प्रचण्ड बादशाह बन्न खोजे'
####good
दोस्रो संविधानसभामा समानुपातिकतर्फ सभासद छान्ने प्रक्रियामा असन्तुष्ट नेताद्वयले दाहाल पार्टीको विधिविधान मिचेर 'अलोकतान्त्रिक' बाटोमा अघि बढेको जनाउँदै त्यसविरुद्ध केन्द्रीय समितिमा छलफल गर्ने बताएका छन्।
निर्वाचन आयोगमा 'एकतर्फी' निर्णय गरी समानुपातिक सभासदको सूची पेस गरेको दाहाललाई आरोप लगाउँदै आएका नेताद्वयले बुधबारै सूची सच्याउन २४ घन्टे अल्टिमेटम दिएका थिए।
त्यसका लागि दाहालले आफूहरुलाई बिहीबार बोलाउने आशमा रहेका नेताद्वयले नबोलाउनु 'दुर्भाग्यपूर्ण' टिप्पणी गरेका छन्।
'समानुपातिकको सूची सच्याउन प्रकाशजी र मैले अध्यक्षलाई आग्रह गरेका थियौं। उहाँले आज (बिहीबार) बोलाउनुहुन्छ भनेर दिनभर कुर्यौं, तर बोलाउनुभएन। यसले के देखायो भने उहाँ सच्चिन चाहनुभएन। यो दुर्भाग्य हो। यसले मलाई दुःखी बनाएको छ,' भट्टराईले आफ्नै निवासमा बिहीबार साँझ सञ्चारकर्मीसँग भने।
आयोगमा सूची सच्याउन जाने अन्तिम समयसम्म पनि दाहालले वास्ता नगरेपछि भट्टराईले सानेपा निवासमा पत्रकार बोलाएर असन्तुष्टि मात्र पोखेनन्, पार्टी पद्धतिका लागि अब आफूले केन्द्रीय समितिमा छलफल गर्ने जानकारी दिए।
अर्का नेता श्रेष्ठसँग मिलेर नेतृत्व परिवर्तन गर्न खोज्नुभएको हो भन्ने जिज्ञासामा भट्टराईले जवाफ दिन चाहेनन्।
'को व्यक्ति भन्ने कुरै होइन। सबै कुरा केन्द्रीय समितिमा छलफल हुन्छ,' उनले भने।
भट्टराईले दोस्रो संविधानसभा चुनावमा पार्टी तेस्रो स्थानमा झर्नुको मुख्य जिम्मेवारी अध्यक्ष दाहालले लिनुपर्ने दोहोर्याए। 'निर्वाचनमा जुन परिणाम आयो, त्यसको जिम्मेवारी बढी अध्यक्षले नै लिनुपर्छ,' उनले भने, 'त्यसको जिम्मेवारी लिँदा सोपान (माथिबाट तल) तरिकाले लिनुपर्छ, त्यो भनेको अध्यक्ष अरूभन्दा बढी जिम्मेवार हो।'
अर्का नेता श्रेष्ठले नागरिकसँग कुराकानीमा अध्यक्ष दाहालको कार्यशैली बादशाहजस्तो बनेको बताए। उनले दाहालसँग हिँड्दाको उदाहरण दिँदै भने, 'अध्यक्ष कमरेडलाई अगाडि लगाएर सँगै कहीँ बाहिर निस्किनुपर्यो भने पहिलेको राजा होइन, बादशाहजस्तो देखिन्छ। पहिला हाम्रा एक/दुई सय साथीहरू आउँछन्। त्यसपछि नवधनाढ्य आउँछन्। अनि गाडी लिएर हाम्रा राज्यसमितिका इन्चार्जहरू आउँछन्।'
श्रेष्ठले दाहाललाई आफू नभए पार्टी चल्दैनजस्तो रवैया देखाएको आरोप लगाए। दाहाल नसच्चिए पार्टी विघटनको दिशातिर जाने आशंका व्यक्त गर्दै श्रेष्ठले भने, 'कसैले म नभए पृथ्वी नै घुम्दैन भन्ने नसोचे हुन्छ। प्रचण्ड कमरेड हुनुभएन भने पार्टी समाप्त हुन्छ, बाबुराम कमरेड हुनुभएन भने पनि पार्टी चल्दैन भन्ने कसैलाई लाग्ला । कसैलाई प्रकाश (नारायणकाजी) भएन भने पार्टी सिद्धिन्छ भन्ने लाग्ला। यो चिन्तन गलत छ।'
अध्यक्ष दाहालले पार्टीलाई नोकरशाही बनाउन खोजेको आरोप भट्टराई–श्रेष्ठको छ।
'प्रकाशजी र मैले नेतृत्व, पार्टी र संगठनलाई रुपान्तरण गर्न खोजिरहेका छौं। यसमा हाम्रो एजेन्डा मिलेको छ। यो कसैका विरुद्ध होइन, प्रणाली बसाउनका लागि मात्र हो,' भट्टराईले भने।
मुद्दामा कहिले कोसँग कहिले कोसँग मिल्नु भनेको विचारको रूपान्तरण भएको तर्क श्रेष्ठले। उनले भने, 'कहिले म एक्लै हुँला, कहिले प्रचण्डजीसँग हुँला, कहिले बाबुरामजीसँग हुँला। त्यही हो अन्तर्संघर्षको नियम।'
पार्टीभित्रको पछिल्लो संघर्ष कुनै व्यक्तिविरूद्ध नभई पार्टीलाई लोकतन्त्रीकरण गर्न भएको भट्टराईले दोहोर्याए। 'यहाँ कुनै व्यक्तिको होइन, विधि र प्रणालीको मुद्दा हो,' भट्टराईले भने, 'पार्टीलाई लोकतान्त्रिक बनाउन प्रयास गरिएको हो।'
विधि निर्माणका लागि आफूले प्रयास गरिरहेको, तर अध्यक्ष दाहालले त्यसलाई अस्वीकार गरी अघि बढेपछि समस्या आएको उनले बताए।
श्रेष्ठले 'प्रचण्ड'ले गलत कुरालाई सधैँ सही बनाउन खोजेर पार्टीको छवि बिगँ्रदै गएको बताए। उनले गुनासो पोखे, 'प्रचण्डले गलत कुरा भने पनि सही हुने, मैलेचाहिँ हजार सही भने पनि गलत हुने। यस्तो प्रवृत्ति भएपछि नोकरशाही प्रवृत्ति हावी हुन्छ। त्यसले विचार समूहलाई गुटमा परिणत गर्छ।'
मूल नेतृत्वका कारण नै पार्टी तेस्रो स्थान पुगेको भट्टराईले बताए। 'चुनावको परिणामपछि पार्टी किन खस्कियो भन्ने चिन्ता सबैमा हो। अब, रूपान्तरण भएर जानुपर्छ भन्ने थियो। समानुपातिकको सूची पठाउने बेला जुन प्रक्रिया अपनाइयो, यसले पार्टीको साख झन् गिरेको छ। हामी अरू पार्टीभन्दा के भिन्न रह्यौं र?', भट्टराईले पत्रकारहरूसँग भने।
समानुपातिकको पछिल्लो सूची पठाउँदा २० जिल्लालाई प्रतिनिधित्वविहीन बनाएकोे, सहिद, बेपत्ता परिवारलाई बेवास्ता गरेको, पार्टीले तय गरेको मापदण्डमा परेकालाई पाखा लगाएको भट्टराईले आरोप लगाए। बहुमत लिने र धेरै समानुपातिकमा पर्ने आँकलनमा पहिला ३ सय ३५ समानुपातिक उम्मेदवारमा सहमति भएको उनले जनाए।
'समानुपातिक उम्मेदवार बनाउँदा सहमति भएको हो। त्यतिबेला बहुमत आउँछ, सरकार बन्छ भन्नेमा बनाइएको मापदण्ड हो। अहिले केही नयाँ, कोही पार्टी नै प्रवेश नगरेकालाई समेत समानुपातिकमा पारियो। २० जिल्ला खाली बनाइयो। केही जिल्लामा दोहोर्याइयो,' भट्टराईले भने, 'को व्यक्ति कसको भनेर हामीले भनेका छैनौं। प्रक्रियागत भएन भन्ने प्रश्न हाम्रो हो।'
-
####
.jpg)




0 comments
Write Down Your Comment