तस्करीको बाटो अंगोलासम्म
####good
नयाँ दिल्ली, वैशाख १३ - आफैं बेरोजगारी जनसंख्या व्यहोरेर बसेको दक्षिण अफ्रिकी मुलुक अंगोलामा सुरक्षाकर्मी काममा लगाइदिने भन्दै मानव तस्करको सञ्जालले नेपाली कामदार पठाउन थालेका छन् ।

नेपाली सेनाका एक अवकाशप्राप्त जवान पोखराका देवबहादुर हमाल यही गोलचक्कर बेहोर्दै अंगोला पुगेर १० दिन हैरानी बेहोर्दै दिल्ली फिरेका छन् । स्याङ्जा, ठूलाडिही घर बताउने देवेन्द्र गुरुङ्गले आफूबाट बिभिन्न चरणमा साढे ९ लाख रुपैयाँ लिएको र आठ महिना दिल्लीमा कुराएपछि बल्ल अंगोला उडाएको पीडित हमालले बताए । गत अप्रिल ७ मा दिल्ली फिरेका हमालले आफूलाई अंगोला उडाउने गुरुङ्ग भारतमा रहेकाले उनको खोजीमा लाग्न स्थानीय हेल्प मिसन संस्थासँग सहयोग मागेको जानकारी दिए ।

४० वर्षीय हमालले आफू नेपाली सेनामा छँदा कंगोको शान्ति सेना मिसनमा रहेर एक बर्ष काम गरेको र सेनाबाट अवकाश भएपछि अफगानिस्तान गएर ४ बर्ष काम गरेको जानकारी दिए । उनले पानी जहाज सुरक्षाको काम पाउनका निम्ती श्रीलंकामा गएर ६ महिना यसबारे तालिम लिएको समेत बताए । ‘त्यो काम सिक्दा मात्रै पनि साढे ७ लाख रुपैंया डुबेको छ,’ नचाहिंदो सपना देखेर लाखौं रुपैंया डुबाएपछि बिलखबन्धनमा परेका हमालले भने । यसरी श्रीलंकामा पानी जहाज सुरक्षा तालिम दिएर त्यस्तै जागिर दिलाउने भनेर ओखलढुङ्गाका चन्द्रबहादुर गुरुङले आफूलाई फँसाएको उनले बताए । एजेन्ट चन्द्रबहादुरको भनाइमा भर परेर श्रीलंकामा १ सय २५ नेपालीले लाखौं खर्चदैं पानी जहाजको तालिम लिएको हमालले जानकारी दिए ।

पोखरा, बिरौटामा रहेको घर पनि धरौटीमा रहेको र दुइ छोरा तथा श्रीमतीलाई मुख देखाउन नसक्ने अवस्था आइपरेपछि आफू दिल्लीमा अड्किएर बसेको उनले बताए ।

आफूलाई बिजोग बनाउने एजेन्ट गुरुङसँग स्याङ्जा गाउँमा सँगै स्कुल पढेकाले त्यही नातामा बिश्वास गर्दै लाखौं रुपैंया तिरेको तर अहिले एजेन्ट सम्पर्कहीन बनेको भनाइ उनको छ । गत बर्ष दशैं लगत्तै घरबाट निस्केका उनी ढुक्कै दिल्लीको पहाडगंजमा सस्तो होटल खोज्दै दिन बिताइरहेका छन् । ‘दिल्लीबाट मुम्बइ हुँदै इथियोपियाबाट अंगोला पुगेको हुँ,’हमालले भने—‘उता पुगेर केही दिन एयरपोर्टमैं सुतेर बिताएँ, अरु दिन भोकभोकै रहें । एजेन्टले भनेजस्तो मलाई लिन कोही नआएपछि दिल्ली फिरेको हुँ ।’

सुरक्षित आप्रवासन र भारततर्फ जाने नेपाली कामदारका बारेमा अध्यनरत केयर नेपालका कार्यक्रम अधिकृत प्रकाश पाण्डेले अंगोलबाट फिरेका पीडित हमाललाई उनको पोखरा घरसम्म लगिदिने इच्छा जनाएका थिए । तर हमालले साह घरखेत डुबेको र ऋणको भार मात्रै रहेको अवस्थामा घर फिर्न चाहेनन् । ‘वैदेशिक रोजगारीलाई आफैं असुृरक्षित र अव्यवस्थित बनाउने काममा हमालजस्एता जानकार व्यक्ति पनि लागेको पाइयो, जानीजानी यसरी आफैं पीडित बन्न चाहनेलाई उद्दार गर्न पनि मुश्किल हुन्छ,’पाण्डेले भने ।

####




,

0 comments

Write Down Your Comment