई चुस्त बनाएर लैजाने बताउनुभयो । ‘संगठन नै थिएन भन्ने होइन । संगठन नभएको भए कसरी २७ जना जितेर आए’ प्रचण्डले भन्नुभयो-’संगठन थियो तर, कमजोर भएकाले जनतासँग दुरी बढ्यो ।’
बैठकमा पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराईले चुनावका लागि राजनीतिक सरकार बनाउन नसक्नु कमजोरी भएको बताउनु भएको छ । नियत सही भएपनि राष्ट्रियताको मुद्दामा समेत पार्टी चुकेको उहाँले स्वीकार गर्नु भएको छ । चुनावमा धाँधली भएको तर, हारको मुख्य कारण अन्तरिक भएको भन्दै उहाँले पार्टी पुनर्निमाणमा जोड दिनु भएको छ ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि हारको मुख्य कारण अन्तरिक भएको भन्दै तत्काल पार्टी पुनर्गठनको प्रक्रिया नथाले विघटनतिर जाने चेतावनी दिनुभयो । सरकार गठन, निर्वाचन आयोगको नियुक्ति, सेना परिचालनको निर्णय लगायतमा पार्टी चुकेको उहाँको भनाई थियो ।
बैठकमा आएका सुझावहरुका आधारमा प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने प्रस्ताव तयार गर्नु हुनेछ । माओवादीले चुनावको समिक्षाका लागि आइतबारबाट केन्द्रीय समितिको बैठक बोलाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment