नेपाललाई सगरमाथा र बुद्धको देश भन्नु अर्धसत्य
####good
१० बैशाख, काठमाडौं । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले विगत नभुलिकन, भविष्यको बारेमा सोच्दै र भोलिका लागि काम गर्न अनुरोध गर्दै लेखेको पुस्तक ‘देखेको मुलुक’ ०६६ मंसिर २८ गते सार्वजनिक भएको थियो । पुस्तक विमोचन समारोहमा तत्कालीन संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले भनेका थिए, ‘धेरै नेपालीले सोच्दै आएका सामयिक विषयलाई लेखकले भिन्नै दृष्टिकोणले नियालेका छन् ।’ त्यस्तै एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीको भनाइ थियो, ‘सहरिया बौद्धिक वर्गले देखेको कुरा नबोल्ने र बोले पनि कुरा चपाउने प्रवृत्तिप्रति पुस्तकले कटाक्ष गरेको छ ।’ साउथ एसिया ट्रस्टमा नर्वेजियन दूतावासको ६ करोड २७ लाख आर्थिक सहयोगको विषय चर्कंदै गएपछि दीक्षितको पुरानो पुस्तकबारे नयाँ बहस सुरु भएको नयाँ पत्रिकामा खबर छ ।
कनकमणिले फेरि भने जे लेखेको छु, त्यही हो
लुम्बिनी भ्रमण वर्षमा भाग लिन र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न राष्ट्रसंघका महासचिव वान कि मुन १६ वैशाख ०६९ मा नेपाल आइपुग्ने कार्यक्रम थियो । तर, पत्रकार कनकमणि दीक्षितले महासचिव वानको भ्रमण रोक्न अभियान चलाए, दीक्षितसँगै लबिङमा लागेका राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम राष्ट्रसंघीय मुख्यालय न्युयोर्क नै पुगेपछि वानको भ्रमण रोकिएको थियो । अहिले लुम्बिनीबारे विवादास्पद प्रसंग र महासचिव वानको भ्रमण स्थगनसँग जोडेर पनि सोसल मिडियामा दीक्षितको चर्को आलोचना भइरहेको छ । यही सन्दर्भमा मंगलबार साँझ नयाँ पत्रिकाले दीक्षितसँग विवादास्पद पुस्तक अंशबारे जिज्ञासा राखेको थियो ।
दीक्षितको जवाफ
लेखेको कुरा हो, बहस त भइरहन्छ । त्यो मैले लेखेको कुरा हो र जे लेखेको छु त्यही हो । के लेख्या छु भन्दाखेरि, बुद्ध नेपालमा जन्मिएको हामी भन्छौँ । साधारण हिसाबले भन्नलाई ठीकै छ । तर, हामीले यसलाई अति राष्ट्रवादमा लग्नु हुँदैन । त्यसमा जुन शब्द छ, त्यही हो । त्यसैले थप कमेन्ट के गरौँ ? किताबमा मैले जे कुरा लेख्या छु, मेरो नामसहित अगाडि तस्बिर पनि छ ।
एउटा मात्रै कुरा छ क्या (गौतम बुद्ध जन्मिँदा) नेपाल थिएन क्या त्यो ठाउँमा कपिलवस्तु राज्य थियो होला, शाक्य वंशको राज्य थियो होला, अहिले सौभाग्यवश म यतिचाहिँ भन्न सक्छु, त्यो क्षेत्र आजको नेपालको भू–भागभित्र पर्‍यो । र, यसको सन्तुष्टि पनि हामीलाई छ । सौभाग्यवश, जुन क्षेत्रमा शाक्यमुनि सिद्धार्थ गौतम जन्मिएका थिए, त्यो क्षेत्र नेपाल राष्ट्रको भूमिभित्र पर्न गयो । यसको अध्यात्मिक सन्तुष्टि तथा आर्थिक फाइदा नेपालले लिनै पर्दछ । तर, नेपाल जन्म नहुँदै भगवान् बुद्धको जन्म भएको थियो । तसर्थ, बुद्ध नेपालमा जन्मिएका थिए भनेर एउटा साधारण टिप्पणी गर्न केही आपत्ति छैन, तर यसको भरमा राष्ट्रवाद नै निम्त्याउन उचित होइन जस्तो मलाई लाग्छ ।
म भन्दै छु नि, टुरिस्टका लागि लेख्दा, ब्रोसरमा लेख्दा केही आपत्ति छैन र यसै साधारण कुरा गर्दाखेरि कुनै आपत्ति छैन, तर जब हामी बुद्ध नेपालमा जन्मिएका थिए भनेर एकदम युद्ध छेड्याजस्तो गरी अति आवाज उठाउँछौँ, त्यो मेरा लागि चाहिँ अति राष्ट्रवाद हो ।
सगरमाथा पनि आधी–आधी हो नि । त्यो त हो नै । साधारण बोलीचालीमा सगरमाथा हाम्रो भन्न पायौँ, तर सगरमाथा भनेको एउटा ढुंगा हो, ढिक्का हो । तर, तपाईं एकछिनका लागि प्योर तर्क मात्र प्रयोग गर्नुस् न । त्यो तर्क प्रयोग गर्दाखेरि जबचाहिँ यतापट्टि त्यो देउरालीको धार हुन्छ नि त्यसअनुसार यता र उता छुट्याइएको छ भने सगरमाथा हाम्रो प्योर तथ्य, वैज्ञानिक हिसाबले हाम्रो भनेपछि सबै हाम्रो हो नि त । त्यसैले सबै हाम्रो होइन, आधा हाम्रो हो, त्यसमा पनि हामी गर्व गर्छौँ, फाइदा लिन्छौँ । र, साधारण बोलीचालीका लागि ठीक छ, तर मैले त किताबमा एउटा तर्क प्रस्तुत गर्दै छु कि अलि गहिराइमा जानेबित्तिकै त्यो तर्क त अट्दैन नि । त्यत्ति हो कुरा ।
मलाई लाग्छ, हामी अगाडि बढ्नका लागि दुइटै कुरा चाहिन्छ । साधारण बोलीचालीका लागि बुद्ध नेपालमा जन्मिएका थिए भन्दा केही बिग्रदैन, सगरमाथा हाम्रो पनि भन्न मिल्यो, तर बालबालिकाहरू वयस्क हुँदै जाँदाखेरि यति कुरा त जान्नुपर्‍यो नि ।
म भन्दै छु नि, टुरिस्टका लागि लेख्दा, ब्रोसरमा लेख्दा केही आपत्ति छैन र यसै साधारण कुरा गर्दाखेरि कुनै आपत्ति छैन, तर जब हामी बुद्ध नेपालमा जन्मिएका थिए भनेर एकदम युद्ध छेड्याजस्तो गरी अति आवाज उठाउँछौँ, त्यो मेरा लागि चाहिँ अति राष्ट्रवाद हो । -

####




0 comments

Write Down Your Comment