चाँडै पेट्रोलियम पदार्थको मूल्य बढाउँछौं : मन्त्री रिजाल
####good
'मूल्य नबढाउँदा शहरका संभ्रान्तलाई फाइदा'
८ बैशाख, बिराटनगर । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले चाँडै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने बताएका छन् । पेट्रोलियम पदार्थमा अहिले देखिएको समस्या मूल्यवृद्धि गरिएपछि केही दिनमै हट्ने मन्त्री रिजालले बताएका छन् ।minendra rijal
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा सोमबार बिराटनगरमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन गृहजिल्ला आइपुगेका मन्त्री रिजालले आइतबार पत्रकारहरुसँग तेलको मूल्य बढाउनुको विकल्प नरहेको बताएका हुन् ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने हो भने स्वास्थ्यमा खर्च गर्ने बजेट आयल निगमलाई दिनुपर्ने हुन्छ,’ मन्त्री रिजालले भने ‘यसो गर्दा दूरदराजका जनताको साटो शहरका संभ्रान्त वर्गलाई मात्र फाइदा पुग्छ । त्यसैले अन्तरराष्ट्रिय मूल्य समायोजनको बिकल्प छैन ।’
पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे संसदीय समितिले अध्ययन प्रतिवेदन तयार पारिरहेको र सो प्रतिवेदन आइसकेपछि केही दिनभित्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी सरकारले समस्या समाधान गर्ने मन्त्री रिजालले बताए ।
सत्य निरुपणमा मध्यमार्गी बाटो
मन्त्री रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा सरकारले मध्यम विकल्प अपनाएको बताए । द्वन्द्वकालका घटना चर्काउने वा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आम माफी दिने दुबै कार्य उचित नहुने भएकाले वीचको बाटोबाट समस्या समाधान गर्ने गरी विधेयक ल्याइएको मन्त्री रिजालको भनाइ छ ।
आज कांग्रेसको प्रशिक्षण
नेपाली का्रंग्रेसको मेची महाकाली जागरण अभियानका क्रममा सोमबार बिराटनगरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । प्रधानमन्त्री सुशील कोइराला प्रशिक्षणमा सहभागी हुन बिराटनगर आइपुगेका छन् । प्रधानमन्त्री कोइराला अभियानमा सहभागी हुन आइतबार झापा पुगेका थिए ।

####




0 comments

Write Down Your Comment