मोटरसाइकल चोरेर बेच्ने गिरोहका चारजना सार्वजनिक
####good
जनकपुर : लामो समयदेखि देशको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको एक गिरोहका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। गत शुक्रबार धनुषाको लालगढबाट पक्राउ गरिएका चारैजनालाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मलेनको आयोजना गरि सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा बारा जिल्ला बछनपुर्वा ७ का ३१ वर्षीय हरिशंकर चौधरी, रौतहट डुमरिया ३ का २२ वर्षीय देवनारायण चौधरी, रौतहट डुमरिया १ का २६ वर्षीय दीपक चौधरी र रौतहट सन्तपुर २ का २३ वर्षीय सुनिल चौधरी रहेका छन्।

पुस २६ गते शुक्रबार साँझ जनकपुरबाट दुईवटा मोटरसाइकल चोरी भएको सुचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालगढबाट अभियुक्तहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन्।

अभियुक्तहरूको साथबाट चोरी भएको ज ५ प ६११२, ज ५ प ७०३२ तथा उनीहरूले प्रयोग गर्ने बा २३ प ६२४२ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ। उनीहरूका साथबाट मोबाइल ४ थान, बिलबुक १ थान, लाइसेन्स २ थान र नागरिकता एक थान समेत बरामद गरेको उपरीक्षक सुवेदीले बताए।

प्रहरीका अनुसार पक्राउ अभियुक्तहरूको प्रारम्भिक अनुसन्धानबाट राजधानी लगायत तराईका बारा, पर्सा रौतहट, सर्लाही लगायतको जिल्लाहरूबाट विगत पाँच वर्षदेखि पेशेवर रूपमै मोटरसाइकल चोर्दै आएका थिए। उनीहरूले हालसम्म सयवटाभन्दा बढी मोटरसाइकल चोरी गरि बिक्री गरिसकेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अभियुक्तहरूले संगठित रूपमा कामको बाँडफाँड गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। दुईजनाले मोटरसाइकलको लक तोड्ने, एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने र बिक्री वितरण गर्ने गरेको उपरीक्षक सुवेदीले बताए। गिरोहका एकजना सदस्य फरार रहेका छन्।
####




0 comments

Write Down Your Comment