एक्लैले बनाइदिए डेढ करोडको विद्यालय
####good
पोखरा, वैशाख १० - भन्ने गरिन्छ- धन हुनेको मन हुँदैन । तर त्यो सबैलाई लागू हुँदो रहेनछ । नपत्याए पोखरा-८ जाल्पारोडका सनतकुमार श्रेष्ठलाई हेर्नुहोस्, जसले एक्लै डेढ करोड रुपैयाँ खर्चेर सामुदायिक विद्यालय बनाइदिएका छन् ।

लेखनाथ-८, मोहरियास्थित नवज्योति निमाविको २३ वर्षअघि बनेको भवन भत्किएपछि नयाँ बनाउन विद्यालयले विभिन्न संघसंस्था धायो । बनाइदिने कोही निस्किएन । उपायका लागि महायज्ञ लगाउने वा चन्दा उठाउने कुरा चल्यो । त्यही क्रममा श्रेष्ठले घोषणा गरे- 'म एक्लैले बनाइदिन्छु ।'

'एक्लैले यति ठूलो सहयोग गरेर भवन बनाइदिँदा गौरव लागेको छ,' व्यवस्थापन समिति अध्यक्ष सरिता त्रिपाठीले भनिन्, 'कमाउनु मात्रै होइन, सामाजिक क्षेत्रमा लगानी गर्नु ठूलो हो ।'

उनले अत्याधुनिक भवन बनाइदिएका छन् । दुईतले भूकम्प प्रतिरोधात्मक भवनमा १२ कोठा छन् । विद्यालयले यसै शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । 'निर्माण काम सकिएको छ,' प्रधानाध्यापक लीलामणि त्रिपाठीले भने, 'फिनिसिङ भइरहेको छ । केही दिनमै सकिन्छ ।'

व्यक्तिगत लगानीमा सरकारी स्कुल बनाउने कुरा गर्दा केहीले श्रेष्ठलाई 'बुद्धि नभएको' समेत भनेका थिए । तर, उनले सुनेनन् । विगत सम्भिmए । 'आत्माबाटै सहयोगको भावना जागेपछि अरूको भनाइमा लागिनँ,' उनले भने, 'सम्पत्ति थुपारेर मात्रै के गर्नु ? एक दिन छाडेर जानैपर्छ । त्यही भएर धेरैको भविष्य बन्ने ठाउँमा सहयोग गरेको हुँ ।'

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा राज्यकै दायित्व हुनुपर्नेमा एउटा व्यक्तिले यति ठूलो सहयोग गर्नुलाई लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी चानचुने ठान्दैनन् । 'श्रेष्ठको यस्तो उदाहरणीय कामले धनसम्पत्ति जम्मा गर्नेलाई समाजमा केही गरौं भन्ने प्रेरणा जगाएको छ,' उनले भने, 'राज्यलाई पनि नैतिक चुनौती दिएको छ । यस्ता व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्छ ।'

जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले ठूलो लगानीमा भवन बनाइदिनुलाई 'महान्' काम भने । 'यस्ता समाजसेवीलाई प्रोत्साहन गर्नुपर्छ,' उनले भने । सनतको विगत निकै मार्मिक छ । पुख्र्यौली घर पोखरा तेर्सापट्टी भए पनि व्यापारको सिलसिलामा परिवार लमजुङको बाहुनडाँडा पुग्यो । उनी लमजुङमै जन्मिए । व्यापार तनहुँको डुम्रे सर्‍यो । व्यापारिक सिलसिलामा सनतले कहिले बन्दीपुर, कहिले आँबुखैरेनी त कहिले सत्र सय फाँटमा पुग्नुपर्‍यो । २०३८ सालमा गएको पहिरोले बाबुआमा, दुई बहिनी र भाइलाई पुर्‍यो । उनी एक्ला भए । परिवारका सबै सदस्य

गुमेपछि उनलाई पोखरास्थित ठूलीआमाको घरमा ल्याइयो । आफन्तले पृथ्वीचोकमा फेन्सी पसल खोलिदिए । काम गर्दै जाँदा पोखरामा जग्गाको कारोबार बढ्न थाल्यो । उनी त्यसतर्फ पनि

लागे । उनको अहिले हाउजिङ र ट्राभल्स कम्पनी छन् । फेन्सी पसल छँदै छ । कमाइ राम्रो छ ।

दस कक्षामा पढ्दापढ्दै पारिवारिक वियोगले बिल्लीबाठ भएका उनलाई पढाइको भोकले सताइरहन्छ । 'पहिरोका कारण मेरो पढाइ रोकियो,' सनत भन्छन्, 'त्यही सम्झेर शैक्षिक क्षेत्रमा सहयोग गर्न मन लागेको हो ।' विद्यालयले उनको सम्मानमा नाम फेरेर 'नवज्योति सनत-दुर्गा निमावि' बनाउन लागेको प्रअ त्रिपाठीले बताए । यसमा दरबन्दीका ७ र स्थानीय स्रोतका ३ शिक्षक छन् । डेढ सय विद्यार्थी छन् ।

####




0 comments

Write Down Your Comment