रूप फेर्दैछ वाग्मती, वैशाख १ सम्ममा नुहाउन सकिने बनाइने
####good
सफाइमा जानुअघि अरूले जस्तै ती बालकले पनि हातमा पन्जा र माक्स लगाए, अनि 'शपथ' समेत लिए । 'हामी वाग्मती सफाइ अभियान गर्न सक्छौं' भनेर पौडेलले शपथ गराउँदा सहभागीले 'सक्छौं-सक्छांै' र पौडेलले फेरि 'म वाग्मती सफा गर्छु' भन्दा अरूले पनि 'गर्छु-गर्छु' भन्थे । अन्तिममा 'हाम्रो वाग्मती सफाइ अभियान जारी छ' भन्दा उनीहरू 'जारी छ' भन्दै सफाइमा जुटे ।
कक्षा ३ मा पढ्दै गरेका सरोज र कक्षा ६ का सुमन कसैको करकापमा परेर नदी सफा गर्न आएका थिएनन् । उनीहरूसँग न कोही आफन्त थिए, न त उनीहरूलाई कसैले बोलाएको थियो । सफाइ अभियानबारे टेलिभिजनमा समाचार हेरेका आधारमा स्वःस्फूर्त सहभागी भएका थिए ।
उनीहरू किनारामा थुपारेको फोहोरलाई बोरामा राखेर ट्रकसम्म पुर्याउँथे । फोहोर तान्दा हातको पन्जा च्यातिएको समेत पत्तो थिएन । 'हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?' सुमनले सन्देशमूलक नारा सुनाउँदै भने, 'पहिला हामीले फोहोर फ्याँक्यौं, अब आफैंले उठाउनुपर्छ ।'
यी दुई बालक वाग्मती सफाइका कान्छा सहभागी हुन् । प्रत्येक शनिबार हुने वाग्मती सफाइ जनसहभागितामा चलिरहेको प्रभावकारी अभियान बन्न पुगेको छ । शनिबार यसमा ६० संघसंस्थाका प्रतिनिधि, सरकारी अधिकारी, प्रहरी र सर्वसाधारण गरी पाँच सयभन्दा बढी सहभागी थिए ।
वाग्मती सफाइ अभियान सुरु भएको चौतीसौं साता भयो । यस अवधिमा पशुपतिदेखि तीनकुनेसम्म पाँच किलोमिटर खण्डमा सफाइ पूरा भएको छ । गत वर्ष वाग्मतीमा यति बेला फोहोर तैरिन्थ्यो । सहरका प्रत्येक घरको ढल सीधै नदीमा खस्थ्यो । पानी छुनसमेत हिच्किचाउनुपर्ने अवस्था थियो । तर, यसमा सुधार आइसकेको छ । सफाइ सकिएको ठाउँमा ढल खोलाको दायाँबायाँ लैजाने व्यवस्था गरिएको छ ।
यसअघि ढल व्यवस्थापन गर्न भन्दै बजेट विनियोजन भए पनि सरकारी निकायबीच समन्वय नहुँदा चार वर्षदेखि त्यो काम रोकिएको थियो । अहिले तीनकुनेभन्दा उत्तरतर्फ ढलको व्यवस्था भइसकेको छ । तीनकुनेबाट चोभारसम्म ढल बनाउने कामलाई पनि तीव्रता दिइएको छ ।
सफाइ सकिएको ५ किमि क्षेत्रमा दर्जनभन्दा बढी उद्योगका विषाक्त फोहोर पानी वाग्मतीमा मिसिने गरेको थियो । यसलाई पनि ढलमार्फत पठाउने व्यवस्था गरिएको छ । सफाइ भएको ठाउँमा फोहोर फ्याँक्ने २ सयभन्दा बढी कारबाहीमा परिसकेका छन् । 'खोलामा फोहोर फ्याँक्नु हँुदैन भन्ने चेतना शून्य त भएको छैन,' मुख्य सचिव पौडेलले भने, 'विस्तारै शून्य हुन्छ । आउँदो वैशाख १ सम्म यही खोलामा नुहाउने अवस्था बनाउँछौं ।' वाग्मती सफाइ गर्दा टाउको नभएको ढुंगाको मूर्ति, सालनाल, मरेको जनावरसमेत भेटिएको उनले बताए ।
अहिले खोला छेउछाउ बगैंचा बनाउन थालिएको छ । तिलगंगा र सिनामंगलको भत्केको पुलबीच फोहोर फाल्ने गरिएको ठाउँ सफा गरेर 'लोटस बारी' नाम दिइएको छ । त्यस्तै तीनकुनेको वाग्मती पुलदेखि बानेश्वर पुलसम्म नेपाल प्रहरीले बगैंचा बनाउने भएको छ । अन्य संघसंस्था र स्कुलहरू पनि यसका निम्ति अग्रसर भएका छन् ।
सफाइ अभियानमा हालसम्म ५ सय टनभन्दा बढी फोहोर संकलन भइसकेको
छ । शनिबार मात्रै २० ट्रक फोहोर
बटुलिएको थियो ।
####
.jpg)




0 comments
Write Down Your Comment