यस्ता सभासदलाई अख्तियार लगाउनुपर्छ : रामकुमारी
####good
२४ पुस, काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले पैसाको लेनदेनका आधारमा सभासद बनाइने कार्य सामान्य बेथितीमात्रै नभई गम्भीर प्रकारको आर्थिक अपराध भएको भन्दै यसबारे अख्तियारले छानविन गर्नुपर्ने माग गरेकी छन् ।
‘नेपाली राजनीतिमा हावी हुँदै गएको गलत परम्परा र प्रवृत्ति अर्को चुनावमा अर्को रुपमा देखा पर्न सक्छ, झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘त्यसैले यो एउटा पार्टीमा मात्रै नभएर सबै पार्टीमा देखापरिसकेको गम्भीर प्रश्न हो, यसलाई अख्तियारले छानविनको दायरामा ल्याउनुपर्छ ।’
‘यो त बेथितिमात्रै होइन, क्राइम हो । हाम्रा नेताहरुको भनाइमा यो असाध्यै सहज र पैसाले सबथोक पाइन्छ भन्ने कुरा बुझिन्छ, झाँक्रीले थपिन्, ‘तर, यो आर्थिक अपराध हो, नेपालको कानूनले पनि यस्तो आर्थिक कारोबार सार्वजनिक गर भनेको छ ।’
'पैसा तिरेर सभासद बन्नु-बनाउनु आर्थिक अपराध
आफ्नो प्रतिष्ठामाथि प्रश्न उठिसकेपछि सम्बन्धित सभासदले समेत आफ्नो स्थितिबारे आफैं स्पष्ट पार्नुपर्ने झाँक्रीको सुझाव छ । ‘होइन भने उहाँहरु प्रचलित कानूनको दायराभित्र आउनुपर्छ, जो मानिस प्रचलित कानूनको दायरामा आउँदैनन्, त्यस्ता विधायकले संविधान निर्माणमा कस्तो भूमिका खेल्लान् ?’
अख्तियारमा पुग्नुभन्दा अगाडि पार्टीहरुले नै तत्तत् सभासदका बारेमा पुनर्विचार गर्न जरुरी रहेको झाँक्रीको तर्क छ । ‘यो त सभासदजस्तो गरिमायम पदकै धज्जी उडाइएको हो । संविधानसभाको सदस्य भनेको युगान्तकारी संविधानलाई लिपीवद्ध गर्ने पद हो, तर यस्ता व्यक्तिहरुले गर्दा यो गरिमायम पदको पनि धज्जी उडाउने काम भएको छ, झाँक्रीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्- ‘यो कुनै एक पार्टीको मात्रै होइन, समग्र प्रवृति भएकाले यो गम्भीर विषय हो ।
आफूले व्यक्तिगतरुपमा सम्मानको आशा गरेर सभासद भएकाहरुको आत्मसम्मानमा चोट पुर्याउनेउद्देश्य नराखेको बताउँदै झँक्रीले भनिन्, ‘तर जब प्रश्न उठ्छ, सम्मानित जीवन बाँच्नेहरुले आफूमाथि उठेका प्रश्नहरुका बारेमा ख्याल गर्नुपर्छ । कसैलाई यो कुरा नमीठो लाग्ला, तर खराब प्रवृतिका विरुद्ध चाहे पार्टीभित्र होस्, चाहे बाहिर, होस् हाम्रो अगाडि लड्नुको विकल्पै रहेन । त्यसैले हामी यो प्रवृत्तिका विरुद्ध लड्छौं ।’
विद्या भण्डारीको भनाइप्रति आपत्ति
यसैवीच गुल्मी १ मा प्रत्यक्ष उम्मे्वार बनाउन खोज्दा झाँक्रीले ठूलो रकम माग गरेको भन्दै एमाले उपाध्यक्ष विद्या भण्डारीले दिएको अभिव्यक्तिप्रति झाँक्रीले आपत्ति जनाएकी छन् ।
भण्डारीले लगाएको आरोपबारे झाँक्रीको स्पष्टीकरण यस्तो छ- ‘नेकपा एमालेको उपाध्यक्षजस्तो गरिमामय पद र विद्या भण्डारी भन्ने नामको उहाँले मजाक उठडाइदिनुभयो । प्रत्यक्षमा चुनाव लड्न पार्टीले मलाई भन्दै भनेन । म जेठ देखि नै चुनावमा भागलिने मानसिकतामा तयार भएर बसेकी थिएँ । तर, मलाई कोही नेताले प्रत्यक्षमा चुनाव लड्छ्स् कि भनेर सोध्दा पनि सोधेनन् । विद्या कामरेडले मलाई टिकटको लागि पहल गरिदिनुभयो भन्ने कुरा पनि लोकले पत्याउँछ जस्तो मलाई लाग्दैन । मैले प्राप्त गर्ने भए पनि उहाँले त्यो बाटो छेक्नका लागि के-के प्रयत्न गर्नुपर्छ, त्यो गर्नुहुन्छ । उहाँले हावादारी कुरा गरेर आफ्नो हैसियत गिराउन उहाँलाई सुहाउने कुरा छैन । न झलनाथ खनाल, न केपी ओली, न माधव नेपाल, न विद्या भण्डारी, न वामदेव गौतम, न ईश्वर पोखरेल कुनैपनि मान्छेले मसँग टिकटको कुरा गर्नुभएको छैन । उहाँहरुलाई गुल्मी १ मा संकट परेको भए त मसँग भन्न सक्नुहुन्थ्यो । संकट मोचन गर्न म हरेक ठाउँमा म कोषे ढुंगै थिएँ त । त्यसकारण नेताहरुले यस्ता वाहियात कुराहरु नगरेको भए उहाँहरुको कद घट्ने थिएन । मेरो चुनाव लड्ने प्रशंगै उठेको छैन भने पैसाको त झन कुरै भएन । यो त मेरो व्यक्तित्वमाथि धावा बोलिएको हो भन्ने ठान्छु ।
कोको हुन् विवादास्पद सभासद ?
झाँक्रीको विचारमा पैसा खुवाएर सभासद बनेको आरोप लागेका सभासदहरु प्राय सबै दलमा छन् । नेपाली कांग्रेसले लिइसकेको पैसा फिर्ता गरेर पाँच व्यापारीलाई सभासद नबनाउने घोषणा गरे पनि संसदीय बोर्डकै नेताले आफ्नै दलका कार्यकर्तासँग पैसा खाएको आरोप छ ।
एमालेमा राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचनलगायतमाथि पैसा खुवाएको अरोप लागेको छ । एमाओवादीमा रविन्द्रप्रताप शाह र उषा अन्सारीमाथि पैसा लेनदेनको आरोप लागेको छ । लोकतान्त्रिक फोरमबाट सभासद् बनेका गीता राणा र बाबुराम पोखरेलमाथि आर्थिक लेनदेनको आरोप लागेको छ । यस्तो विवादमा मुछिएका सभासदमाथि अख्तियारले छानविन गर्नुपर्ने र लेनदेन प्रमाणित भए उनीहरुको सभासद पद खारेज गरी संविधानसभाको गरिमा बचाउनुपर्ने झाँक्रीले आग्रह गरेकी हुन् ।
####
.jpg)





0 comments
Write Down Your Comment