वैदेशिक रोजगारमा निवृत्त सैनिकको हूल
####good
काठमाडौ, जेष्ठ १० - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि शुक्रबार राति शान्ति सेनामा हिँड्न लागेको सैनिक टोलीजस्तै देखिने हूल थियो । उनीहरू खासमा नेपाली सैनिकै हुन् तर हालै सेवा निवृत्त भएका ।

उनीहरू शान्ति सेनामा नभएर कामदारको रूपमा विदेशभूमि जान लागेका थिए । सबैको लगभग उस्तै पोसाक छ, सेतो कमिज, धर्के टाई, कालो सुट र कालो जुत्ता । प्रायःको हतमा एउटा सुटकेस र काँधमा झोला छ । हतारमा रहेका उनीहरू कोही आफन्तसँग फोनमा कुरा गर्दै थिए भने कोही सँगै आएका आफन्तसँग । कोही साथीसँग फोटो खिच्न पनि छुटाउँदैन थिए । 'राति साढे ११ बजे फ्लाइट छ, अब भित्र छिर्नुपर्छ,' अर्का एक पूर्वसैनिकले भने, 'हामी कतारमा सेक्युरिटी गार्डका लागि जान लागेको हो ।'

उनीहरूका अनुसार तीनवटा म्यानपावर कम्पनीले जिम्मा लिएर पूर्वसैनिकहरूलाई सेक्युरिटी गार्डमा कतार पठाउन लागेका हुन् । 'काजगपत्र पहिल्यै दिएको भए पढ्न हुन्थ्यो, यतिबेला बल्ल पाइयो,' अर्का एक युवकले सुनाए, 'सबैको एउटै त होला ।'

त्यही भीडमा सैनिक सेवाबाट निवृत्त भलिबल खेलाडी केशव पाण्डे, ३६ पनि छन् । उनले १६ वर्ष २ महिना ९ दिनको सैनिक सेवाबाट २ महिनाअघि अवकाश लिएका थिए । कम्तीमा ५ वर्ष सकेजति काम गरेर कमाउने योजनामा छन् उनी ।

'के गर्ने यहाँ काम नपाएपछि विदेश जानुपर्ने भो' साफमा खेलेका पाण्डेले भने, 'यत्रो वर्ष खेलमा बिताएँ, परिवार धान्न विदेश जानुपर्ने भयो ।' घरमा बुवा, आमा, श्रीमती, २ छोरी र छोरा छन् ।

६ फिट २ इन्ज अग्ला पाण्डेले डेड वर्षको सैनिक तालिमपछि जागिरे जीवन खेलकुदमै बिताए, त्रिभुवन आर्मी क्लबमा । हवल्दारमा निस्केका पाण्डे सेवा निवृत्त भएको दुई महिनै वैदेशिक रोजगारमा हानिएका हुन् । त्यही टोलीमा अर्का साफमा सहभागी खेलाडी गोरखामा रामचन्द्र कुमाल पनि छन् । 'यहाँ बसेर के गर्नु, केही पाइँदैन,' कुमालले भने, 'बरु विदेशै ठीक होला भनेर हिँडियो ।'

उनीहरूका अनुसार यही टोलीमा सैनिक खेडाली दीपक थापामगर, संजिव साह र वेट लिफ्ट खेडाली दिगम्बर यादव पनि छन् । प्रधानसेनापति गौरवशमशेर जबराले निवृत्त सैनिकलाई आयमूलक कामका लागि १० लाख रुपैयाँसम्म दिन सकिने कार्यक्रम उद्घाटन गरेकोे भोलिपल्टै निवृत्त सैनिकहरूको ताँती नै वैदेशिक रोजगारमा निस्केको छ ।


####




0 comments

Write Down Your Comment