आठ लेनको सडक त बन्यो पुल बन्ने कहिले
####good
योजनाअनुसार बागमती र धोबीखोलामा चारवटा पुल बन्नुपर्ने हो। हाल भइरहेका पुलको दायाँबायाँ दुईदुईवटा पुल बनाउनुपर्नेमा अहिलेसम्म नक्सासमेत तयार छैन। सडक विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले पुल बनाउने कि नबनाउने दोधारकै कारण काम ढिलो भएको बताए। उनले भने, ‘पुरानै पुलले काम चलाउने कि नयाँ बनाउने भन्नेमा सरकार दोधारमा परेकाले एक वर्ष त्यतिकै खेर गयो।’ धोबीखोलामाथि ५०-५० मिटरका दुईवटा र बागमती नदीमा ६०-६० मिटरका दुईवटा पुल बनाउने योजना भने छ। यो सडक निर्माण र विस्तार कार्य २०६९ वैशाखमा सुरु भएको हो। पुलको नक्सा नबनेकाले टेन्डर प्रक्रिया सुरु भएकै छैन। तर माघमै टेन्डरको तयारी गरे पनि अघि बढाउन नसकिएको सरकारी दाबी रहेको अन्नपूर्ण पोस्टमा खबर छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले सडक निर्माणमा बढी खर्च लाग्ने देखिएपछि तत्काल पुल निर्माण अघि बढाउन नसकिएको तर्क गरे। उनका अनुसार चारवटा पुल निर्माणमा २५ करोड रुपैयाँ खर्च हुने अनुमान छ। बागमतीमा दुईवटा पुलको नक्सा डिजाइन गर्ने जिम्मा पाएको सिल्ट कन्सल्टेन्ट र धोधीखोलाका पुल डिजाइनको जिम्मा पाएको मेह कन्सल्टेन्टले ढिलो गर्दा काम हुन नसकेको सरकारी दाबी छ। उनीहरूले पाँच महिनाअघि डिजाइन गरेको पुलको नक्सा सरकारले अस्वीकार गरेको थियो। सडक विस्तार आयोजना प्रमुख खरेलले नक्सा चाहेजस्तो नभएपछि पुनरावलोकनका लागि फिर्ता पठाइएको बताए। धोबीखोला पुलको अर्को नक्सा प्राप्त भए पनि बागमतीको भने अझै बनेको छैन। खरेलले भने, ‘पुलका लागि काम ढिला भएको छ। सिनामंगलको पुल बनाउन पाँच वर्ष लागेको अनुभव ध्यानमा राख्दै निर्माण प्रक्रिया चाँडै अघि बढाउँछौं।’ सरकारी दाबीअनुसार चाँडै काम सुरु भए पनि पुल बन्न कम्तीमा दुई वर्ष लाग्छ।
####
.jpg)




0 comments
Write Down Your Comment