मन जित्न सिपालु नेपाली शान्ति सेना
####good
काठमाडौं, १५ वैशाख । ‘शान्ति कायम गर्नु सिपाहीको काम होइन, तर सिपाहीले मात्र यो काम गर्न सक्छन्’ (पिस किपिङ इज नट सोल्जर्स जब, बट वन्ली द सोल्जर्स क्यान डु इट) । विश्वका कतिपय द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति कायम गर्न खटिएका विभिन्न देशका शान्ति सेनालाई उत्प्रेरित गर्ने यो वाक्यले धेरै गहिरो अर्थ बोकेको छ ।
वास्तवमा जुनसुकै देशमा पनि युद्ध लड्न वा शत्रुबाट बच्नकै लागि भनेर सेना तयार गरिएको हुन्छ तर त्यही सेना मानवीयता जोगाउन युद्धको बाटोबाट पन्छिएर बुद्धको बाटो समाउन पुग्छ, शान्ति सेनाका रुपमा ।
राष्ट्र सङ्घको सदस्यता विधिवत् प्राप्त गरेको तीन वर्ष पनि नपुग्दैदेखि अर्थात् सन् १९५८ देखि नै राष्ट्रसङ्घको आह्वानमा १३ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतको भूमिका अनवरत निर्वाह गर्दै आएको छ । यसक्रममा शान्ति सेनामा भाग लिने नेपाली सेनाको सङ्ख्या यसपालि एक लाख पुगेको छ । यो गौरवमयी लामो यात्रामा नेपालका ५९ सपूतले शान्तिका लागि आफ्नो जीवन बलिदान गरिसकेका छन् ।
हतियारबिना सेनाको काम चल्दैन तर सबै काम हतियारबाट मात्रै सम्भव हुँदैन । तसर्थ आवश्यकताअनुसार हतियारलाई बिसाएर कलम र औजार चलाउन पनि सेना पछि पर्न हुँदैन भन्ने उदाहरण जातीय द्वन्द्वको पीडा भोगिरहेको दक्षिण सुडानको लेक स्टेट राज्यको प्रान्तीय राजधानी रुम्बेक नगरमा कार्यरत नेपाली शान्ति सेनाले प्रस्तुत गरेर देखाइदिएका छन् ।
सन् १९४८ मै स्थापित रुम्बेक सेकेन्डरी स्कुल विभाजित हुनु अगावैको सिङ्गो सुडानकै पुराना स्कुलमध्येमा पर्छ । लामो समयसम्म ब्रिटिस शासनअन्तर्गत रहेको सो भूभागमा स्थापित रुम्बेक स्कुल बेलायतकै पालामा बनेको हो । तर स्थापना भएको ६६ वर्षपछि हालैमात्र विद्यालय परिसरमा शौचालय र स्नानघर निर्माण भएको छ, नेपाली शान्ति सेनाको सक्रियतामा । फराकिलो परिसरमा फैलिएका विद्यालय भवन निकै बलियो ढङ्गले निर्माण गरिएका देखिन्छन् तर शौचालयबिनाका । त्यतिखेर अफ्रिकी जनतामा बन्द शौचालय प्रयोग गर्ने बानी नै नभएकाले विद्यालय भवन बनाए पनि शौचालय नबनाइएको बुझिएको छ ।
सो विद्यालयका प्रधानाध्यापक जोन साम्बाले शान्ति कार्यमा खटिएको नेपाली सेनाले यसरी शौचालय र स्नानघर निर्माण गरिदिएर विद्यालय परिवारले कहिल्यै बिर्सन नसक्ने गुन लगाएको भावना हालै नेपालबाट रुम्बेक पुगेका पत्रकारसमक्ष व्यक्त गर्नुभयो ।
तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत त्यस विद्यालयमा छात्राको सङ्ख्या भने १३६ मात्र रहेको र ३० शिक्षकमध्ये शिक्षिका एक जना मात्र रहेको पनि साम्बाले जानकारी दिनुभयो । यसबाट दक्षिण सुडानमा महिला शिक्षाको स्थिति अहिले पनि कति दयनीय छ भन्ने बुझ्न सकिन्छ ।
जुन ठाउँमा तैनाथ रह्यो त्यही ठाउँका स्थानीय बासिन्दाको मन जित्न नेपाली शान्ति सेना कति सिपालु छ भन्ने कुरालाई अर्को रोचक उदाहरणले पनि पुष्टि गर्छ । लेक स्टेटकी युवा तथा खेलकुदमन्त्री मरियम जिन पाउलले केही महिनाअघि स्थानीय युवा र नेपाली शान्ति सेना इन्द्रबक्स गणबीच रुम्बेकको मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलको रोचक स्मरण गर्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिन रुम्बेकमा तैनाथ नेपाली शान्ति सेनासँग अनुरोध पनि गर्नुभयो ।
उक्त फुटबल खेल अत्यन्तै सौहाद्रपूर्ण र प्रतिस्पर्धात्मक रहेको र खेलको अन्तिम मिनेटमा नेपाली टोलीले एक गोल गरी विजय प्राप्त गरेको जानकारी दिँदै गणपति प्रमुख सेनानी भरतचन्द्र गुरुङले त्यो दिन फुटबल खेल हेर्न १० हजारभन्दा बढी मानिस जम्मा भएको र रुम्बेककै इतिहासमा यति धेरै मानिसको जमघट पहिला कहिल्यै नभएको जानकारी आफूले पाएको बताउनुभयो ।
शान्ति सेनाकै सक्रियतामा नेपाली र दक्षिण सुडानी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने स्कुलका विद्यार्थीलाई कापी, किताब, कलम वितरण गर्न पनि हाम्रो सेना सधैँ अघि सर्ने गरेको छ । प्रसब व्यथाले छट्पटिएकी एक न्यूर जातिकी महिलाले नेपाली शान्ति सेनाको चिकित्सा टोलीको सहयोगमा सकुशल शिशु जन्माएको र शिशुको नाम नै ‘नेपाल चोय’ राखेको प्रसङ्ग रुम्बेकमा अझै सेलाएको छैन ।
नेपाली शान्ति सेनाको कार्यशैली, क्षमता, अनुशासनबाट दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका राष्ट्रसङ्घीय (अनमिस) पदाधिकारी निकै प्रभावित रहेका पाइन्छन् । अनमिसका लागि राष्ट्र सङ्घीय महासचिवका विशेष प्रतिनिधि हिल्डे जोन्सनले हालै दक्षिण सुडानको राजधानी जुवास्थित आफ्नो कार्यकक्षमा नेपाली पत्रकार टोलीसँगको विशेष भेटमा अनमिसको कार्य प्रारम्भ भएदेखि नै सङ्ख्यामा थोरै भए पनि नेपालको शान्ति सेनाले दक्षिण सुडानमा शान्ति र सुरक्षा कायम राख्न निकै प्रभावकारी भूमिका खेल्दै आएको बताउँदै नेपाली सेना व्यावहारिक रहेको र समर्पण तथा उत्साहको भावनाले काम गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रभावकारिताकै आधारमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सेनाको पनि सङ्ख्या थप्न लागिएको जानकारी दिनुभयो ।
दक्षिण सुडानको समस्या कसरी समाधान होला त भन्ने जिज्ञासामा अनमिस प्रमुख जोन्सनले यहाँका सबै नेता र जनताले राष्ट्रलाई नै पहिलो प्राथमिकतामा राखेर शान्ति प्रक्रिया अघि बढाएमा मात्र समस्या समाधान हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
यसैगरी उहाँपछिका दोस्रो व्यक्तित्व अनमिस फोर्स कमान्डर डेलाली जोन्सन साकी (घानाका मेजर जनरल) ले नेपाली शान्ति सेनाप्रति अनमिस गौरवान्वित छ, तपार्इंहरुको सरकारलाई मेरो कृतज्ञता भनिदिनुहोला भनी सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।
उहाँले अरु देशका शान्ति सेनाले पन्छाएको जोखिमपूर्ण काम पनि नेपाली शान्ति सेनाले आँट गरेर सहजै पार लगाएकामा जुवामा तैनाथ नेपाली शान्ति सेनालाई हालै विशेष प्रशंसापत्र प्रदान गर्नुभयो । धेरैअघिदेखि नेपाली सेनाको पराक्रमसँग परिचित अनमिसका चिफ अफ स्टाफ फोर्स कर्णेल पिटर लिन्डक्विस्टले पनि अनमिस मुख्यालयमा नेपाली टोलीलाई चिन्नेबित्तिकै खुसी भएर नेपाली शान्ति सेनाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । डिसेम्बर १५ को द्वन्द्वको लगत्तै हाइटीबाट आई जुवामा तैनाथ नेपालको शान्ति सेनाले आफ्नै पहलमा व्यापक सैनिक गस्ती गरी नागरिकलाई सुरक्षाको अनुभूति दिएको देख्दा धेरै जना आश्चर्यचकित भएको उहाँले उल्लेख गर्नुभयो ।
अनमिस मुख्यालयमै भेटिएका दक्षिण सुडानी पत्रकारद्वय डेनिस डुमो र पिटर लुइसले पनि आफ्नो देशका द्वन्द्वग्रस्त क्षेत्रहरुमा नागरिकको संरक्षण गर्ने अनमिसको मुख्य नीतिअनुरुप सैनिक गस्ती गरी शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले निकै प्रभावकारी रुपमा काम गरिरहेको प्रतिक्रिया दिँदै सहरी क्षेत्रभन्दा बाहिर पनि सुरक्षागस्ती बढाउन आग्रह गरे ।
दक्षिण सुडानमा नेपाली शान्ति सेनाले खेलिरहेको भूमिकाबारे अध्ययन अवलोकन गर्न नेपाली सेनाका प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोख्रेलको अगुवाइमा हालै त्यहाँ पुगेको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले भेटेका सबै महत्वपूर्ण व्यक्ति लेक स्टेटका गभर्नर एम सि डोंग, अनमिस प्रवक्ता एरिएन क्वेन्टियर, नागरिक मामिला अधिकारी जेनिफर ग्रोभर, लैङ्गिक मामिला अधिकारी अब्दुलाई सेरिफ, रेडियो मिरायाका सञ्चारकर्मी वाडे मागेन्ग, द्वन्द्वबाट आन्तरिक रुपमा विस्थापित समूहका अगुवा सामुयल पल, महिला अगुवा नियापल डोमाइलगायतले नेपाली शान्ति सेनाले खेलिरहेको भूमिकाको सराहना गर्नुभयो ।
नेपाली शान्ति सेना यहाँ लोकप्रिय हुनाको कारण के हो भन्ने जिज्ञासामा अनमिसका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका सहायकरथी रमेशकुमार पुनले काम गर्ने जाँगर, अनुशासन, इमान्दार र मिलनसार हुनु नै मुख्य कारण भएको र यही नै नेपाली सेनाको शक्ति भएको बताउनुभयो ।
निकै चुनौतीपूर्ण अवस्थामा पनि नेपाली शान्ति सेना भैरव गण राजधानी जुवामा शान्ति कायम गर्न सक्षम भएको गणपति प्रमुख सेनानी सानुकाजी थापाले उल्लेख गर्नुभयो । साधन, स्रोत र सुविधा हेर्दा नेपालको भन्दा अरु देशका शान्ति सेना बढी आकर्षक देखिन्छन् तर द्वन्द्वपीडित जनताको मन जितेर उनीहरुलाई आश्वस्त पार्ने कलामा भने नेपालको शान्ति सेना नै अब्बल रहेको स्पष्ट देखिन्छ ।

####




0 comments

Write Down Your Comment