कसरी कमाइ हुन्छ नक्सा शाखामा ?
####good
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेका महानगरका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलले एक करोड ४१ लाख रुपैयाँ अवैध आर्जन गरेको भेटिएको हो । नगरपालिकाहरूमा नक्सा शाखा कर्मचारीका लागि भन्सारजस्तै आकर्षक मानिन्छ ।
'महानगरको भन्सार मानिने नक्सा शाखामा लामो समय बिताएका उनले पदको दुरुपयोग गरेर अकुत आर्जन गरेको अनुसन्धानबाट खुलेको छ,' अख्तियार स्रोतले कान्तिपुरसित भन्यो, 'आर्जन र तलबी आम्दानीको तुलनामा उनको सम्पत्ति निकै अस्वाभाविक देखिएको छ ।' अवैध सम्पत्ति आर्जनको अभियोग लाग्ने कर्मचारीले उक्त सम्पत्ति वैध भए आफैंले प्रमाण जुटाई पुष्टि गर्नुपर्ने कानुनी व्यवस्था छ ।
२०४१ सालमा महानगरमा इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका डंगोलले निजी रूपमा पनि इन्जिनियरिङ, नक्सा डिजाइन, ड्रइङको काम गरेको दाबी गरे पनि प्रमाण पेस गर्न नसकेको अख्तियारको सम्पत्ति विश्लेषण प्रतिवेदनमा उल्लेख छ । भतिज अनुजबहादुर सिंहको नाममा एक करोड ८ लाख रुपैंया जम्मा गरेको स्वीकारेका डंगोलले उनकै नाममा करिब साढे १६ लाख रुपैयाँको गाडी रहेको बताएका छन्, जसलाई अख्तियारले अवैध आर्जन मानेको
छ । राजधानीका विभिन्न स्थानमा ६० आनाभन्दा बढी जग्गा खरिद गरेका उनले त्यसलाई आफ्नो छात्रवृत्तिको आम्दानी र त्यसपछिको आर्जन भएको दाबी गरेका छन् । छानबिनका क्रममा अख्तियारले उनको जग्गा खरिद-बिक्रीको कारोबारलाई भने स्रोत खुलेको सम्पत्तिका रूपमा स्वीकारेको छ ।
नक्सापास गर्न जाने सेवाग्राहीबाट प्रतिव्यक्ति करिब पाँच हजार रुपैयाँ असुली हुने शाखाका रूपमा बदनाम महानगरको नक्सा शाखासँग सम्बन्धित दर्जनौं अनियमितताका उजुरी र फाइल अख्तियार र सतर्कता केन्द्रमा छन् । रकम नदिए महिनौंसम्म फाइल अल्झाएर राखिदिने र नक्सापास नगर्ने समस्या पनि उक्त शाखामा छ । अतिरिक्त रकम दिए मापदण्ड मिचेर गरिएका डिजाइन पनि स्वीकृत हुने गरेको भन्दै उजुरी पर्ने गरेको छ । केही वर्षयता अकुत सम्पत्ति आर्जन मुद्दामा हात नहालेको अख्तियारले पदाधिकारी नियुक्तिपछि पहिलोपटक 'लो प्रोफाइल' मा रहेका स्थानीय निकायका कर्मचारीको आर्जनमा अनुसन्धान गरेको हो ।
कर्मचारीले आफ्नो आर्जनको ७० प्रतिशत हिस्सा बचत गर्न सक्ने मापदण्डका आधारमा अख्तियारले सम्पत्ति विश्लेषण गरेको हो । तलब २० लाख ७६ हजार, विदेश भ्रमणबाट ८ लाख ५५ हजार, विदेश अध्ययनका क्रममा २४ लाख ५५ हजारलगायत गरी कुल ८८ लाख ८३ हजार रुपैयाँ स्रोत खुलेको सम्पत्तिमात्रै डंगोलसँग रहेको अख्तियारको दाबी छ । आफूले करिब साढे ६२ लाख रुपैयाँ निजीस्तरमा काम गरेर आर्जन गरेको दाबी डंगोलको छ । 'तर आम्दानी पुष्टि हुनेगरी कर बुझाएको विवरण वा अन्य कागजात पेस गर्न सकेका छैनन्,' स्रोतले भन्यो । उनको सम्पूर्ण सम्पत्ति २ करोड ३० लाख रुपैयाँ रहेको अख्तियारले छानबिनबाट ठहर गरेको छ ।
भतिज अनुजको नाममा सिभिल बैंकमा राखेको १ करोड ८ लाख रुपैयाँ र १६ लाख रुपैयाँको गाडी तथा ग्लोबल आईएमई बैंकमा रहेको ३३ लाख रुपैयाँलाई अख्तियारले डंगोलको अवैध आर्जन मानेको छ । अवैध आर्जन लुकाउन भतिजको नाममा सम्पत्ति राखेको ठहरसहित अख्तियारले डंगोलको अवैध ठहरिएको सम्पत्ति जफत गर्न र दुई वर्ष कैद सजाय गर्न माग गरेको छ । बयानका क्रममा उनले सगोलमा घरव्यवहार चल्ने गरेकाले आफ्नो सम्पत्ति भतिजको खातामा जम्मा गरेको दाबी गरेका छन् ।'
####
.jpg)




0 comments
Write Down Your Comment