लुम्बिनी: नेपालको सुनखानी
####good
२६ वर्षपूर्व मलाई पहिलोपटक लुम्बिनी जाने शौभाग्य प्राप्त भयो । लुम्बिनीको आध्यात्मिक ऊर्जा र पवित्रताले म अभिभूत भएँ । मलाई लुम्बिनीबाट फर्किन धेरै गार्‍हो भयो । फर्किसकेपछि पनि लुम्बिनीको  आकर्षण र मौन आमन्त्रण मैले अनुभव गरिरहन्थेँ । विगत वर्षहरूमा त्यही आमन्त्रणले वशिभूत अनेकपटक लुम्बिनी पुगेको छु । अनेक पटक नेपाल र विदेशका साधकहरूलाई सहभागी गराई लुम्बिनीमा अनेकौंपटक साधना शिविरहरू पनि गराएको छु ।
लुम्बिनीको यति गहन आकर्षण छ कि त्यहाँ जति बस्दा पनि नपुग्ने अनुभूति हुन्छ । फर्किंदा जहिले पनि अरु बसौं-बसौं जस्तो लाग्छ र लुम्बिनी छोड्दा बडो पीडा हुन्छ । धेरै पटक यस्तो लाग्थ्यो कि यस सिद्ध क्षेत्रमा पनि एउटा ओशो आश्रम भइदिए हुन्थ्यो । परमात्माबाट त्यो प्रार्थनाको प्रत्युत्तर भयो र आज लुम्बिनीमा ओशोको एउटा कम्युन 'ओशो जेतवन अन्तर्राष्टिय आध्यात्मिक गाउँ' स्थापित भएको छ । त्यहाँ हामीले नियमित रूपले ध्यान शिविर सञ्चालन गर्ने गर्छौ । लुम्बिनीमा सात्विक र साकाहारी भोजन पाउने, दैनिक साधना हुने तथा सबै आगन्तुकलाई स्वागत गर्ने अनि सबै धर्मावलम्बी र विचारका साधकलाई स्वीकार गर्ने एक अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा त्यो स्थल विकसित भइरहेको छ ।
हालै म त्यहाँबाट एक अन्तर्राष्ट्रिय साधना शिविर सञ्चालन गरेर काठमाडौं फर्केको छु । अहिले मेरो पूरै मनप्राण त्यहाँको ऊर्जा र अनुभूतिले अविभूत छ । त्यही अनुभूतिले यो लेख लेख्न प्रेरणा दिइरहेको छ ।
बुद्धले शरीर छोड्नु अघि आनन्दलाई भन्नुभएको थियो, 'मेरा मुख्य चार तीर्थस्थल हुनेछन् । मैले शरीर छोडेर गइसकेपछि पनि यदि कुनै व्यक्तिले श्रद्धा र विश्वासले यी क्षेत्रहरूको भ्रमण गरेमा मेरो उपस्थिति प्रगाढ रूपमा अनुभूति गर्न सक्नेछ ।' त्यो बेला भ्रमण र तीर्थाटन त्यति सजिलो थिएन । बुद्धले यात्राको कठिनाइ बुझेर अझ थप्नुभएको छ, जसले यी क्षेत्रको यात्राको दौरान शरीर त्याग्छ, ऊ तुषिता लोक
-स्वर्गलोक) मा जन्मिन्छ । बुद्धले सर्वाधिक महत्त्व दिएका प्रथम मण्डलका प्रमुख चार तीर्थमध्ये पहिलो तीर्थ बुद्धको जन्मस्थल लुम्बिनी हो । बैसाख पूणिर्माको दिन अशोक वृक्षको छहारीमा बुद्धले मायादेवीको गर्भबाट जन्म लिएका हुन् । दोस्रो स्थान हो- बोधगया, जहाँ निरञ्जना नदीको किनारमा बोधी वृक्षमुनि बैसाख पूणिर्माकै दिन ३५ वर्षको उमेरमा बुद्धले तृष्णाको बन्धनलाई बुझे र त्यसबाट मुक्तिको स्थिति अर्थात निर्वाण प्राप्त गरे । तेस्रो स्थान हो- सारनाथ, जहाँ बुद्धले पञ्चभद्रलाई मध्यमार्गको शिक्षा दिँदै बुद्ध संघको स्थापना गरी धम्मचक्र प्रवर्तन प्रारम्भ गरे ।
चौथो स्थान हो- लुम्बिनीकै नजिक पर्ने कुशीनगर, जहाँ ८० वर्षको उमेरमा बुद्धले शरीरको अन्तिम बन्धनबाट मुक्त भई महापरिनिर्वाण प्राप्त गरे । यसका अतिरिक्त श्रावस्ती, वैशाली, राजगृह, नालन्दा, कोशान्वी र उडिसाको धवलागिरि पनि प्रसिद्ध बौद्ध तीर्थस्थलहरू हुन् । यी तीर्थस्थलहरूको मौन आमन्त्रणले मलाई सधंै तानिरहन्छ र बिभिन्न देशका साधकहरूलाई जम्मा गरी उपरोक्त सबै तीर्थस्थलमा मैले धेरैपटक तीर्थाटन र साधना शिविरहरू सञ्चालन गरिसकेको छु । पहिलो लुम्बिनी भ्रमणपश्चात नै मैले बारम्बार लेख्दै र बोल्दै आएको छु कि नेपाललाई  परमात्माले दुई अनुपम र अमूल्य उपहार दिएको छ । बुद्ध जन्मेको पवित्र स्थल लुम्बिनी र सगरमाथा लगायत हिमालयका उच्चतम शिखरहरू । यिनीहरूकोे विश्वमा गहन आकर्षण छ, तर नेपालले यी गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक तरिकाले प्रचार गर्न सकिरहेको छैन, किनभने यसका लागि चाहिने आधारभूत तयारीमा हाम्रा नीति निर्माताको ध्यान पुगेकै छैन । उच्च व्यवस्थापकीय तयारीका साथ यी गन्तव्यहरूलाई मात्रै पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने हो भने नेपालको भयावह गरिबी र बेरोजगारी भगाउन सकिन्छ ।
संसारमा उल्लेख्य संख्यामा पर्यटक भित्र्याउने राष्ट्रलाई तीन वर्गमा बाँड्न सकिन्छ । ती देशहरूले प्राकृतिक सौन्दर्यको माध्यमबाट वा कृत्रिम आकर्षणहरू पैदा गरेर पर्यटकहरूलाई तानेका छन् ।
पहिलो वर्गमा यस्ता ३० राष्ट्र पर्छन् । जसले प्रत्येक वर्ष आफ्नो जनसंख्याभन्दा बढी पर्यटक भित्र्याउँछन् । दोस्रो वर्गका अन्य ३० राष्ट्रले आफ्नो जनसंख्याको ५० प्रतिशतभन्दा बढी पर्यटक भित्र्याउँछन् भने बाँकी ३० राष्ट्रले आफ्नो जनसंख्याको २० देखि ५० प्रतिशत पर्यटक प्रतिवर्ष भित्र्याउँछन् । संसारका १९५ राष्ट्रमध्ये ९० राष्ट्र पर्यटकीय गन्तव्यका रूपमा महत्त्वपूर्ण छन् । प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले नेपाल ती राष्ट्रहरूभन्दा अझ बढी आकर्षक रहेको मेरो ठम्याइ छ । हालकै पर्यटकीय सर्वेक्षणले नेपाललाई विश्वकै तेस्रो आकर्षक गन्तव्य मानेको छ । आफ्नो अनुपम भौगोलिक विशेषता, बहुभाषीय, सांस्कृतिक र धार्मिक सम्पदाको आधारमा पर्यटकीय पूर्वाधार खडा गर्न सक्यौं भने नेपालले पनि आफ्नो जनसंख्याभन्दा बढी पर्यटक भित्र्याउन सक्छ भन्नेमा मलाई कुनै शंका छैन । तर विडम्बना के छ भने अहिले नेपाल संसारमा सबैभन्दा कम पर्यटक भित्र्याउने देश मध्येमा पर्छ  । हाल नेपालले आफ्नो जनसंख्याको ३ प्रतिशतभन्दा पनि कम पर्यटक भित्र्याउँछ । पर्यटकलाई तान्न आवश्यक अकुत सम्पदा पाएर पनि हामी यो क्षेत्रमा गरिब नै छौं ।
अझ त्यसमाथि नेपाल आएका अधिकांश पर्यटक उच्च आय वर्गका नभई कमजोर आए भएका खर्चै नगर्ने खालका देखिन्छन् ।
यस पटकको लुम्बिनी बसाइमा मलाई के बोध भयो भने लुम्बिनीको जुन आध्यात्मिक गरिमा छ, सौदर्य छ, अतित र सांस्कृतिक विशेषता छन्, यदि त्यसको आमन्त्रण विश्वभरि हामीले पठाउन सक्यौं भने वाषिर्क एक करोड पर्यटक लुम्बिनीले मात्रै बडो सहजताका साथ भित्र्याउन सक्छ । संसारको जनसंख्या करिब साढे सात अर्ब छ र करिब २ अर्ब व्यक्ति बौद्ध र हिन्दु छन् । यसका अतिरिक्त पश्चिमी जगतमा अन्य धर्मावलम्बीमा पनि बौद्ध धर्मप्रति आकर्षण बढिरहेको छ । पश्चिमी देशका मुख्य सहरहरूमा हरेक वर्ष अनकौं बुद्ध गुम्बाहरू निर्माण भइरहेका छन् । यस आकर्षणबाट  नेपालले ठूलो लाभ लिन सक्छ र विश्व शान्तिको स्थापनामा ठूलो सहयोग पुर्‍याउन सक्छ ।
बुद्धलाई प्रेम गर्ने सबैका लागि बुद्धको जन्मस्थल पवित्रतम तीर्थ हो र उनीहरूका लागि बुद्ध परम् श्रद्धेय, आराध्य र भगवान् हुन् । लुम्बिनीमा हाल केही बौद्ध राष्ट्रका मानिसहरू आइरहेका छन्, तर भौतिक  पूर्वाधार र अन्य आकर्षण नभएका कारणले उनीहरू भारतको कुशीनगर या गोरखपुरबाट बसमा 'फुड प्याकेज' लिएर आउँछन्, मायादेवी मन्दिरको दर्शन गर्छन् र उतैबाट ल्याएको 'लन्च' बसमै बसेर खान्छन् र खाली बट्टा नेपालमै फयाँकी केही घन्टामै फर्किन्छन् । यसबाट नेपालले पाउने फाइदा भनेको लुम्बिनी मायादेवी मन्दिरको थोरै प्रवेश शुल्क र ती केही घन्टे पर्यटकले फालेर गएको खानाको फोहोर खाली डब्बामात्र हुन् । लुम्बिनीमा अन्तर्राष्टिय पर्यटकलाई केही दिन बस्ने बनाउन बुद्ध जीवनीमा आधारित 'लाइट एन्ड साउन्ड शो', सफा र स्तरीय केही रेष्टुराँ, नेपाली र बौद्ध संस्कृति झल्काउने उपहारहरू किन्न सकिने शपिङ सेन्टर, योग ध्यान र बुद्ध दर्शन सिकाउने संस्थाहरू चाहिन्छन् । लुम्िबनी गार्डेनको आठ वर्ग किमिको क्षेत्रमा पर्यटकले पैदल या रिक्सामा घुम्नुपर्छ, जुन तराईको प्रचण्ड घाममा अत्यन्त कठिन छ । त्यहाँ प्रदूषणरहित यातायात साधनको उचित व्यवस्था भएमा पर्यटक केही दिन रमाउने थिए । साथै लुम्बिनी रामग्राम, देवदह, कपिलवस्तुको भ्रमण सार्किट बनाई प्याकेज टुरको व्यवस्था गरे बुद्ध जीवनको विविध पाटासँग पर्यटकहरू अझ परिचित हुनपाउने थिए । यो परिप्रेक्ष्यमा वर्षौंको विलम्बपछि भैरहवामा अन्तर्राष्टिय विमानस्थल बन्ने तरखर एउटा सुखद समाचार नै मानौं । तर यसको हविगत पनि कमिसनतन्त्रको खेलले गर्दा पोखरा विमानस्थलको जस्तै नहोस् ।
आत्मा मान्ने-नमान्ने, मन्दिर र मूर्तिपूजा मान्ने-नमान्ने सबैले तीर्थको निर्माण गरेको पाइन्छ । मुसलमानको तीर्थ काबा हो । इसाई र यहुदीको तीर्थ जेरुसेलम हो । हिन्दुहरूका त अनगिन्ती तीर्थ छन् ।
पुराना सभ्यताहरूले पनि आफ्ना तीर्थस्थलहरू निर्माण गरेका थिए । तिनीहरू आज भग्नावशेषको रूपमा मात्र हाम्रासामु छन् । इजिप्टका पिरामिडहरू पनि पुराना तीर्थस्थल नै हुन् । तीर्थ स्थानहरूको निर्माणको प्रयोजन विशिष्ट थियो- साधनाको सानो प्रयासले पनि हाम्रो चेतना मोडियोस् र अन्तरमुखी होस् ।
यस्ता क्षेत्रहरूमा सारा जीवन अर्पण गरी मुमुक्षुहरूले आध्यात्मिक रूपान्तरणको प्रयास गरेका हुन्छन् । तीर्थमा साधनाको अन्तरधारा स्वतः शरीरबाट आत्मातिर उन्मुख भइरहेको हुन्छ । यहाँको वायुमण्डल उध्र्वगामी भई तरंगित भइरहेको हुन्छ र सकारात्मक ऊर्जा सतत् प्रवाहित भइरहको हुन्छ । मन स्वतः शान्त, अन्तरमुखी र आनन्दित हुन्छ । संवेदशील साधकको लागि तीर्थ  त स्र्वगैसमान हुन्छ । तीर्थ एक जीवन्त ऊर्जाक्षेत्र र अन्तरविज्ञानको एक प्रयोगशाला हो ।
बुद्धले आफ्नो उपरोक्त चार स्थानलाई अति महत्त्व दिएका कारण पनि तीर्थको यही विज्ञानलाई बुझाउनलाई हो । यस सन्दर्भमा हामीले लुम्बिनीको महत्त्व बुझ्न सक्यौं र संसारलाई बुझाउन सक्यौं भने लुम्बिनी नेपालका लागि सुनखानी सिद्ध हुनसक्छ । नत्र अहिलेजस्तै हाम्रालागि यो संसारभरि मागिखाने भिक्षापात्र र कहिल्यै पुरा नहुने एक विकास आयोजनामात्रै भएर रहनेछ ।


####




0 comments

Write Down Your Comment