लोकदोहोरी 'स्टार
####good
काम पाइएन डिग्री पास गरेरभैंसी पालें गाउँतिर झरेर
चिन्ता छैन केही
मलाई अमेरिका यै
मलाई जापान पनि यै
मलाई बेलायत नि यै...
लोकदोहोरी रेस्टुराँ, स्टेज सो र विद्युतीय सञ्चार माध्यमका लोक कार्यक्रममा अनिवार्यजस्तै बनेको यो गीतका गायक पशुपति शर्मालाई यतिबेला भ्याइनभ्याई छ । उनका प्रशंसकहरू ह्वात्तै बढेका छन् । खासगरी विदेशमा रहेका नेपालीहरू उनका गीत भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले पशुपति शर्मालाई प्रवासबाट पनि कार्यक्रमका निम्तो आइरहेका छन्, देशभित्रको त कुरै भएन ।
अघिल्लो महिना मात्र युरोपका विभिन्न देश पुगेर फर्केका शर्मा भन्दै थिए, 'लोकदोहोरीमा लोभलाग्दो आकर्षण बढिरहेको छ ।' नेपालमै पनि परम्परागत कृषि कर्ममा लागेर जिन्दगीलाई सुखद र सन्तोषी बनाउन सकिन्छ भन्ने भाव प्रकट गर्ने यो गीत पशुपतिले आफैंले बनाएका हुन् । खाडी देशहरू घुम्दा उनले सुनेका बाध्यताका सुस्केरा, पीडा र भारी परिश्रमका गुनासाका कारण यो गीत बनाइएको रहेछ । उनी भन्छन्, 'एउटा आशावाद जगाउन पनि मैले यो गीत बनाएको हुँ ।' उनको दाबीजस्तै गीतले समाजमा आशाको सञ्चार कत्तिको गरिरहेको छ त्यो त थाहा छैन तर लोकगीत भनेपछि नाक उचाल्नेहरू पनि यो गीतको लयमा टाउको हल्लाउँदै रमाएको अनुभव उनीसँग छ ।
स्याङजा बाडखोलमा जन्मे हुर्केका यी तन्नेरी गायक यही मात्र चर्चित गीतका मालिक होइनन् । उनका अरू पनि त्यस्ता दर्जनौं गीतहरू छन् जसले लोकगीतको एउटा परम्परा र छनकलाई नयाँ मोड दिएका छन् । घिसिपिटी र शिथिल बनेको लोक गायनमा उनका गीतले नयाँ गति र रङ्ग थपेका छन् । उनले जति लोकदोहोरी बनाएका छन् अधिकांश जोशिला र रमाइला छन् । अर्को अर्थमा, उनका गीतहरू 'बीट'भित्रका 'अफबिट' छन् भन्दा फरक पर्दैन । अजश्र आँसु र यसको विरही भावबाट एकतमासले गुज्रेको नेपाली लोकगीतको फेरोमा हास्य र व्यक्तिगत रामरमिता अन्तरघुलन गराउने गायक शर्माको आफ्नै कथा भने गीतजस्तो लयबद्ध छैन । 'म निन्तान्त मेरो रुचिका कारण मात्र गायक बनें,' उनी अनुभव सुनाउँछन्, 'लोकदोहोरी गाउन, त्यो पनि प्रत्यक्ष, पटक्कै सजिलो छैन । मिहिन अभ्यास र गहिरो लगाव जरुरी पर्छ ।'
पश्चिमाञ्चल त्यसै पनि लोकदोहोरी गीतका लागि कहलिएको क्षेत्र हो । गाउँघरमा हुने हरेक पूजाआजामा खैजडी, मुजुरा, मुलरी र मृदङ्ग बज्छन् । भजन कीर्तन हुन्छन् । अधिकांश यस्ता जमघटहरू दोहोरीमा अनूदित हुन्छन् । हरेक जाति र समुदायका आ-आफैं खालका लोकगीतका भाका र शैलीहरू छन् । आफ्नो परिवेश र परम्पराबाट ग्रहण हुने सांस्कृतिक पहलु र प्रभाव त छँदैछ, पशुपतिले आफू सानै छँदा रेडियोमा बज्ने लोकगीतका भाका नक्कल गर्न सिके । उनमा कताकता उही बेलादेखि विद्युतीय तरङ्गमा आफ्नो स्वर पनि गुन्जोस् भन्ने चाह टुँसायो । घरमा परिवारले भने उनलाई डाक्टर या इन्जियर बनाउन चाहन्थ्यो । त्यसैले उनलाई बोर्डिङ स्कुल भर्ना गरिएको थियो । छोराले अंग्रेजी बोलोस्, गजब गरोस् भन्ने अभिभावकीय सोचको चेपमा पनि हुर्कंदै गरेको लोकगीतप्रति मोह उच्च शिक्षाका लागि काठमाडौं आउँदासम्म हराएन ।
०५६ सालमा पहिलोपटक उनी काठमाडौं आए । दाजु एमबीबीएस पढ्न कोठा लिएर बसेका थिए । पशुपति दाजुसँगै बसे । एकोहोरो अध्ययनमा निर्लिप्त हुने दाजुलाई भाइको गुनगुनाहटले 'डिस्ट्रब' गर्यो । खाना बनाउँदा होस् या कपडा धुँदा वा फुर्सदमा बस्दा किन नहोस् उनी लोकगीत गुनगुनाइरहन्थे । उनी दाजुसँग छुट्टएिर लोकगीत रेकर्ड गराउने चक्करमा लागे । एक महिनाभन्दा लामो अभ्यास गरेर ०५९ सालमा पशुपतिले पहिलो गीत रेकर्ड गराए, गायिका सिन्धु मल्लसँग । 'स्याङ्जामाथि वन बोल'को सो गीत खास चलेन । लोकगीतको बजारु स्वरूप बदलिंदै थियो । एल्बमहरू बिक्री हुन छाडेका थिए । बिस्तारै विद्युतीय माध्यमको जमना आउँदै थियो । अर्कोतिर सहरले लोकगीतलाई फरक हिसाबले स्वीकार गर्दै थियो । रेस्टुराँमा दोहोरी गीतले स्थान पाउन थालेको थियो । यही बीचमा लाक्पा शेर्पाले 'त्रिवेणी ठमेल साँझ' खोले, पशुपतिको रेस्टुराँ यात्रा त्यहीबाट सुरु भयो । उनले रेस्टुराँमा ग्राहकको भाव र चाहनासँग संलाप गर्थे । रेस्टुराँमा गाउँदा एकातिर काठमाडौंमा लाग्ने खर्चको जोहो हुन्थ्यो भने अर्कोतिर प्रत्यक्ष रूपमा दोहोरी गाउने क्षमताको अभिवृद्धि । भन्छन्, 'रेस्टुराँमा ग्राहकहरूमाथि टीकाटिप्पणी गर्नुपर्ने हुनाले गीतका गेडा बनाउने र परिस्थितिलाई रमाइलो पार्ने अनुभव परिस्कृत हुँदोरहेछ ।'
####
.jpg)



0 comments
Write Down Your Comment