‘देश दर्शन’ ले खेल्यो प्रकृतिसँग होली
####good
 २ चैत, काठमाडौं । ‘देश दर्शन’को आयोजनामा प्रकृतिसँग होली कार्यक्रम बागद्वार (बाग्मती नदीको उद्गम स्थल) मा विशेष कार्यक्रमसहित सम्पन्न भएको छ । शनिबार बिहान ८ बजेबाट सुरु भएको यात्रा बेलुका ८ बजे सम्पन्न भएको थियो । कार्यक्रममा देश दर्शनका संरक्षक वरिष्ठ निबन्धकार/नियात्राकार युवराज नयाँघरेले सहभागीहरुलाई प्राकृतिक रुपमै सात रंगबाट रंगिएको माटो लगाइदिएका थिए । सो अवसरमा ‘देश दर्शन’ले कविता प्रतियोगितासमेत आयोजना गरेको थियो । ३० मिनेटमा प्रकृतिसँग सम्बन्धित कविता रचना गरी १५ जना प्रतियोगीहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामा राजीव खत्री प्रथम, उपेन्द्र घिमिरे द्वीतीय र रुपा लामाले तृतीय स्थान हासिल गरी पुरस्कार प्राप्त गरेका थिए । कविता प्रतियोगिताको निर्णायकमा वरिष्ठ निबन्धकार/नियात्राकार युवराज नयाँघरे, कथाकार तथा अध्यक्ष शम्भु सुस्केरा रहेका थिए । महासचिव उत्तम भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए । दुई हजार ६ सय ५० मीटरको उचाइमा रहेको बागद्वार अत्यन्तै सुन्दर र मनमोहक स्थलको यो यात्रामा हिमालयन बैंकका कर्मचारीहरु, विभिन्न स्काउटका स्काउटरहरुको सहभागिता रहेको थियो । नेपाली संस्कृति र प्रकृतिलाई नजिकबाट अध्ययन गर्न युवाहरुको तदारुकतामा ‘देश दर्शन’ गठन भएको र यसले पदयात्रामार्फत प्राकृतिक सुन्दरता र महत्वको प्रचार प्रसार गर्ने मूल लक्ष्य लिएको आयोजकले बताएका छन् ।
####




0 comments

Write Down Your Comment