नागरिक उड्डयनको गल्तीले कालो सूचीमा पर्‍यौं : मन्त्री श्रेष्ठ
####good
चार वर्ष पहिल्यै चेतावनी दिँदा पनि ध्यान नदिइएको गुनासो
१६ पुस, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको लापरवाहीका कारण नेपालको हवाइ सेवामा युरोपियन यूनियन (ईयू) ले प्रतिबन्ध लगाएको भन्दै मन्त्रीले प्राधिकरणको अर्को आलोचना गरेका छन् । ईयूले नेपालको हवाइ सेवालाई कालोसूचीमा राख्दैछ भन्ने जानकारी पाउँदा समेत प्राधिकरणले उचित कदम चाल्न नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले आरोप लगाउनुभएको छ ।
 ‘नेपालको हवाइ सेवाको सुरक्षालाई लिएर ईयूले २००९ सालदेखि प्रश्न चिन्ह खडा गरेको थियो’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले भन्नुभयो- ‘लामो समयदेखि झक्झकाउँदा समेत हवाइ सुरक्षाको विषयमा सरकारले उचित कदम नचालेपछि ईयूले नेपालको हवाइ सेवामा प्रतिबन्ध लगाएको हो ।’
मंगलबार राजधानीमा आयोजित प्राधिकरणको १५औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- ‘सुरक्षाको विषयलाई लिएर ईयूले औंला ठड्याएपछि नेपालले तत्काल सुरक्षा सतर्कता अपनाउनुपथ्र्यो, त्यसतर्फ ध्यान समेत दिएको पाइएन ।’
ईयूले नेपालको हवाइ सेवामा प्रतिबन्ध लगाएपछि विभिन्न टीका टिप्पणी भइरहेका बेला मन्त्री श्रेष्ठले आन्तरिक कमजोरीका कारण प्रतिबन्धमा परेको बताउनुभएको हो । नेपालले चिनियाँ जहाज किन्न लागेपछि यूरोप र चीनको व्यापारिक प्रतिस्पर्धाका कारण ईयूले राजनीतिक प्रतिशोधसहित नेपालको हवाइ सेवामाथि प्रतिबन्ध लगाएको चर्चा चलिरहेको छ । ‘चिनियाँ जाहजहरु धेरै देशमा उड्दा पनि इयुले प्रतिबन्ध नलगाएको रत नेपालमात्र किन कालो सूचीमा पर्‍यो ?’ मन्त्री श्रेष्ठले प्रश्न गर्नुभयो ।
‘नेपालले चिनिया जहाज किन्न थालेर ईयूले प्रतिबन्ध लगाएको कदापि होइन’ मन्त्री श्रेष्ठले भन्नुभयो- ‘लामो समयदेखि हवाइ सुरक्षामाथि प्रश्न खडा गर्दा पनि अटेर गरेपछि बाध्य भएर डण्डा चलाएको हो ।’ कर्मचारीले सधैं अर्काको नियतमाथि शंका गर्ने, आफ्नो कमजोरी नकेलाउने प्रवृत्ति हावी भएको गुनासो गर्दै उहाँले समयमा सबैजना सचेत भइदिएको भए अहिले नेपालको हवाइ सेवा कालोसूचीमा नपर्ने ठोकुवा गर्नुभयो ।
हवाइ सुरक्षा सुधारमा ध्यान दिएर काम थाल्न मन्त्री श्रेष्ठले प्राधिकरणका कर्मचारीहरुलाई सुझाव दिनुभयो । ‘ईयूका अधिकारीहरु नेपाल आउँदा हामीले नेपालको हवाइ सेवा सुररिक्षत छ भनेर देखाउनुपर्छ’ उहाँले भन्नुभयो- ‘ईयूले कालोसूचीमा राखेर नेपालको हवाइ सेवालाई सुरक्षित बनाउन झक्झकाउने काम गरेको हो ।
जथाभावी एयरपोर्ट नबनाउन आग्रह
एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालका अध्यक्ष रामेश्वर थापाले सरकारले जथाभावी एयरपोर्ट बनाउँदै हिँड्ने, तर सुरक्षामा ध्यान नदिने गर्दा अहिलेको अवस्थामा आउनुपरेको आरोप लगाउनुभयो । राजनीतिक अभिष्ट पूरा गर्न नेता तथा मन्त्रीहरुले सुरक्षालाई ध्यान नदिई एयरपोर्ट बनाउँदै हिँड्ने गरेको उहाँको भनाइ थियो ।
####




0 comments

Write Down Your Comment