नगरबाट गाउँमा सर्दै हेपाटाइटिस
####good
विराटनगर : झन्डै तीन सातादेखि विराटनगरमा महामारीका रूपमा फैलिएको हेपाटाइटिसबाट मोरङको ग्रामीण भेगका बासिन्दा पनि प्रभावित भएको पाइएको छ। झोराहाट गाविसमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा हेपाटाइटिसका बिरामी भेटिएका हुन्। शिविरमा बिरामी भेटिएपछि हेपाटाइटिस गाउँमा पनि फैलिएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।कर्मशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सक लगेर शिविर सञ्चालन गरिएको थियो। स्वास्थ्य परीक्षण र उपचारका लागि आएका दुई हजार दुई सय नौजनामध्ये १० जनामा पूर्ण रूपमा हेपाटाइटिस भेटिएको र अन्य धेरैलाई संकमणको खतरा रहेको नोबेलका प्रशासकीय एवं सूचना अधिकृत नारायण दाहालले बताए। हेपाटाइटिसको संक्रमण फेला परेकालाई थप उपचार सुरु गरिएको छ। उनले सहरबाट जन्डिस गाउँ पसेको पुष्टि भएको बताए।
यसैबीच विराटनगरमा केही समय यता फैलिएको हेपाटाइटिस रोगको कारण पत्ता लगाउन र रोकथामका लागि अनुसन्धान गर्न आइतबारबाट विशेषज्ञ चिकित्सक टोली विराटनगर आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पब्लिक हेल्थ डिपार्टमेन्टका डा. दीपक यादवको नेतृत्वको पाँच सदस्यीय टोलीले आइतबार काम थालेको छ। टोलीमा निमेश पौडेल, दीपेश ताम्रकार र तथ्यांक संकलक तेजेन्द्र पण्डित तथा गणेश साह सहभागी छन्।
टोलीले हेपाटाइटिस लागेका बिरामीको तथ्यांक संकलन गर्न सुरु गरेको छ। परीक्षणका लागि बिरामीको रगतको नमुना संकलन, विभिन्न स्वास्थ्य संस्थामा पुगेर अनुगमन, खानेपानीको नमुना संकलन तथा स्वास्थ्य संस्थालाई प्राविधिक सल्लाह र सुझाउ दिने काम टोलीले गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताए। टोलीको नेतृत्व गरेका यादवले महामारी नियन्त्रण गर्न नसके थप समस्या उत्पन्न हुने बताए। तीन दिनभित्रमा हेपाटाइटिस फैलिनुको कारण पत्ता लगाएर नियन्त्रण सुरु गरिने उनले बताए।
जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार मोरङमा अहिलेसम्म चार सय २२ जनामा हेपाटाइटिसको संक्रमण भएको छ। पूर्ण रूपमा तथ्यांक संकलन भने गरिनसकिएको कार्यालयले जनाएको छ। विराटनगरबाहिरका स्वास्थ्य संस्थामा पनि बिरामी उपचाररत रहेका कारण पूर्ण रूपमा तथ्यांकन संकलन हुन नसकेको कार्यालयको भनाइ छ।
बिरामी पर्नेमा २७ जना प्रहरी छन्। २५ जना बिरामी विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेको सुब्बाले बताए। उनका अनुसार कोसी अञ्चल अस्पताल, विराटनगर अस्पताल, मोरङ सहकारी अस्पताल, नोबेल मेडिकल कलेज, गोल्डेन अस्पताल, ग्रिन क्रस अस्पताल र लाइफ गार्ड अस्पतालमा बिरामीको मात्रा बढी छ। विराटनगर २, ६, १०, ११, १३ र १५ वडामा बिरामीको संख्या बढी छ।
'यो रोग सर्ने अवधि ४० दिन हुन्छ', यादवले भने, 'रोग फैलन थालेको तीन साता पनि नपुगेका कारण अझै फैलन सक्छ ।' खानेपानी र खानेकुराबाट यो रोग सर्ने उनले बताए।
खानेपानीमा दिसाका जीवाणु
विराटनगरमा वितरण गरिएको खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु 'फिकल कोलिफर्म' भेटिएको छ। खानेपानी संस्थानले वितरण गरेको पानी परीक्षणका क्रममा जीवाणु फेला परेको हो। संस्थानले केही दिनअघि सिमएन परियोजनाको विराटनगरस्थित ल्याबमा परीक्षणका लागि नमुना पठाएको थियो।
विराटनगरमा हेपाटाइटिसको प्रकोप फैलिएपछि खानेपानीबाट रोग फैलिएको आशंकामा पानी परीक्षणका लागि पठाइएको थियो। नगरका विभिन्न क्षेत्रबाट संकलन गरेर परीक्षण गर्दा पानीमा फिकल कोलिफर्म फेला परेको हो। कोलिफर्म भेटिएका कारण विराटनगरको पानी पिउनयोग्य नभएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ। ६ स्थानको पानी परीक्षण गर्दा चार स्थानकोमा जीवाणुको प्रकोप फैलिएको पाइएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए। खानेपानी पाइप फुटेर ढल मिसिएका कारण पानीमा कोलिफर्म मिसिएको हुन सक्ने उनको भनाइ छ।
हेपाटाइटिसको प्रकोप अनुसन्धान गर्न आएको विशेषज्ञ टोलीले पनि पानीको परीक्षणका लागि नमुना संकलन गर्न थालेको छ। नेपाल खानेपानी संस्था विराटनगर कार्यालयका प्रशासन प्रमुख रत्नप्रसाद राजवंशीले संस्थानले वितरण गर्दै आएको पानीमा कोलिफर्म भेटिएको बताए। 'पानीमा हानिकारक जीवाणु भेटियो', राजवंशीले भने, 'पानी स्वच्छ बनाउन काम सुरु गरिएको छ।'
####
.jpg)


.jpg)

0 comments
Write Down Your Comment