भीमेश्वरको चुडामणि स्तम्भ ढल्यो, बलि बन्द
####good
भीमेश्वरको चुडामणि स्तम्भलाई मन्दिरका सबै देउताको बासस्थान मानिन्छ। देवताको सहर्ष रूप मानिने भीमेश्वर मन्दिरभित्र विभिन्न देवता अनुसारको पूजा हुँदा अन्य देवता चुडामणि स्तम्भमा गएर बस्ने धार्मिक विश्वास छ।
भीमेश्वरलाई भक्तजनले विभिन्न रूपमा पूज्ने गर्छन्। ‘बलि पूजा हुँदा भीमेश्वर, महादेव र विष्णुले बलि नखाने हुनाले शिलामा बली दिने बेलामा यही स्तम्भको माथि गएर बस्ने गर्छन् भन्ने विश्वास छ,' मन्दिरका गुठियार भरत श्रेष्ठले भने। यस्तै मन्दिरमा रुद्री पूजा हुँदासमेत भीमेश्वरको शिलाबाट डोरा तानेर यही स्तम्भसम्म डोराले जोडिन्छ र चुडामणिमा रहेका महादेव शिलामा आइपुगेर रुद्री गरिने जनविश्वास छ। भीमेश्वरलाई सहर्ष रूप मानिने हुनाले भक्तजनले बलि खाने र नखाने देवताको पूजा गर्ने समयमा अन्य देवता यही स्तम्भमा गएर बस्ने गरेको बताउने स्थानीय बूढापाका बताउँछन्।
२००९ सालमा ठड्याइएको स्तम्भ बिहीबार दिउसो चलेको हावाहुरीले ढालिदिएको मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले जनाए। उनका अनुसार स्तम्भ ढलेपछि बलि पूजा रोकिएको छ। ‘सबै देवीदेवता शिलामा आएर बस्ने जनविश्वास रहेकाले अर्को स्तम्भ नठड्याउन्जेल बलि पूजा रोकेको हौं,' उनले भने।
उनका अनुसार अहिलेको स्तम्भ मक्किँदै गएपछि ४ वर्षअघि नै नयाँ काठको स्तम्भ ल्याइसकिएको छ। ‘तान्त्रिक विद्या प्रयोग गरी होम गरेर पूजाआजा गरी जोर राँगा र जोर बोका बली दिएर मात्र नयाँ स्तम्भ ठड्याइन्छ,' उनले भने।
उनका अनुसार साइत जुराएर उपत्यकाबाट तान्त्रिक विद्या जान्ने गुभाजूहरू झिकाएपछि मात्र नयाँ स्तम्भ ठड्याइनेछ। नयाँ स्तम्भ ठड्याउन एक साता लाग्छ। स्तम्भ ढलेपछि मन्दिर पुगेका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले तत्काल नयाँ स्तम्भ ठड्याउने व्यवस्था मिलाउन मन्दिरका पुजारी र गुठियारलाई निर्देशन दिएका थिए।
####
.jpg)




0 comments
Write Down Your Comment