लोकप्रिय खेलाडीको मनोनयनमा को को परे?
####good
काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पल्सर स्पोर्ट्स अवार्ड २०७० अन्तर्गत वर्षको लोकप्रिय खेलाडी विधाको मनोनयनमा परेका छन्। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार सार्वजनिक गरेको मनोनयनमा पारससँगै फुटबलका चर्चित युवा स्ट्राइकर विमल घर्तीमगर, भलिबलकी सरस्वती चौधरी, पौडीकी सोफिया शाह र एथलेटिक्सका यामसाजन सुनुवार परेका छन्।
मञ्चका सचिव एवं खेलाडी छनोट समिति संयोजक प्रकाश तिमल्सिनाले मनोनित खेलाडीको नाम सार्वजनिक गरे। समर्थकहरूले गरेको एसएमएस मत र फेसबुक लाइकका आधारमा विजेता चयन गरिने मञ्चले जनाएको छ।
लोकप्रिय खेलाडीको मनोनयन गर्दा खेलाडीले बितेको वर्षमा गरेको प्रदर्शन र उपलब्धिसँगै त्यसले पारेको प्रभाव र जनचासोलाई आधार बनाइएको छनोट समिति सदस्य नवीन खतिवडाले बताए। उनका अनुसार एसएमएसबाट प्राप्त एक मतलाई पूर्ण मत मानिनेछ भने फेसबुकमा चार लाइक बराबर एक मत गणना गरिनेछ।
पल्सर स्पोर्टस अवार्डको दिन जेठ १८ मा नै लोकप्रिय खेलाडी घोषणा हुनेछ। स्पोर्टस अवार्डको ११ औं संस्करणमा वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा पुरस्कार दिने मञ्चले जनाएको छ। अन्य विधाका मनोनित तथा विजेता छनोट समितिले गर्नेछ भने लोकप्रियको चयन समर्थकको मतबाट चयन गर्ने व्यवस्था छ।

पारस खड्का
स्पोर्टस अवार्डमा पुरुष र युवा वर्ष खेलाडीको अवार्ड जितिसकेका पारसको नेतृत्वमा गत वर्ष नेपाली टोलीले पहिलोपल्ट ट्वान्टी–२० विश्वकप खेलेको थियो। विश्वकपमा हङकङ र अफगानिस्तानसँगै १४ वर्षदेखि टेस्ट खेलिरहेको बंगलादेशलाई हराएको थियो।
विश्वकपमा नेपाललाई छनोट गराउन पनि मुख्य भूमिका निर्वाह गरेका पारस विश्वकप छनोट दौरान क्रिकइन्फोको उत्कृष्ट–११ मा लगातार दोस्रो पटक पर्न सफल भए। बर्मुडामा डिभिजन ३ को उपाधि उचाल्दा, युएईमा विश्वकप छनोट हुँदा तथा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दा नेतृत्व गरेका पारस पछिल्लो वर्ष देशभित्र तथा विदेशमा समेत निकै चर्चा बटुल्न सफल भए।









बिमल घर्तीमगर
विमल नेपाली फुटबलका आशालाग्दा खेलाडी हुन्। भदौमा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपको समूह चरणमा पाकिस्तानसँग १–१ को बराबरी खेल्दै सेमिफाइनल प्रवेशको आधार बनाउँदा विमलको भूमिका सबैभन्दा महŒवपूर्ण थियो। वैकल्पिक खेलाडी भएर मैदान छिरेका यु–१६ टोलीका कप्तान इन्जुरी समयमा गोल गरेपछि एकाएक चर्चाको शिखरमा रहे।
काठमाडौंमै सम्पन्न दोस्रो यु–१६ साफ च्याम्पियनसिपमा ह्याटि्रकसहित सर्वाधिक ६ गोल गरेर उनले नेपाललाई फाइनलसम्म पुर्‍याए। उनकै नेतृत्वमा नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको अन्तिम चरणमा स्थान पक्का गरेको थियो। उक्त प्रतियोगिताको छनोट चरणमा विमलले एक ह्याटि्रकसहित चार गोल गरेका थिए।
राष्ट्रिय टोलीबाट गोल गर्ने सबैभन्दा कान्छा विमल हाल विशेष प्रशिक्षण तथा ट्रायलका लागि बेल्जियन क्लब एन्डरलेकमा छन्। एन्डरलेकबाट एसी मिलान, फेेनेरबाचजस्ता युरोपका महारथीहरूविरुद्धका खेलमा सहभागिता जनाएका उनले त्यहाँ जारी फ्युचर कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। फेनेरबाचमाथि २–० को विजय हासिल गर्दै एन्डरलेकले सेमिफाइनलको यात्रा तय गर्दा विमलले एक गोल गर्नुका साथै अर्को गोललाई अवसर मिलाएका थिए। उनले केही महिनाअघि नेदरल्यान्ड्सको चर्चित क्लब एफसी ट्वेन्टेबाट पनि दुई साता प्रशिक्षण लिनुका साथै ट्रायल दिएका थिए।

सरस्वती चौधरी

भलिबलकी सरस्वतीले एपिएफ क्लबलाई गत वर्ष पाँच राष्ट्रियस्तरको प्रतियोगिता जिताउँदा मुख्य भूमिका निर्वाह गरिन्। एनभिए कपकी उत्कृष्ट खेलाडी सरस्वती आइजिपी कपमा मोस्ट भ्यालुएबल प्लेयर भइन्। त्यस्तै खुला भलिबल च्याम्पियनसिपमा उत्कृष्ट खेलाडीसँगै उत्कृट क्विकरको पुरस्कार जितेकी सरस्वतीले अन्य तीन प्रतियोगितामा पनि व्यक्तिगत पुरस्कार जितेर चर्चामा रहिन्।















यामसाजन सुनार

एथलेटिक्सका १ सय र २ सय मिटर दौडका च्याम्पियन यामसाजन सुनार राष्ट्रिय कीर्तिमान तोड्न सफल खेलाडी हुन्। उनलाई एथलेटिक्स वृत्तमा नेपालकै ‘फास्टेस्ट म्यान' को उपनामले चिनिन्छ।



















सोफिया शाह
पौडीवाज सोफियाले गत वर्ष नेपाली पौडीमा आठ स्वर्ण पदक जित्दै राज गरिन्। स्पेनको बार्सिलोनामा सम्पन्न फिना विश्व च्याम्पियनसिपमा ५० र २ सय मिटर फ्रिस्टाइलमा तथा एनएसए कपमा १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान गरेर आफूलाई नेपाली पौडीमा नयाँ स्टारको रूपमा प्रस्तुत गरिन्।


####




0 comments

Write Down Your Comment